काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले महानगरपालिकालगायत उपत्यकाका सडक र चोकमा केही दिनदेखि थुप्रिएको फोहोर छिट्टै व्यवस्थापन हुने बताएका छन् ।
बञ्चरे डाँडामा निर्माणधिन स्यानिटरी ल्याण्डफिल्ड साइट र सिसडोल ल्याण्डफिल्ड साइटको स्थलगत रिपोर्टिङ गरेर फर्किएका सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख शाक्यले यस्तो बताएका हुन् ।
‘तपाईंहरु त्यहाँको अवस्थाबारे स्थलगत रिपोर्टिङ गरेर फर्किनुभएको छ,’ प्रमुख शाक्यले भने, ‘बञ्चरे डाँडामा निर्माणधिन स्यानिटरी ल्याण्डफिल्ड साइट जति सक्दो छिटो सम्पन्न गरेर हामीलाई हस्तान्तरण गरेको अवस्थामा स्थायी रुपमा फोहोर व्यवस्थापन गर्न सक्छौँ ।’
शाक्यले केही दिनदेखि वर्षाका कारण सिसडोल ल्याण्डफिल साइटसम्म जाने बाटो बिग्रिएका कारण नियमित रुपमा फोहोर व्यवस्थापनमा केही कठिनाइ भैरहेको पनि जानकारी दिए । ‘सिसडोलसम्म जाने बाटो वर्षाका कारण बिग्रिएको छ ।
बाटोकै कारण फोहोर बोकेर त्यहाँ पुगेका गाडीलाई पनि डोजरले ठेलेर माथिसम्म लैजानुपर्ने अवस्था छ,’ शाक्यले भने, ‘त्यहि कारण केही दिनदेखि पूर्ण रुपमा फहोर उठाउन नसेकको हौँ ।’ उनले छिट्टै फोहोर व्यवस्थापन गरी सफा काठमाडौँ बनाउँने प्रतिवद्धता व्यक्त गरे ।
‘वर्षाका कारण विग्रिएको सिसडोलसम्म जाने बाटो बनाउन केही समय लाग्ने भएकाले तत्काल केही दिनका लागि घर वा कार्यालयमा उत्पादन भएको फोहोर जथाभावी सडकमा नमिल्काउन र कुहिने र नकुहिने फोहोर छुट्याएर सकेसम्म सहरलाई दुर्घन्ध कम गर्ने प्रयासमा लाग्न सम्पूर्ण महानगवासीलाई अनुरोध गर्न चाहन्छु,’ उनले भने, ‘अहिलेसम्म हामीले लामो समय फोहोर नथुप्रिने गरी व्यवस्थापन गर्दै आएका थियौँ । अहिले पनि फोहोर व्यवस्थापनका लागि सक्दो प्रयास गरिरहेका छौँ । बाटो मर्मत गरेर फोहोर व्यवस्थापन गर्ने प्रयास निरन्तर जारी राखेका छौँ ।’
प्रमुख शाक्यले फोहोर व्यवस्थापनका लागि सरकारसँग समन्वय भैरहेको जानकारी दिए।