काठमाडौं । सरकार स्वामित्वको नेपाल विद्युत प्राधिकरण आफैंले जलविद्युत आयोजना बनाउन छाडेको छ । १४४ मेगावाटको कालिगण्डी ए, ७० मेगावाटको मध्यमस्र्याङदी र ६९ मेगावाटको मस्र्याङदीलगायत झण्डै एक दर्जन साना र ठूला आयोजना निर्माण गरेको प्राधिकरण आफैंले आयोजना बनाउन छाडेको हो ।
पछिल्ला वर्षमा प्राधिकरण ३० मेगावाटको चमेलिया र १४ मेगावाटको कुलेखानी आयोजनामा खुम्चिन पुग्यो । चमेलिया र कुलेखानी आयोजनाको समय र लागतले प्राधिकरणको बदनामसमेत गरायो ।
अहिले प्राधिकरणले विद्युत उत्पादन र प्रसारण रणनीतिमा परिवर्तन गरेको छ । सोहीअनुसार विद्युत प्राधिकरण आफैंले आयोजना बनाउन छाडेर सहायक कम्पनीबाट अघि बढाएको छ । प्राधिकरणले अहिले जलविद्युत आयोजना बनाउन, विस्तृत इन्जिनियरिङलगायत परामर्श सेवा दिन र बिजुलीको व्यापारसमेत गरी हालसम्म १३ वटा सहायक कम्पनी स्थापना गरिसकेको छ ।
यी सबै कम्पनीमा प्राधिकरणको बहुमत स्वामित्व छ । यसैगरी सबै आयोजनामा जनताको सेयर लगानी सुनिश्चित गरिएको छ । चिलिमेबाट सुरु भएको सहायक कम्पनीको स्थापनाले गति लिँदै अहिले १३ वटा पुगेको छ । सहायक कम्पनीबाट झण्डै ५ हजार मेगावाट क्षमताका आयोजनाहरू निर्माण भइरहेका छन् ।
यस्तै यीमध्ये केही आयोजना सम्पन्न भइसकेका छन् । प्राधिकरणले विद्युत उत्पादनका साथै आयोजनाको अध्ययन गर्न इन्जिनियरिङ, विद्युत व्यापार र प्रसारणलाइन कम्पनीसमेत स्थापना गरेको छ । यसमध्ये माथिल्लो तामाकोसीबाट ४५६ र चिलिमे आयोजनाबाट २२ मेगावाट बिजुली उत्पादन भइरहेको छ ।
चिलिमे जलविद्युत कम्पनी लिमिटेडले २७० मेगावाटका ४ वटा आयोजना निर्माण गरिरहेको छ । १११ मेगावाटको रसुवागढी, १०२ मेगावाटको मध्यभोटेकोसी, ५७ मेगावाटका माथिल्लो र तल्लो सान्जने जलविद्युत आयोजना निर्माण गरिरहेको छ । चिलिमेले ४ वटा आयोजना बनाउन ३ वटा सहायक कम्पनी स्थापना गरेको छ ।
रसुवागढी र सान्जेन चालू आर्थिक वर्षमा सकिने र मध्य भोटेकोसी आगामी वर्ष सकिनेछ । चिलिमेले ५०० मेगावाटको आयोजनाको अध्ययन गरिरहेको छ । यी आयोजना पनि चिलिमेले सहायक कम्पनीबाट बनाउने भएको छ ।
जलविद्युतको परामर्श सेवा प्रदान गर्न कम्पनीले चिलिमे इन्जिनियरिङ एन्ड सर्भिसेज कम्पनी स्थापना गरेको छ । इन्जिनियरिङ कम्पनीले ३०८ मेगावाट क्षमता बराबरका आयोजनाको विस्तृत इन्जिनियरिङको काम गरिरहेको छ ।
माथिल्लो तामाकोसी जलविद्युत लिमिटेडले ४५६ मेगावाटको माथिल्लो तामाकोसी आयोजनाबाट बिजुली उत्पादन थालेको छ । कम्पनीले रोल्वालिङ खोलाको पानीसमेत उपयोग गरेर इन्जिनियरिङ प्रक्युमेन्ट एन्ड कन्स्ट्रक्सन (ईपीसी) ढाँचामा २२ मेगावाटको रोल्वालिङ आयोजना बनाउन तयारी थालेको छ ।
यस्तै १४० मेगावाटको तनहुँ अर्धजलाशययुक्त आयोजना बनाउन तनहुँ हाइड्रो लिमिटेड स्थापना गरेको छ । हाल आयोजनाको निर्माण जारी रहेको छ । कम्पनीले १२६ मेगावाटको तल्लो सेती आयोजना पनि निर्माणका विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) समेत तयार भइसकेको छ ।
आयोजनामा एसियाली विकास बैंक (एडीबी), जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) र युरोपियन इन्भेष्टमेन्ट बैंक (ईआईबी) को ऋण लगानी रहेको छ । विद्युत प्राधिकरण र नेपाल टेलिकमले संयुक्त रूपमा प्रवद्र्धन गरेको त्रिशूली जलविद्युत कम्पनी लिमिटेडले ३७ मेगावाटको त्रिशूली ३ बी आयोजना बनाइरहेको छ ।
यसैगरी ४० मेगावाटको राहुघाट आयोजना रघुगंगा जलविद्युत कम्पनी लिमिटेडले निर्माण गरिरहेको छ । भारतको निर्यात–आयात (एक्जिम) बैंकको सहुलियत ऋण सहयोगमा आयोजना निर्माण भइरहेको छ ।
१०६० मेगावाटको माथिल्लो अरुण र ३० मेगावाटको इखुवाखोला आयोजना बनाउन माथिल्लो अरुण जलविद्युत कम्पनी स्थापना भएको छ । आयोजना विश्व बैंकको ऋण लगानीमा निर्माण हुने भएको छ । हाल आयोजनाको विस्तृत इन्जिनियरिङको काम सुरु हुन लागेको छ ।
९९.८ मेगावाटको तामाकोसी पाँचौं आयोजना बनाउन विद्युत प्राधिकरणले तामाकोसी जलविद्युत कम्पनी लिमिटेड स्थापना गरेको छ । कम्पनीमा कर्मचारी सञ्चय कोषले १२ अर्ब रुपैयाँ ऋण लगानी सम्झौता गरेको छ । आयोजनाको डीपीआर तयार भएकाले निर्माणमा जाने तयारीमा छ । बोलपत्र आह्वानको तयारी भइरहेको छ ।
६३५ मेगावाटको दुधकोसी जलाशययुक्त आयोजना बनाउन दूधकोसी जलविद्युत कम्पनी लिमिटेड स्थापना भएको छ । एडीबीको अनुदानमा आयोजनाको विस्तृत डिजाइन प्रतिवेदन तयार भइसकेको छ । आयोजना बनाउन एडीबीबाट ५५ करोड डलर ऋण तथा २ करोड डलर बराबरको अनुदान सहयोगको प्रतिबद्धता प्राप्त भएको प्राधिकरणले जनाएको छ ।
एडीबीको अगुवाइमा ईआईबी, एसियन इन्फास्ट्रक्चर बैंक(एआईआईबी) कोरियन एक्जिम बैंकसँग छलफल जारी छ । आयोजनाका लागि जग्गा अधिकरणको काम सुरु भएको छ । प्राधिकरणले ५१ प्रतिशत स्वामित्व रहने गरी एनईए इन्जिनियरिङ कम्पनी स्थापना गरेको छ । आयोजनाले २० भन्दा बढी आयोजनाको डिजाइनको काम गरेको छ ।
नेपालभित्र बाहिर बिजुलीको व्यापार गर्न नेपाल पावर ट्रेडिङ कम्पनी लिमिटेड स्थापना भएको छ । कम्पनी सञ्चालनका लागि सञ्चालक समितिबाट व्यापारिक योजना स्वीकृत भएको छ । नेपाल–भारत विद्युत आदनप्रदान तथा द्वीपक्षीय लाभका लागि ४०० केभी क्षमताको ढल्केबर मुज्जफ्फपुर प्रसारण लाइन निर्माणका लागि कम्पनी स्थापना भएको हो ।
यस्तै ४२ मेगावाटको माथिल्लो मोदी ए र १९.८ मेगावाटको माथिल्लो मोदी बी आयोजना बनाउन मोदी जलविद्युत कम्पनी स्थापना गरेको हो । अन्तर्राष्ट्रिय परामर्शदाताले आयोजनाको डिजाइनको काम सकेको छ । यस्तै पहुँचमार्ग निर्माण भइहेको छ ।
८२१ मेगावाटको उत्तरगंगा जलविद्युत आयोजना निर्माण गर्न विद्युत प्राधिकरणले उत्तरगंगा पावर कम्पनी लिमिटेड स्थापना गरेको छ । कम्पनीले ४१७ मेगावाटको पहिलो र ४०४ मेगावाटको दोस्रो जलविद्युत आयोजना अघि बढाउँदै छ । आयोजनाको विस्तृत इन्जिनियरिङ डिजाइन र बोलपत्र दस्तावेज तयार पार्न इरानको महाघोड्स कन्सल्टिङ इन्जिनियरिङ कम्पनीलाई छनोट गरिएको छ ।
चिलिमे जलविद्युत कम्पनी लिमिटेड
माथिल्लो तामाकोसी जलविद्युत लिमिटेड
तनहुँ जलविद्युत कम्पनी लिमिटेड
त्रिशूली जलविद्युत कम्पनी लिमिटेड
रघुगंगा जलविद्युत लिमिटेड
माथिल्लो अरुण जलविद्युत लिमिटेड
तामाकोसी जलविद्युत कमपनी लिमिटेड
दूधकोसी जलविद्युत कम्पनी लिमिटेड
एनईए इन्जिनियङि कम्पनी लिमिटेड
नेपाल पावर टे«डिङ कम्पनी लिमिटेड
पावर ट्रान्सिमिसन कम्पनी नेपाल लिमिटेड
मोदी जलविद्युत कम्पनी लिमिटेड
उत्तरगंगा पावर कम्पनी लिमिटेड