काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड(केयूकेएल)ले पानीको १० वटा नयाँ ट्युवबेल खन्ने तयारी थालेको छ । मेलम्ची खानेपानी आयोजनामा बाढीले क्षति पुर्याएसँगै उपत्यकामा पानीको माग धान्नका लागि केयूकेएलले वैकल्पिक व्यवस्थापनको तयारी स्वरुप ट्युवबेल खन्न लागेको हो ।
केयूकेएलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मिलनकुमार शाक्यका अनुसार चक्रपथ क्षेत्रका भन्दा पनि बाहिरका नगरपालिकामा पानीको सम्भावना बढी हुने भएकाले सोहीअनुसार छलफल अघि बढाइएको छ ।
केयूकेएलले महालक्ष्मी, सूर्यविनायक, गोकर्णेश्वर नगरपालिकामा छलफल गर्दै आएको छ भने अन्य नगरपालिकालाई पनि ट्युवबेल खन्न मिल्ने तथा पानी उपलब्ध हुने ठाउँ भएमा जानकारी दिनका लागि अनुरोध गरेको छ ।
उनले भने, ‘अहिले उपलब्ध भएको पानीले उपत्यकाको माग धान्दैन र हामीले वैकल्पिक व्यवस्थाका लागि नगरपालिकाका मेयरहरुसँग छलफल अघि बढाउँदै आएका छौं ।
अब हामीलाई जग्गा उपलब्ध हुनुपर्यो, कति ठाउँमा जग्गा भए पनि पानी नआउनसक्छ । त्यसैले अहिले नै यहीँ ठाउँमा ट्युवबेल खनिन्छ र पानी आउँछ भन्न सक्ने अवस्था छैन । ट्युवबेल खन्ने ठाउँ भने पछि नै थाहा हुन्छ ।’
१० वटा ट्युवबेल खन्न ५ करोड लाग्ने
एउटा ट्युवबेल २ सय ५० देखि ३ सय मिटरसम्म खन्नुपर्ने शाक्यको भनाइ छ । भूगोलको अवस्था हेरेर अग्लो होचोको आधारमा ट्युवबेलको गहिराइ फरक पर्ने हुन्छ । एउटा ट्युवबेल खन्नका लागि करिब ५० लाख रुपैयाँ लगत लाग्ने उनले बताए । यसरी हेर्दा १० वटा ट्युवबेल खन्नका लागि ५ करोड रुपैयाँ लाग्ने देखिन्छ । तर, टेन्डर प्रक्रिया गर्दा सो रकमभन्दा कममा पनि हुनसक्ने उनको भनाइ छ ।
असोजमा टेण्डर आह्वान गर्ने योजना
ट्युवबेल खन्नका लागि डिजाइनलगायत आवश्यक पर्ने अन्य कार्य तयार रहेको केयूकेएलले जनाएको छ । सोही कारण जग्गा उपलब्ध भएपछि ट्युवबेल खन्नका लागि टेण्डर आह्वान गर्ने केयूकेएलले जनाएको छ । सीईओ शाक्य भन्छन्, ‘मलाई लाग्छ असोज महिनासम्ममा टेण्डर अह्वान गर्न सकिन्छ ।’
मेलम्चीबाट १७ करोड लिटर पानी आउँदा पनि उपत्यकामा दैनिक पानी वितरण गर्न नसकिएको शाक्यको भनाइ छ । उनी भन्छन्, ‘मेलम्चीको पानी निरन्तर आए पनि उपत्यकाको माग धान्दैन भनेर त थाहा भइसक्यो, बाढीले क्षति गरेपछि फेरि निर्माणका लागि तयारी हुँदैछ भन्ने हामीले जानकारी पाएका छौं । मेलम्चीलाई पनि ल्याउनुपर्छ साथै वैकल्पिक तयारी पनि गर्दै गर्नुपर्छ ।’
उपत्यकामा दैनिक ४३ करोड लिटर पानीको माग हुने गरेकोमा केयूकेएलले वर्षातको समयमा १५ देखि १७ करोड लिटर र सुक्खायाम (हिउँद)मा ८/९ करोड पानी वितरण गर्दै आएको छ । केयूकेएलले काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड र खानेपानी मन्त्रालयलाई अन्य वैकल्पिक व्यवस्थाका लागि आग्रह गरेको छ ।
खानेपानी व्यवस्थापन बोर्डले सिस्नेरीको पानी उपत्यकामा ल्याउनका लागि अध्ययन सुरु गरेको छ । त्यसको निष्कर्ष आएपछि खानेपानी मन्त्रालयले काम अगाडि बढाउने शाक्य बताउँछन् । साथै त्रिशूलीको पानी पम्पिङ गरेर ल्याउने विषयमा पनि अध्ययन गर्न केयूकेएलले अनुरोध गरेको छ ।
त्यस्तै शिवपुरीको धापमा वाटर हार मेसिङ जडान गरेर बागमती र पशुपति क्षेत्रमा पानी ल्याउने विषयमा पनि अध्ययन गर्नुपर्ने बताइएको छ । साथै त्यसलाई पनि खानेपानीमा समेत प्रयोग गर्न मिल्ने÷नमिल्नेतर्फ ध्यान दिनुपर्ने केयूकेएलले जनाएको छ ।
त्यस्तै ललितपुरको पूर्वी र दक्षिण क्षेत्रमा रहेको ग्वालिङ दह, ठोस्ने खोला, कोड्कुलगायत स्थानबाट पनि रेन वाटर हार मेसिङ नमुनाको रुपमा विकास गरेर उक्त पानीलाई प्रयोग गर्नका लागि अध्ययन गर्न केयूकेएलले आग्रह गरेको छ ।
सीईओ शाक्य भनछन्, ‘यो विषयमा अध्ययन धेरै पहिलादेखि नै भएको भन्ने जानकारी हामीलाई भएको छ । त्यसैले ती ठाउँको पानी व्यवस्थापन गर्दा पुग्न सक्छ भनेर छिटोभन्दा छिटो विकल्प खोजी अध्ययन हुनुपर्यो भनेर घच्घच्याउने काम हामीले गरिरहेका छौं ।’
केयूकेएलले वितरण गर्ने जम्मा पानीको ४० प्रतिशत चुहाट भएर नै जाने गरेको छ । तर, पछिल्लो समय मेलम्चीको पानी वितरण गर्ने क्रममा केही नयाँ पाइप बिच्छ्याइएको तथा पुराना पाइपको मर्मत भएर चुहावट घटेको शाक्यले बताए । उल्लेख्य मात्रामा पानीको चुहावट रोकिन भने सकेको छैन ।
‘पुरानो पाइप र भूकम्पले जमिन हल्लाउँदा पाइप जोडिएका ठाउँबाट पानी चुहावट भएको थियो । अहिले पनि त्यसको असर त छ ।’ उनी भन्छन्, ‘आयोजना कार्यान्वयन निर्देशनालयबाट नयाँ पाइप बिच्छ्याए पनि परीक्षण गर्न बाँकी छ । त्यसलाई छिट्टै परीक्षण गर्न हामीले आयोजनालाई अनुरोध पनि गरेका छौं ।’ उक्त पाइपबाट पानी वितरण गर्दा चुहावटको समस्या हट्ने बताइएको छ ।
केयूकेएलले उपत्यकाभित्र ३५ वटा सतह स्रोत (मुहान)को पानी वितरण गर्दै आएको छ । मुहानको संरक्षण नहुँदा भएको पानी पनि राम्रोसँग वितरण गर्न नसकिएको भन्दै केयूकेएलले मुहान संरक्षण गर्ने भएको हो ।
सतह स्रोतमा बालुवा तथा माटो आएर पुरिने हुँदा पानी जम्मा हुने क्षमता कम हुन्छ । सोही कारण मुहान सरसफाइ गर्ने समय तालिका बनाएर काम गर्ने केयूकेएलको योजना छ । सरसफाइसँगै आवश्यकताअनुसार मर्मत गर्ने योजनासमेत रहेको र काम सुरु भएको बताइएको छ ।
पानी वितरण समय तालिकाअनुसार नहुनमा केयूकेएलमा पानीको उपलब्धताले फरक पर्ने शाक्य बताउँछन् । उनकाअनुसार, होचो भू–गागमा बढी र अग्लो भू–भागमा कम पानी वितरण हुने गरेको उनको भनाइ छ । तर, केयूकेएलले भने समानुपातिक पानी वितरण गर्ने प्रयास गरिरहेको शाक्य बताउँछन् ।