राँझा । नेपालगञ्ज–गुलरिया हुलाकी सडकलाई विस्तार गरी चार लेन बनाउन थालिएको छ । नेपालगञ्जबाट बर्दियाको सदरमुकाम गुलरियासम्मको ३५ किलोमिटर सडक विस्तार गरी चार लेन बनाउने योजनाअनुसार पहिलो चरणमा खजुराबजार क्षेत्रमा १ हजार ८०० मिटर र बर्दियामा गुलरियाबाट भादा पुलसम्मको २ किलोमिटर सडक विस्तार गरी ४ लेन सडक बनाउन थालिएको हो ।
यस आर्थिक वर्षमा नेपालगञ्जको धम्बोझीबाट मैनापोखरसम्म ४ लेन सडक विस्तारका लागि विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको छ । धम्बोझीबाट मैनापोखरसम्मको २० किलोमिटर ४ लेन सडक निर्माणका लागि डीपीआर तयार भई कार्यान्वयनका लागि पहिलो चरणमा सडक विभागले १३ करोड रुपैयाँ बजेट छुट्याइसकेको सडक डिभिजन कार्यालय नेपालगञ्जका डिभिजन प्रमुख हुमबहादुर एसीले जानकारी दिए ।
उनकाअनुसार नेपालगञ्ज–गुलरिया हुलाकी सडकअन्तर्गत नेपालगञ्जको धम्बोझीचोकबाट बर्दियाको बढैयाताल गाउँपालिकाको मैनापोखरसम्म ४ लेन सडक बनाउने निर्णय गरेको छ । ४ लेभन सडक निर्माण योजना बहुवर्षीय हो । सरकारको बजेटबाटै बहुवर्षीय योजनाअनुसार क्रमागतरूपमा ४ लेन सडक निर्माण हुने भएको छ ।
नेपालगञ्जबाट मैनापोखरसम्मको सडकखण्डमा चार लेनको लागि आवश्यक पूर्वाधार निर्माण प्रक्रिया सुरु गरिएको डिभिजन प्रमुख एसीले जानकारी दिए ।
नेपालगञ्ज–गुलरिया सडकअन्तर्गत बाँकेको खजुरा बजार क्षेत्रमा चारलेन सडक निर्माण भइरहेको छ । पहिलो चरणमा खजुरा गाउँपालिका–३ स्थित कपास विकास समितिबाट धनौलीसम्म सडक विस्तार गर्ने गरी काम सुरु भएको खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिए।
उहाँका अनुसार सङ्घीय सरकारको ३४ करोड रुपैयाँको बोलपत्रमा गजुरमुखी निर्माण सेवाले गत वर्षदेखि ४ लेन सडक निर्माण सुरु गरेको हो । पहिलो चरणमा निर्माण शुरु गरिएको १ हजार ८०० मिटर लम्बाइको चार लेन सडकमा कालोपत्र गर्ने अवस्थामा पुगेको छ ।
क्रमागतरूपमा बजेट थप्ने गरी केन्द्रीय सरकारको योजनाअन्तर्गत निर्माण सुरु भएको हो । नेपालगञ्जबाट बर्दियाको सदरमुकाम गुलरियासम्मको ३५ किलोमिटर सडक विस्तार गरी चार लेन बनाउने योजनाअनुसार पहिलो चरणमा खजुरा बजार क्षेत्रमा एक हजार ८०० मिटर र बर्दियामा गुलरियाबाट भादा पुलसम्मको दुई किलोमिटर सडक विस्तार गरी चार लेन सडक बनाउने काम भइरहेको छ भने सँगसँगै नेपालगञ्जको धम्बोझीबाट मैनापोखरसम्मको डीपीआर तयार गरी चार लेन सडक विस्तारको कार्य सुरु भइरहेको खजुरा गाउँपालिकाका अध्यक्ष कक्षपतिले जानकारी दिए । रासस