सरकारले कोरोना भाइरस विरुद्धको खोपलाई विशेष प्राथमिकता दिइरहेको छ । त्यहीअनुसार सबै क्षेत्रले विस्तारै खोप पाइरहेका छन् । सरकारी भनाइलाई आधार मान्य हो भने यो वर्षको अन्त्यसम्ममा सबै नागरिकले खोप पाइसक्छन् ।
अहिले कोरोनाका कारण उद्योग व्यवसाय संकटमा छ । त्यसबाट फिल्म उद्योग पनि अछुतो रहन सकेन । हल बन्द भएको २ वर्ष भइसकेको छ ।
जसको प्रत्यक्ष असर कलाकार, चलचित्रकर्मी, निर्माता, निर्देशकदेखि हलमा टिकट बेच्नेसम्मलाई पर्यो ।
गत पुस–माघमा करिब तीन महिना केही खुला भए पनि आम–जनमानसमा कोरोनाको डरको कारण चलचित्र हेर्ने माहोल बन्न सकेन । कम्तीमा पनि ६० प्रतिशत जनतामा खोप लगाएपछि हल सञ्चालन गर्न सकिन्छ । अहिले चलचित्रकर्मी तथा कलाकारहरूले वैकल्पिक पेसा अपनाएको विषय सकारात्मक हो ।
इन्टरनेटको माध्यमबाट फिल्म प्रदर्शन गर्ने विषयमा बोर्डले छलफल अगाडि बढाइरहेको छ । राष्ट्र बैंकले ५ प्रतिशतमा पुनर्कर्जाका लागि कर्जा दिँदै आएको र गत वर्ष हलवालाहरूले ५२ करोडभन्दा बढी रकम लिएका छन् ।
त्यसलाई पनि घटाएर यो वर्ष २ प्रतिशतमा व्यवस्था गर्नुपर्छ । पुनर्कर्जा लिनका लागि कागजी प्रक्रिया झन्जटिलो र कोरोनाको कारण नवीकरण गर्न नपाएका हलहरूलाई सहजीकरण गरिनुपर्छ ।
मासिक रुपमा तिर्ने किस्तामा पनि पुनर्तातिकीकरण गर्न राष्ट्र बैंकलाई बोर्डले आग्रह गरिसकेको छ । त्यस्तै बन्द भएको समयमा बैंकको ब्याजमा पूर्ण नभए पनि केही प्रतिशत छुट दिन बोर्डले माग गरेको छ ।
दाहाल चलचित्र विकास बोर्डका अध्यक्ष हुन् ।