काठमाडौं । भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको दोस्रो चरणको काम ३० प्रतिशत सम्पन्न भएको छ । राष्ट्रिय गौरवको आयोजनाको हेडबक्स, विद्युतगृह तथा सर्जसाफ्ट निर्माणको काम ३० प्रतिशत सम्पन्न भएको हो । आयोजनाको पहिलो चरणअन्तर्गत १२ किलोमिटर लामो सुरुङ खन्ने काम सम्पन्न भइसकेको छ ।
२०७६ साउनमा चिनियाँ कम्पनी एम/एस गुवानडोङ युआनटियान रमण जेभीसँग २०८० सम्म आयोजना निर्माणको ठेक्का सम्झौता भएको थियो । आयोजनाको काम ३० प्रतिशत सम्पन्न भएको आयोजनका सूचना अधिकारी ईश्वरीप्रसाद तिवारीले बताए ।
दोस्रो चरणको विद्युत पूर्वाधार बनाउन ११ अर्ब ५२ करोड ६१ लाख ३० हजार अनुमान गरिए पनि ६ अर्ब १६ करोड ५२ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको छ । बाँके र बर्दियाका गरी ५१ हजार हेक्टरमा सिँचाइ सुविधा पुर्याउने उक्त आयोजनाबाट ४८ मेगावाट विद्युतसमेत उत्पादन हुनेछ । त्यस्तै विद्युत उत्पादनको संरचना हाइड्रोमेकानिकल उपकरण निर्माण, आपूर्ति र जडानका लागि परेको प्रस्तावको मूल्याङ्कन हुँदैछ भने इलेक्ट्रोमेकानिकलको पनि बोलपत्र (टेण्डर) निकाल्ने तयारीमा रहेको खतिवडाले जानकारी दिए ।
आर्थिक वर्ष ०६८/०६९ मा सुरु भएको बहुउद्देश्यीय आयोजनाको समग्र भौतिक प्रगति भने ४८ प्रतिशत मात्रै भएको छ । वित्तीय प्रगति पनि ३८.२८ प्रतिशत छ । निर्माण कार्य सुरु भएको १० वर्षमा आधा पनि काम हुन सकेको छैन । तर, आयोजना भने निर्धारित समय अर्थात करिब २ वर्षमा निर्माण कार्य सम्पन्न गर्ने योजनामा छ ।
सूचना अधिकारी तिवारी भन्छन्, ‘कोरोनाको कारण आयोजनाको कामलाई असर गरेर बाधा पुगेको छ । तर, हामीले जसरी पनि आर्थिक वर्ष ०७९/०८० मा निर्माण कार्य सम्पन्न गर्नुपर्छ । त्यसका लागि सिफ्ट र स्रोत थपेर काम गर्नका लागि ठेक्केदारसँग छलफल गर्दै आएका छौं ।’
आयोजनाले जम्मा ३२ हेक्टर जग्गा अधिकरण गर्नुपर्ने छ । त्यसमध्ये ९ हेक्टर जग्गा अधिकरण भई मुआब्जा वितरण भएको छ । आयोजनाका लागि आवश्यक पर्ने बाँकी जग्गा भने ऐलानी वा कागजी प्रक्रियामा नरहे पनि बालिनाली लगाइ रहेको अवस्थामा छन् । उक्त जग्गा अधिकरण र मुआब्जा वितरणका लागि भने सरकारले गर्ने निर्णयअनुसार अगाडि बढ्ने आयोजनाले जनाएको छ । आयोजनाले करिब १२ करोड रुपैयाँ मुआब्जाका लागि वितरण गरिसकेको छ ।
आयोजना र भेरी करिडोर सिँचाइ विकास आयोजना गरी दुइवटा बजेट शीर्षक बनाएर काम गर्दै आएको छ । भेरी बबई डाइभर्सन आयोजनाअन्तर्गत विभिन्न ११ वटा कार्यहरु सुरुङ निर्माण, हाइड्रोमेकानिकल निर्माण तथा जडान, इलेक्ट्रोमेकानिकल निर्माण तथा जडान, प्रसारण लाइन निर्माण, जग्गा प्राप्ति तथा बाढीसम्बन्धी पूर्वजानकारीको लागि उपकरण जडानलगायतका संरचना निर्माण गरेको आयोजनाले जनाएको छ । सो आयोजना सम्पन्न गर्न ३३ अर्ब १९ करोडमध्ये १२ अर्ब ९३ करोड रुपैयाँ अर्थात ३८.९६ प्रतिशत खर्च भएको छ ।
सिँचाइ र विद्युत गरी सबै संरचना बनाउन ३६ अर्ब ८० करोड ७७ लाख लाग्ने अनुमान गरिएको छ । त्यसमध्ये भेरी बबई डाइभर्सनका लागि ३३ अर्ब १९ करोड ६६ लाख र भेरी करिडोर सिँचाइ विकास आयोजनातर्फ ३ अर्ब ६१ करोड ११ लाख रुपैयाँ रहेको छ ।
त्यस्तै भेरी करिडोर सिँचाइ विकास आयोजनाले भने ५ शीर्षकमा काम गरेको छ । लिफ्ट सिँचाइ योजनाहरु (सोलार तथा विद्युतबाट) १९५ गोटा, सञ्चित क्षेत्र तथा इन्टेक बचावट कार्य, सिँचाइ कुलो मर्मत तथा पुनस्र्थापनालगायत काम गरेको छ ।
सो आयोजनाका लागि हालसम्म ३ अर्ब ६१ करोड रुपैयाँ बजेट विनियोजन भएकोमा १ अर्ब ३ करोड अर्थात २८.६४ प्रतिशत खर्च भएको छ । आयोजनाले सामाजिक दायित्व तथा वातावरणीय सुधारका कार्यक्रम पनि गर्दै आएको छ । सो योजनाअन्तर्गत ५३ वटा सतह सिँचाइ योजनामध्ये ३ वटा निर्माण सम्पन्न भएका छन् भने ५० वटा निर्माणाधीन रहेको आयोजनाले जनाएको छ ।
त्यस्तै १५ वटा लिफ्ट सिँचाइ योजना रहेकोमा १४ वटा निर्माणाधीन तथा एउटाको निर्माण सम्पन्न, १३ वटा नदी नियन्त्रण योजनामा एउटा सम्पन्न भएको छ । बाँकी १२ वटाको निर्माण कार्य सञ्चालन भइरहेको छ । साथै अन्य २२ वटा योजनामध्ये ७ वटा सम्पन्न भएका छन् भने, १५ वटाको निर्माण कार्य चलिरहेको छ ।
सो आयोजनाबाट सुर्खेत, बाँके र बर्दिया जिल्लाको ५१ हजार हेक्टर जमिनमा बाह्रै महिना सिँचाइ पुग्नेछ । आयोजना सम्पन्न भएपश्चात बाह्रै महिना सिँचाइ उपलब्ध हुने भएकाले कृषि उत्पादन बढ्ने छ । कृषि उत्पादन बढ्दा वार्षिक ३ अर्ब १० करोड रुपैयाँ अप्रत्यक्ष र विद्युतबाट ४ अर्ब ३ करोड रुपैयाँ (रु १०.५० प्रतियुनिटको दरमा) प्रत्यक्ष गरी वार्षिक ७.१३ अर्ब रुपैयाँ फाइदा हुने अनुमान गरिएको छ ।
सो बहुउद्देश्यीय आयोजनामा नेपालमै पहिलोपटक सुरुङ खन्नका लागि टनेल बोरिङ मेसिन (टीबीएम) को प्रयोग गरिएको थियो । टीबीएमको प्रयोग सफल पनि मानिएको छ । उक्त आयोजनाको सुरुङ १२.२ किलोमिटर लामो र ४.२ मिटर व्यासको छ ।
सुरुङमार्फत भेरी नदीको पानी प्रतिसेकेण्ड ४० घनमिटरले बबई नदीमा खसाल्ने तयारी छ । सुरुङ चाइना इन्जिनियरिङ कम्पनी (कोभेक) ले १० अर्ब ५६ करोड ९७ लाख ३२ हजारमा आर्थिक ०७७/०७८ को प्रथम चौमासिकमा सम्पन्न गरी सकेको आयोजनाले जनाएको छ ।
आयोजनाले सुर्खेतकोे भेरीगंगा नगरपालिकाको चिप्लेस्थित भेरी नदीमा करिब ११४ मिटर लामो ब्यारेजसहित डिसेन्डिङ बेसिन र टनेल पोर्टलको निर्माण गर्ने छ ।
नेपालमा सिँचाइ विभागबाट पहिलो पटक एउटा नदीको पानी अर्कोमा खसाल्ने (नदीपथान्तरण) बहुउद्देश्यीय आयोजनाको रुपमा ‘भेरी बबई डाइभर्सन’ सञ्चालन भएको हो ।