काठमाडौं । पछिल्लो पटकको ‘भाइब्रेन्ट’ होटल मेरियट जहाँ पर्यटकहरू रुम र खानाको मज्जा लुट्न पुग्छन् त्यहाँ अब सपिङ गर्ने सुविधा पनि थपिएको छ ।
नक्सालस्थित पाँचतारे होटल मेरियटभित्र रहेको झन्डै एक रोपनी जग्गाभित्र मिनि सपिङ कम्प्लेक्स निर्माण भएको छ । त्यसको नाम राखिएको छ– नाम्चे स्क्वायर । नाम्चे स्क्वायर मेरियटभित्रको एउटा लक्जरी सपिङ तथा परिकार पारखीहरूका लागि नयाँ गन्तव्य हो ।
मेरियट प्रवेश गरेर देव्रेपट्टीको लबीबाट छिरेपछि नाम्चे स्क्वायर सौन्दर्यता देखिन्छ । होटलभित्रै नछिरी नाम्चे स्क्वायर पुग्नका लागि बाहिरको सडकसँगै पनि प्रवेशद्वार छ ।
नाम्चेभित्र अहिले सातवटा पसल छन् । एप्पलको ग्याजेटका लागि ‘इभो स्टोर’, फिटनेस आउटफिटका लागि नयाँ डोमेस्टिक ब्रान्ड ‘फिटक्याट’, विभिन्न नेपाली वस्तुहरू जस्तै हस्तकला, चिया, पस्मिनालगायत सामान पाइने ‘ले मारखे असन’, ताइवानको सिंगल माल्ट ह्विस्कीको सोरुम ‘काभालान’, हिराका गहनाका लागि ‘हेरानिक’, पेन्टिङ र थांकाका लागि ‘आर्टस्टिक’ र कफी र फुडका लािग ‘विस्ट्रो’ रहेका छन् ।
राजधानीमा रहेका पाँचतारे होटलमध्ये मेरियट सबैभन्दा बढी ‘फुटफल’ हुने होटल हो । होटलमा हुने फुटफल र त्यहाँ आउने विदेशी तथा स्वदेशी पर्यटकलाई लक्षित गरी होटलकै व्यवस्थापनले नाम्चे स्क्वायर सञ्चालन गरेको हो । नाम्चे स्क्वायरको बुधबार मेरियटका सञ्चालक शशिकान्त अग्रवालले उद्घाटन गरे ।
मेरियट परिसरमा नाम्चे स्क्वायर निर्माणको अवधारणा शशिकान्तको छोरा गौरव अग्रवालको हो । नाम्चे बजारमा धेरैपटक पदयात्रा गरेका गौरव अग्रवाललाई त्यहाँको सुन्दर तथा पृथक कला, डिजाइन खाद्य संस्कृति र सामग्रीहरूले मोहित पारेपछि मेरियटकै परिसरभित्र नाम्चे स्क्वायर स्थापना गर्ने प्रेरणा जागेको बताउँछन् ।