काठमाडौं । नेपाल विद्युत् प्राधिकरण काभ्रेपलाञ्चोकस्थित दुई वितरण केन्द्रमा ३३ करोड रूपैयाँ विद्युत् महसुल बक्यौता रहेको छ । चार नगरपालिका र एक गाउँपालिकाले सडक बत्ती तथा अन्य प्रयोजनको १८ करोड रूपैयाँभन्दा बढी विद्युत् महसुल चुक्ता गरेका छैनन् ।
बनेपा, धुलिखेल, पनौती र पाँचखाल नगरपालिका तथा भुम्लु गाउँपालिकाले उक्त परिमाणको महसुल तिर्न बाँकी रहेको नेपाल विद्युत् प्राधिकरणका काभ्रेपलाञ्चोकस्थित वितरण केन्द्रहरूले जनाएका छन् । ती स्थानीय तहले काभ्रे वितरण केन्द्र बनेपा र पाँचखाल वितरण केन्द्रबाट सडक बत्तीलगायत विद्युत् प्रयोग गर्दै आएका छन् ।
बनेपा वितरण केन्द्रअन्तर्गत बनेपा नगरले सडक बत्तीको ५ करोड ९९ लाख ६६ हजार रूपैयाँ, धुलिखेल नगरको ५ करोड ७७ लाख ७२ हजार र पनौती नगरको ४ करोड ९८ लाख ३३ हजार रूपैयाँ विद्युत् महसुल तिर्न बाँकी रहेको प्राधिकरणले जनाएको छ । पाँचखाल वितरण केन्द्रअन्तर्गत पाँचखाल नगर र भुम्लु गाउँपालिको २७ लाख २१ हजार रूपैयाँ बक्यौता रहेको जनाइएको छ ।
बनेपा वितरण केन्द्रअन्तर्गत विद्युत् प्रयोगकर्ताबाट गत असार मसान्तसम्ममा ३२ करोड ९९ लाख बक्यौता असुल गर्न बाँकी रहेको छ । केन्द्र प्रमुख इञ्जिनियर माधवेन्द्र यादवका अनुसार ग्राहस्थतर्फ ११ करोड १७ लाख ४१ हजार रूपैयाँ, गैरव्यापारिक क्षेत्रबाट ६ लाख २३ हजार रूपैयाँ, व्यापारिक क्षेत्रबाट ५८ लाख ५९ हजार रूपैयाँ, औद्योगिकबाट २ करोड ४१ लाख रूपैयाँ, खानेपानीबाट ११ लाख ३४ हजार रूपैयाँ, सिँचाइबाट ४ लाख ८७ हजार रूपैयाँ, बक्यौता छ ।
स्थानीय तहअन्तर्गत सडक बत्तीको एकमुष्ट १८ करोड १० लाख २४ हजार रूपैयाँ, मेला–महोत्सवमा अस्थायी रूपमा विद्युत् प्रयोग गरेवापतको २ लाख ५९ हजार रूपैयाँ, मठमन्दिर ५ लाख २४ हजार रूपैयाँ, सामुदायिक क्षेत्रबाट ८ लाख ७८ हजार रूपैयाँ बक्यौता बाँकी छ । गैरग्राहस्थ ३२ लाख २६ हजार रूपैयाँ, सिनेमा हलको ३४ हजार रूपैयाँ, आन्तरिक खपतबपतको २४ हजार रूपैयाँ बक्यौता रहेको यादवले जानकारी दिए ।
पाँचखाल वितरण केन्द्रअन्तर्गत भने सडक बत्ती, व्यापारिक, सामुदायिक, ग्राहस्थ, खानेपानी, औद्योगिक, सिँचाइ तथा गैरव्यापारिकलगायत क्षेत्रको रु तीन करोड ८४ लाख ९१ हजार रूपैयाँ महसुल तिर्न बाँकी रहेको केन्द्रले जनाएको छ । रासस