काठमाडौं । नेपाल वायुसेवा निगमका कर्मचारीहरूको आन्दोलनको कारण त्यहाँ आबद्ध १ हजार ३ सय कर्मचारीले साउन महिनाको तलब खान पाएका छैनन् । कर्मचारीहरू आन्दोलित भएको २ महिना पुग्न लाग्दासमेत कुनै निकायबाट वार्ता सफल हुन नसकेपछि कर्मचारीको आन्दोलन लम्बिँदै गएको छ ।
निगमका महाप्रवन्धक डिमप्रकाश पौडेलले पटक–पटक राखेको वार्ताको आह्वानलाई बेवास्था गर्दै त्यहाँका कर्मचारीहरू निरन्तर रुपमा आन्दोलन गर्दै आएका छन् । कर्मचारीको आन्दोलनका कारण महाप्रवन्धक पौडेल कार्यालयमा जानसमेत पाएका छैनन् । उनी अहिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा हाजिर भइरहेका छन् ।
कर्मचारीहरूले आन्दोलन गर्दा त्यहाँ दैनिक रुपमा खटेर काम गर्ने कर्मचारीहरूले पनि तलब पाउन नसकेको गुनासो कर्मचारीहरूले गर्दै आएका छन् । विशेष गरेर जहाज उडाउन आबद्ध हुने कर्मचारीहरूसमेत त्यसबाट प्रभावित भएका छन् । पाइलट, इन्जिनियर, ग्राउण्डह्याण्डलिङ, मार्केटिङलगायत दैनिक रुपमा नखटी नहुने कर्मचारीहरूले समेत तलब नपाएपछि उनीहरू समस्यामा परेका हुन् ।
आन्दोलनकारीहरूले यो वर्षको बजेटसमेत पास हुन दिएका छैन । सञ्चालक समितिलाई विभिन्न माफियाको ट्याग लगाउँदै उनीहरूलाई समेत निगमभित्र प्रवेश गर्न दिइएको छैन । जसको कारण बजेट पास भएको छैन र बजेट पास नहुँदा ती कर्मचारीहरूले तलब खान नपाएको बताइएको छ ।
निगमका महाप्रवन्धक पौडेलले आन्दोलरत कर्मचारीको बेवास्थाका कारण सिंगो कर्मचारीहरूलाई तलब ख्वाउन समस्या भएको बताए । वार्तामा पनि नआउने र आन्दोलन पनि निरन्तर गरिरहेको कारण कार्यालयको काम नै अस्तव्यस्त भएको उनको भनाइ छ ।
आन्दोलनरत कर्मचारीहरूले भने महाप्रवन्ध पौडेलको राजीनामालाई पहिलो सर्तको रुपमा अघि सार्दै आएका छन् । मन्त्रालयको सचिवस्तरीय वार्ताहरू धेरै पटक भए पनि निष्कर्षमा भने पुग्न सकेको छैन । अहिलेकै अवस्थामा नयाँ मन्त्री नआएसम्म वार्ताले निष्कर्ष नपाउने देखिएको बताउँदै आएको छ ।