काठमाडौं । राष्ट्रिय गौरवको पुष्पलाल (मध्यपहाडी) राजमार्ग निर्धारित समयमा सम्पन्न नहुने भएको छ । आर्थिक वर्ष ०६४/०६५ बाट सुरु भएको आयोजना आगामी आर्थिक वर्ष ०७९/०८० सम्पन्न गर्ने लक्ष्य तोकिएको छ । तर, कोरोना महामारीका कारण पूर्वनिर्धारित समय अर्थात अबको २ वर्षमा राजमार्ग निर्माणको काम सम्पन्न गर्न नसकिने आयोजनाका निर्देशक अर्जुन अर्याल बताउँछन् ।
‘कोरोना संक्रमणको कारण २ वर्ष राम्रोसँग काम गर्न पाइएन, एक वर्ष ढिलो भए पनि आर्थिक वर्ष ०८०/०८१ मा निर्माण कार्य सम्पन्न गर्न सकिन्छ । मलाई लाग्छ नेपालको अवस्थामा १/२ वर्ष बढी लाग्नु ठीकै हो’ निर्देशक अर्यालले भने ।
उनकाअनुसार अघिल्लो आर्थिक वर्ष ६ महिना आयोजनाको म्याद थप भएको थियो । यो वर्ष पनि ६ महिना म्याद थप्ने सरकारले जनाएको छ । तत्काल आयोजनाले फेरि म्याद थप गर्न प्रक्रिया भने अघि बढाएको छैन ।
पूर्व–पश्चिम महेन्द्र राजमार्गको विकल्पका रूपमा मध्यपहाडी राजमार्गको निर्माण कार्य सुरु भएको हो । आर्थिक वर्ष ०७९/०८० मा सम्पन्न गर्ने योजना रहेको उक्त राजमार्गको हालसम्म भौतिक प्रगति ५७.८४ प्रतिशत भएको छ । त्यस्तै वित्तीय प्रगति भने ६३.२५ प्रतिशत छ ।
पाँचथरको चियोभञ्ज्याङदेखि बैतडीको झुलाघाटसम्म दुइलेन स्तरमा कालोपत्रेसहितको सडक निर्माणाधीन अवस्थामा छ । कुल १८ सय ७९ किलोमिटर लामो सो राजमार्गमा हालसम्म १४ सय १७ किलोमिटर ग्राभेल सडक निर्माण भएको छ ।
त्यसमध्ये ११ सय १३ किलोमिटर सडक कालोपत्रे भएको छ । आयोजना स्वयम्ले ६५१ र अन्य आयोजनाले ४६२ गरी कुल ११ सय १३ किलोमिटर सडक कालोपत्रे भएको हो । २३६ किलोमिटर सडक भने कालोपत्रेका लागि ठेक्का व्यवस्थापन हुन बाँकी रहेको आयोजनाले जनाएको छ ।
चालू आर्थिक वर्षमा ३४० किलोमिटर लामो सडक कालोपत्रे गर्ने, २४ वटा पुल निर्माण सम्पन्न गर्ने योजना मध्यपहाडी राजमार्गको छ । त्यस्तै २३६ किमि सडक कालोपत्रे स्तरमा स्तरोन्नति ठेक्का व्यवस्थापन गर्ने र २९ वटा ठेक्का व्यवस्थापन चालू आर्थिक वर्षमा सम्पन्न गर्ने आयोजनाको लक्ष्य छ ।
चालू आर्थिक वर्षको बजेटमा तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले मध्यपहाडी राजमार्गलाई २ लेनबाट विस्तार गरी ४ लेनको बनाउने उल्लेख गरेका थिए । तर, आयोजनाले चालू आर्थिक वर्षको कार्ययोजनामा भने सो कुरा उल्लेख गरेको छैन ।
‘अर्थले भनेको ४ लेन पछिसम्म विस्तारै बनाउने हो, तत्काल गर्ने होइन तर, बजार क्षेत्र र सम्भव भएका ठाउँमा अहिले पनि सडक विस्तार भइरहेको छ’ क्यापिटल नेपालसँग कुरा गर्दै आयोजना निर्देशक अर्यालले भने, ‘पर्वतको कुस्मामा ४ लेनको सडक बनाउने कार्य भइरहेको छ, बजार क्षेत्रमा अहिले पनि बनाउन सकिन्छ नभएपछि गर्दै जानुपर्ने भन्ने सरकारको नीति हो ।’
मध्यपहाडका २६ जिल्ला र २१५ बस्तीहरुलाई मध्यपहाडी राजमार्गले यातायात सञ्जालमा जोड्नेछ । सो राजमार्गलाई मध्यपहाडको मेरुदण्डको रूपमासमेत लिने गरिन्छ । राजमार्गको पूर्वदेखि पश्चिमसम्म १३७ वटा पुल निर्माण हुने छन् भने करिब १ करोड जनता प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको छ ।
हालसम्म ९० वटा पुलको निर्माण कार्य सम्पन्न भएको छ । १८ वटा निर्माणधीन छन् भने २९ वटा पुलको ठेक्का सम्झौता हुन बाँकी रहेको छ । राजमार्गको पूर्वखण्ड ७२१ किलोमिटर र मध्यपहाडी पश्चिमखण्ड ११ सय ५८ किलोमिटरमा २ खण्डमा आयोजनाको निर्माण हुँदै छ ।
त्यस्तै राजमार्गभित्र १०० नयाँ सरह बनाउने योजनासमेत रहेको । उक्त योजनाअन्तर्गत करिब १ लाख जनसंख्या हुने क्षेत्र नयाँ सहरको रुपमा विकास हुँदैछन् । देशभरिका पाँचथर, काभ्रे, गोरखा, पर्वत, दैलेख गरी पाँचवटा आयोजना निर्देशनालय र निर्देशनालयअन्तर्गत योजना कार्यालयहरुमार्फत निर्माण कार्य सञ्चालनमा छ । मध्यपहाडी राजमार्गको कुल लागत १ खर्ब १ अर्ब ५० करोड रुपैयाँ अनुमान गरिएको आयोजनाले जनाएको छ ।
यस्ता छन् आयोजनामा समस्या
राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्यपहाडी) राजमार्गले सडकमा परेका र क्षति पुगेका जग्गामा मुआब्जा दिँदैन । तर, जग्गा धनीहरुले भने आफ्नो जग्गाको मुआब्जा माग्ने गर्छन् । सोही कारण सडक निर्माण कार्यमा समस्या हुने गरेको छ । जग्गाको मुआब्जा नदिए पनि आयोजनाले घर–टहराको क्षतिपूर्ति भने दिने गरेको छ । यद्यपि घर–टहराको क्षतिपूर्ति पनि नयाँ घर बनाउनको लागि पर्याप्त नहुने निर्देशक आर्याल बताउँछन् ।
त्यस्तै वन क्षेत्रमा पनि सडक निर्माण गर्न समस्या हुने गरेको आयोजनाले जनाएको छ । रुख कटान गर्नुका साथै वन क्षेत्र प्रयोगको लागि स्वीकृति (भोग अधिकार) लिनुपर्ने हुन्छ । त्यसो त ठाउँ भए पनि बजार क्षेत्रमा बाटो निर्माण गर्न स्थानीयले अवरोध गर्ने गरेका छन् । अर्यालका अनुसार, जग्गाको मुआब्जा नदिने र घर–टहराको पनि कम पैसा दिने हुँदा स्थानीयले सडक निर्माण कार्यमा अवरोध गरेका हुन् ।
जलासययुक्त विद्युत आयोजनाले राजमार्गको भविष्य अन्योलमा
मध्यपहाडी राजमार्ग स्वयम् राष्ट्रिय गौरवको आयोजना हो । अन्य जलाशययुक्त राष्ट्रिय गौरवका आयोजनाको कारण मध्यपहाडी राजमार्गको भविष्य अनिश्चित जस्तै हुने भएको छ । मध्यपहाडी राजमार्गका आयोजना निर्देशक अर्यालकाअनुसार, राष्ट्रिय गौरवको बूढीगण्डकी जलविद्युत् आयोजनाको डुबानमा राजमार्ग पर्छ । त्यस्तै अर्को राष्ट्रिय गौरवको सुनकोसी, २ र ३ जलासययुक्त र मरिण डाइभर्सन आयोजनाले पनि राजमार्गलाई क्षति पुग्छ ।
निर्देशक अर्यालले भने, ‘भविष्यमा हामीले बनाएको बाटो परिवर्तन गर्नुपर्ने हो कि भन्ने अवस्था छ । अरू आयोजनाहरु कहिले निर्माण हुन्छन् भन्ने टुङ्गो छैन । तर, निर्माण सम्पन्न भएमा बाटो परिवर्तन नहोला भन्न सकिँदैन ।’
लमजुङ, गोरखा र तनहुँमा घर–टहराको क्षति मूल्याङ्कनको चरणमा रहेको छ । यद्यपि आयोजनाले तिर्नुपर्ने रकम भने तिर्दै आएको जनाएको छ । तर, अन्य ठाउँको करिब २ करोड रुपैयाँ तिर्नुपर्ने भए पनि पूर्णरूपले मूल्याङ्कन हुन बाँकी रहेकाले क्षति बापतको रकम वितरण भएको छैन । आयोजनाले समग्रमा क्षतिपूर्ति स्वरूप वितरण गर्ने रकमको मूल्याङ्कन नगरेको निर्देशक अर्याल बताउँछन् ।