काठमाडौं । नेपालमा पेय पदार्थको बाहुल्यता मल्टिनेसनल ब्राण्डकै छ । लामो समयदेखि एकछत्र राज गर्दै आएको विदेशी ब्राण्डलाई प्रतिस्पर्धा गर्दै होमग्रोन उत्पादनको रुपमा सिंगापुर वेभरेजले आफ्ना उत्पादनहरूलाई पछिल्लो पटक आक्रमक रुपमा बजारमा पठाउँदै आएको छ ।
सन् २०१७ बाट सुरु भएको सिंगापुर वेभरेजका विभिन्न ब्रान्डहरूमा कम्पनीले नयाँ ब्रान्ड थपेको छ । जीरु । जिरा र बिरेनुनको मिश्रण रहेको सो उत्पादन विशेष गरी ग्याष्ट्रिकका पीडितहरूलाई बढी लाभदायक हुने कम्पनीले जनाएको छ । यसअघि क्लब कोला, मनसुन ड्यु, फेन्सी, क्लब सोडा, राइट, लण्डन ड्राइटोनिक वाटर बजारमा ल्याइसकेका छन् ।
झापाको बिर्तामोडमा साढे तीन बिघा क्षेत्रफलमा फैलिएको उद्योगमा करिब १ बिघामा प्लाण्ट रहेको छ । उद्योगमा २७ करोड रुपैयाँ लगानी रहेको छ ।
सिंगापुर वेभरेजका सबै उत्पादनहरूलाई धेरैले रुचाइरहेका छन् । छोटो समयमै सबैको मन जित्न सफल भएको उत्पादन बजारमा ल्याउने ३१ वर्षे युवा हुन डा. आशिष शर्मा । होमग्रोन उत्पादनमा अब्बल बनाउने सोचका साथ विभिन्न अध्ययन र अनुसन्धानपछि चार वर्षअघिबाट सिंगापुर वेभरेजले विभिन्न पेय पदार्थहरू बजारमा ल्याएको कम्पनीका प्रवन्ध निर्देशक शर्माको भनाइ छ ।
यो सिजनल व्यापार भएकाले पछिल्लो समय कोभिडले धेरैनै असर गरेको उनको भनाइ छ । ‘वर्षको ६ महिना मात्र यसको राम्रो बिक्री हुन्छ छ, शर्माले भने, त्यसमा पनि अहिले महामारीका कारण सबै प्रकारको चिसो पेयपदार्थको बिक्री घटेकै छ ।
यसरी जन्मियो सिंगापुर वेभरेज
शर्मा कुनै व्यावसायिक घरनासँग जोडिएका व्यक्ति भने होइनन् । सामान्य परिवारमा जन्मिएका आशिषको बुबा लामो समयदेखि बरुण वेभरेजका उत्पादनको डिलर र हाल चौधरी ग्रुपको वाईवाईको विक्रेता हुन् । हुन त उनको परिवारले यसअघि चिया प्रशोधनको उद्योग सञ्चालनमा ल्याएका थिए । तर, त्यसलाई निरन्तरता दिन सकेनन् । तर, अब भने चिया प्रशोधनलाई पनि अघि बढाउने सोच आफ्नो रहेको शर्माको भनाइ छ ।
बीबीए नेपालमै अध्ययन गरेका शर्माले मास्र्टस डिग्री भने दुबईबाट इन्टरनेसनल बिजनेसमा गरेका छन् । सानैदेखि व्यापार व्यवसायमा रुचि राखेका शर्माको बुबाले पनि नेपालमै केही न केही नयाँ उत्पादन गर्नुपर्छ भनेर हौस्याउँदै आएका थिए । विशेष गरेर पेय पदार्थमा नेपालबाट वार्षिक अर्बौं रुपैयाँ बाहिर गएको भन्दै यसलाई रोक्नका लागि केही नयाँ उत्पादन ल्याउन उनका बुवाले हौसला दिँदै आएका थिए ।
बुवाको हौसला र साथकै कारण सिंगापुर वेभरेजमार्फत पेय पदार्थहरूलाई बजारमा ल्याउन सफल भएको उनको भनाइ छ । छोटो समयमा आफ्ना उत्पादनहरूले बजारमा राम्रो प्रभाव पारेको भन्दै उनी खुसी छन् । यसलाई नेपालभर पुर्याउने र विदेशमा समेत निर्यात गर्ने उनको तयारी छ । हाल जीरु अमेरिकामा पठाइसकेका छन् । कोभिडको कारणले अन्य मुलुकमा पठाउन नपाएको भन्दै माग भने धेरै आएको उनको भनाइ छ ।
जिरु गुलियो हैन नुनिलो हुन्छ
पेय पदार्थ भन्ने बित्तिकै धेरैको मानसपटलमा गुलियो हुन्छ भन्ने छ । र, मुखमा हाल्ने बित्तिकै गुलियो होस भन्ने चाहना धेरै छ । तर, जिरु गुलियो हुँदैन । सुरुमा खाँदा नुनिलो हुन्छ । किनभने यो जिरा र बिरेनुनको मिश्रणबाट तयार पारिएको हुन्छ ।
विशेष गरेर ग्याष्ट्रिक भएकाहरूलाई बढी उपयोगी हुन्छ । उनका हजुर आमाले आफूलाई सानोमा ग्याष्ट्रिकको समस्या हुँदा जिरा र बिरेनुन सहितको पानी खुवाएर ठीक भएको घटनालाई पाठको रुपमा लिएर जिरु नामक उत्पादन बजारमा ल्याएको उनको भनाइ छ ।
दुई वर्षअघि सार्वजनिक गरेको जीरु काठमाडौंमा २ महिना अघिबाट ल्याएको हो । अहिले दुर्गमका केही ठाउँमा पुगे पनि सबै ठाउँमा पुगिसकेको छैन । तर, ती ठाउँमा पनि पुर्याउने सोचमा रहेको उनको भनाइ छ । ‘ग्रामीण भेगमा लोकप्रिय हुने अपेक्षा लिएको छु,’ उनले भने ।
तर, जिरु सुरुमा गुलियो हुँदैन नुनिलो हुन्छ । तर, एक पटक खाएपछि ती सबै पल्किएको हुन्छ । नुनिलो भएकै कारणले ग्रामीण क्षेत्रमा खासै रुचाइएको पाइँदैन । तर, ती क्षेत्रका सबैको मनमा बस्ने खालको उत्पादन बनाउने सोच भने रहेको छ ।
क्लब कोला किन ?
यो कुनै ब्राण्डसँगको देखासेखी होइन । मैले कोकाकोला, पेप्सिकोला र आरसीकोला बनाएको होइन । मैले बनाएको उत्पादन क्लब हो । कोला त सबैले राखेकै हुन्छन नि ! कोला भनेको फ्लेबर हो । यसमा कसैको एकाधिकार हुँदैन ।
यो मेरो विशुद्ध नयाँ उत्पादन हो । यो कोहीसँग मिलेको पनि छैन र मिलाएको पनि छैन । बोतलको डिजाइन पनि मिलेको छैन । कलर, उत्पादन र स्वादमा कोही कसैको एकाधिकार हुँदैन ।
हाम्रो उत्पादन आएको जम्मा ४ वर्ष भयो । त्यसमा पनि दुई वर्ष कोभिडले समस्या पार्यो । हामीले केही गर्न पाएका छैनौं । छोटो समयमै धेरै चर्चा पाउनु र सबैको माया पाउनुनै गर्वको विषय हो । यो मात्र नेपाली ब्राण्ड बनाउन खोजिएको हो । आज हामी क्लब कोला भनेर बेचेका हौं । यसमा कसैको ब्राण्ड चोरेका छैनौं ।
बैंकहरूको विभेदकारी नीति छ
नेपाली उत्पादन र नेपाली कम्पनीहरूलाई यहाँका बैंकहरूले लगानी गर्न निकै हिच्किच्याउने गरेको छ । मल्टिनेसलन कम्पनीहरूलाई यहाँका बैंकहरू ढोगीढोगी सस्तो ब्याजदरमा ऋण लिनुस् भन्दै घरघरमा पुग्ने गरेका छन् ।
तर, नेपाली कम्पनीहरू भने आफैं ढोगीढोगी जाँदा पनि ऋण नदिने र दिइ हाले पनि महँगो ब्याजदरमा दिने गरेको प्रवन्ध निर्देशक शर्माको गुनासो छ । नेपाली बैंकहरूको यो नीतिका कारण पनि धेरै व्यवसायीहरू समस्यामा परेका छन् ।
एकातिर सरकारले नेपाली र विदेशी कम्पनीप्रति हेर्ने दृष्टिकोणनै फरक बनाएको बेला बैंकहरूले पनि लगानीमा दोहोरो चरित्र देखाएको कारण झनै समस्यामा परेको बताउँछन् ।
सरकारी संरक्षण नेपाली कम्पनीले पाएमा पेय पदार्थमा नेपाल आफैं आत्मानिर्भर बन्न सक्ने र अर्बौं रुपमा विदेश जानबाट बचाउन सकिने उनको दृढ छ । त्यति मात्र होइन, नेपाली कम्पनीहरू फष्टाउँदा रोजगारी बढ्नेदेखि विदेशमा समेत मेड इन नेपालको रुपमा परिचय बनाउन सकिने उनले बताए ।