काठमाडौं । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) का आन्दोलनरत कर्मचारीहरु नयाँ महाप्रन्धकको खोजीमा लागेका छन् । निगमको सुधारका लागि र कम्पनी मोडलको विरोधमा उत्रेका कर्मचारीहरु ‘प्रायोजित’ बन्दै नयाँ महाप्रबन्धकको खोजीमा लागेका हुन् ।
नयाँ सरकार गठन भएसँगै नेपाली काँग्रेस र माओवादी केन्द्र आबद्ध कर्मचारी संघसंगठनका पदाधिकारीहरु आफु अनुकुल महाप्रवन्धक ल्याउन दौडधुप सुरु गरेका हुन् ।
ती संघ संगठनका पदाधिकारीहरु विभिन्न व्यक्तिहरुको नाम लिँदै आफु आबद्ध पार्टीका पदाधिकारी र नेताहरुको घरदैलौ धाउन थालेका छन् । एयरलाइन्सलाई कम्पनी मोडलमा लैजाने तयारी गरेको भन्दै करिब २ महिनादेखि कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । जसको कारण विगत ५८ दिनदेखि महाप्रवन्धक डिमप्रकाश पौडेल कार्यालयमा समेत जान पाएका छैन ।
आन्दोलनरत कर्मचारीहरुले एयरलाइन्सलाई कम्पनी मोडलमा लैजाने निर्णयको फिर्ता र महाप्रवन्धक पौडेलको राजीनामालाई शर्तको रुपमा अगाडी बढाउदै आएका छन् ।
संस्कृती,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा भएको पटक पटकको वार्तामा आन्दोलनरत कर्मचारीहरुले महाप्रवन्धक पौडेलको राजीनामालाई पहिलो शर्तको रुपमा अघि सारेपछि हालसम्म कुनै निर्णयमा पुग्न सकेको छैन । जसको कारण कर्मचारीहरु दैनिक रुपमा कार्यालयमा जाने र आन्दोलनमा सहभागी भएर घर फर्किरहेका छन् ।
लामो समयसम्म आन्दोलन हुँदा पनि मन्त्रालयले हस्तक्षेप गर्न नसकिरहेको बेलामा पर्यटनमन्त्री आएपछि मात्र समस्या समधान हुने भन्दै कर्मचारीहरुले भने आन्दोलनलाई नै निरन्तरता दिँदै आएका छन् ।
माओवादी सर्मथित नेपाल राष्ट्रिय कर्मचारी संगठनका राजु श्रेष्ठले आन्दोलनको अन्त्य हालका महाप्रवन्धक पौडेलको राजीनामा पछि मात्र हुने बताए ।
‘निगमको सुधारका लागि योग्य महाप्रवन्धक धेरै पाइएको छ, संगठनका नेता श्रेष्ठले भने, हामी पनि गृहकार्य गरिरहेका छौं ’ । एमडी बन्नका लागि धेरैले चासो देखाएकोले तत्कालै महाप्रवन्धक पौडेलको राजीनामा र कम्पनी मोडलमा लैजाने निर्णय फिर्ता लिनुपर्ने मूख्य माग रहेको उनले बताए ।
काँग्रेस समर्थित निगम कर्मचारी संघका उपाध्यक्ष देबेन्द्र पुनले महाप्रवन्धकको लागि धेरैले चासो दिइरहेको बताए । आफुहरुले खोजेको भन्दा पनि निगमलाई हितगर्ने खालको एमडी आइदियोस भन्ने चाहाना राखेको उनको भनाई छ । ‘अहिले धेरैले चासो देखाएको सुनिएको छ, उपाध्यक्ष पुनले भने, मन्त्रीको टुंगो नलागेसम्म को आउँछ भन्न सकिदैन’ ।
कर्मचारीको आन्दोलनलाई केहि व्यक्तिले गलत तरिकारले उचालिरहेको निगमकै एक कर्मचारीले क्यापिटल नेपाललाई बताए । ‘महाप्रबन्धक बन्ने योजनामा रहेका केहि व्यक्तिले आन्दोलनलाई प्रायोजित गरिरहेका छन्,’ उनले भने ।
एयरलाइन्स भित्र हुने विभिन्न बेतिथिहरुलाई नियन्त्रण गर्ने प्रयास गरिरहेका महाप्रवन्धक पौडेल विरुद्ध रुष्ट बन्दै आएका कर्मचारीहरुले उनको बहिर्गमन चाहिरहेको बेला कम्पनी मोडलमा लैजान हतारमा प्रवन्ध पत्र नियमावली बनाएको भन्दै आलोचना भएको थियो ।
हालका महाप्रवन्धक पौडेललाई तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सरकारले नियुक्त गरेको हो । त्यो बेला पनि हालका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पक्षको भागबाट पौडेललाई महाप्रवन्धकमा नियुक्ती गरिएको थियो ।
नेपाल अहिले गठबन्धन सरकारसँगै रहेकाले नयाँ मन्त्री पनि नेपाल पक्षको आउने संभावना रहेको छ ।