काठमाडौं । बैंक बन्ने तयारीमा रहेको हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) अब लगानीमा मात्रै केन्द्रित हुने भएको छ । कम्पनीले जलविद्युत विकासमा रहेको अहिलेको भूमिका घटाएर वित्तीय लगानीमा केन्द्रीत हुन लागेको हो ।
आयोजनाको संभाव्यता अध्ययनलगायत विकासकोसमेत काम गरिरहेकोमा अब विशुद्ध ऋण तथा स्वपुँजी (इक्विटी) लगानीमा जोड दिने एचआईडीसीएलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अर्जुनकुमार गौतमले बताए ।
‘हिजोका दिनमा आयोजना विकासमा बढी केन्द्रित भएको हो कि भन्ने आभाष परेको छ । हामीले रणनीतिक योजनामा पुनरावलोकन गरेका छौं’ सीईओ गौतमले भने ‘विकासको भूमिकालाई घटाएर सिधै आयोजनामा स्वपुँजी साझेदार (इक्विटी पार्टनर) वा ऋण लगानीमा सहभागी हुने योजना छ ।’
अरूले विकास गर्न लागेका परियोजनामा लगानी गर्ने तर आफैंले परियोजना खोजेर अध्ययन गर्ने हिसावले अघि नबढ्ने उनले स्पष्टपारे । कम्पनी आफैले आयोजनाको खोजी गरी अघि बढाएको छ ।
जसअनुसार कम्पनीले रेमिट हाइड्रो लिमिटेड स्थापना गरी घुन्सा र सिम्बुवा आयोजनाको अध्ययन आफैले अघि बढाएको छ । यसका लागि कम्पनीले दुइटा सहायक कम्पनी स्थापना गरेको उनले सुनाए । सुरु गरिएका आयोजनाहरुलाई लगानी जुटाएर अघि बढाउने उनले जानकारी दिए ।
विदेशी साझेदारसँग पनि विकासको भूमिकामा भएको देखिएको उनको भनाइ छ । तयारी अवस्थामा रहेका विदेशी लगानीको आयोजनामा मात्र लगानी गर्ने उनले स्पष्टपारे । एचआईडीसीएलले ७५६ मेगावाटको तमोर जलासय र १५६ मेगावाटको माडी आयोजना पावर चाइनासँगको साझेदारीमा अघि बढाउन अहिले संयुक्त रुपमा अध्ययनको काम भइरहेको छ ।
‘सेयरधनीको लगानी जोखिममा पर्ने हो कि भन्ने सन्देह रहन्छ’ गौतमले भने ‘त्यसैले तयारी अवस्थामा रहेका आयोजनाहरूमा हाम्रो उपस्थिति भएमा लगानीकर्ताको पैसा सुरक्षित रहनेछ । विकासको भूमिकालाई घटाएर वित्तीय लगानीकर्ताको भूमिकामा जाने भन्ने छ ।’ यस्तो भयो भने चाँडै प्रतिफल पाउने र जोखिम कम हुने उनले बताए ।
‘हामी धेरै समय अध्ययनका क्रममा सहभागी भयौं । त्यसैले प्रतिफल प्राप्त गर्न ढिलाइ हुन गएको छ’ उनले भने ‘ती आयोजनाबाट पछि हट्ने भनेको होइन । अघि बढाउने नै हो । अब विकासकर्ताले तयार गरेका आयोजनामा लगानी गर्ने हो ।’
विद्युत उत्पादन कम्पनी, राष्ट्रिय ग्रीड कम्पनी र नेपाल विद्युत प्राधिकरणलगायत अन्य निजी र विदेशी लगानीकर्ताले अध्ययन सम्पन्न गरेका आयोजनाहरुमा सेयर पुँजी र ऋण लगानी गर्ने उनले स्पष्टपारे ।
कम्पनीले १० वर्षमा जलविद्युतमा १५० अर्ब रुपैयाँ लगानी गर्ने योजना सार्वजनिक गरेको छ । हाल कम्पनीको ११ अर्ब रुपैयाँ मुद्दतीमा छ । ६ अर्ब रुपैयाँ हाराहारीमा सेयर र ऋणमा लगानी गरेको छ । चुक्ता पुँजी बढेर २२ अर्ब रुपैयाँ पुगेको छ ।
यो पनि हेर्नुहोस
राष्ट्र बैंकको नियमनमा गएनौं भने १५० अर्ब लगानीको योजना पूरा हुँदैन (अन्तर्वार्ता)
एचआईडीसीएललाई बैंक बनाउने तयारी, यथाअवस्थामा लगानी बढाउन नसक्ने निश्कर्ष