काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)ले ‘५० स्टार्टअप–५० लगानीकर्ता’ कार्यक्रमको आवेदन पुनः सुचारू गरेको छ । वैशाखमा खुल्ला गरिएको आवेदनमा कोभिड महामारीका कारण धेरै स्टार्टअप उद्यमीहरूलाई समेट्न नसकिएको भन्दै महासंघले पुनः आवेदन सुचारू गरेको हो ।
महासंघले लगानीकर्ताहरूसँग आबद्ध हुन इच्छुक स्टार्टअप लागि लक्षित गरी ल्याएको ‘५० स्टार्टअप–५०’ लगानीकर्ता कार्यक्रम ल्याएको हो । महासंघले स्टार्टअप एण्ड इनोभेसन समितिको पहलमा सो कार्यक्रम सञ्चालन गरेको छ । कार्यक्रममा अनलाइन आवेदन गत वैशाख ४ गतेदेखि खुला गरिएको थियो । यसअघि आवेदन दिई सकेकाले पुनः आवेदन दिनु नपर्ने तथा आवेदक फर्मभरि सकेपछि महासंघले इमेलमार्फत सम्पर्क गर्ने जनाएको छ ।
कृषि, उत्पादनमूलक, सूचना प्रविधि, सेवालगायत सबै क्षेत्रका लागि आवेदन दिन सकिन्छ । लगानीकर्ताहरूको व्यावसायिक अभिरूचिसँग छनौट भएर आउने स्टार्टअपहरूलाई मिलाई फलदायिक सहकार्यको लागि सहजीकरण गर्ने कार्यमा स्टार्टअप समितिले सहयोग
गर्ने जनाएको छ ।
नवप्रवर्तनीय वस्तु, सेवा वा प्लेट/स्तरोन्नति गर्ने प्रक्रियामा रहेका उद्यमी वा व्यवसायहरूले समेत आवेदन दिन सक्ने छन् । एक वर्षभन्दा बढी समय अघिदेखि सञ्चालनमा आइरहेका र कम्तीमा पनि एक वर्षको लेखा परीक्षण प्रतिवेदन भएका, कानुनी रुपमा दर्ता भएका व्यवसाय आवेदनका लागि योग्य मानिने छन् । आफ्नो व्यवसायमा सीप, ज्ञानको आधार र दह्रो प्रतिबद्धता प्रदर्शन गर्न सक्ने सशक्त समूहले यसमा आवेदन दिन सक्नेछन् ।
आवेदनका साथ कम्पनी दर्ता प्रमाणपत्रको प्रतिलिपि तथा कम्पनीको विधान प्रबन्धपत्र, मेमोरेन्डम अफ एसोसिएसन (एमओए), आर्टिकल अफ एसोसिएसन (एओए) र सम्बन्धित अन्य रजिष्ट्रेशनहरू, प्यान/भ्याट दर्ता, कर चुक्ता प्रमाणपत्रहरू, कम्पनीको सञ्चालक समितिको माइन्युट, कम्पनीका प्रवद्र्धक/संस्थापकहरूको बायोडाटालगायतका आवश्यक दस्तावेजहरू संलग्न गर्नुपर्ने हुन्छ ।
महासंघको वेबसाइटबाट अनलाइन आवेदन फारम लिङक प्राप्त गर्न सकिने बताइएको छ ।