विराटनगर । २०७५ मंसिरदेखि विराटनगरको मेनरोडस्थित सेन्ट्रल मल्टिप्लेक्स सञ्चालनमा आएको थियो । सुविधासम्पन्न मल्टिप्लेक्स हलका कारण दर्शकहरुको भिड नै लाग्ने गथ्र्यो । तर, कोरोनाका कारण २ अर्ब रुपैयाँ भन्दा बढी लगानीमा सञ्चालनमा आएको मल्टिप्लेक्सको अवस्था अहिले नाजुक छ ।
मल्टिप्लेक्सको व्यवस्थापन खर्च मात्रै मासिक १५ देखि २० लाख रुँपैया हुन्छ । रेखदेख, विद्युत महशुल, कर्मचारीको तलब र बैंकको ब्याज लगायतको खर्च व्यवस्थापनमै धेरै खर्च हुने गरेको मल्टिप्लेक्सका प्रवन्धक रमेश झा बताउँछन् ।
मल्टिप्लेक्स सञ्चालनमा आएको १७ महिनामा कोरोना कहर सुरु भयो । पहिलो कोरोना कहरमा सबै ठप्प भयो । पछि कम हुँदै गएपछि बजार खुल्दै गएको थियो । स्वास्थ्य मापदण्ड अपनाएर केही महिना सिनेमा हल पनि सञ्चालनमा आए ।
तर, २ महिना पनि नभई फेरि कोरोनाको दोस्रो लहर आयो र सिनेमा हल सबै बन्द भए । अहिले सबै क्षेत्र खुलिसकेको अवस्थामा सिनेमा हल मात्र बन्द छन् । खोल्न नपाउने हो भने सधैका लागि बन्द गर्नुपर्ने अवस्था आउने प्रवन्धक झा बताउँछन् ।
सबै क्षेत्र खुल्ला रहेको अवस्थामा मल्टिप्लेक्स मात्र बन्द गरिनुको औचित्य आफुहरुले बुझ्न नसकेको उनको तर्क छ । प्रशासनले मल्टिप्लेक्स पनि सञ्चालन गर्न दिनुपर्ने उनको माग छ । प्रशासनले अनुमति दिए स्वास्थ्य मापदण्ड अपनाएर सञ्चालनमा ल्याउने झाले जानकारी दिए ।
अन्य सबै क्षेत्रहरु सञ्चालनमा आईसकेका छन् । कुनैबेला कोरोना संक्रमणको ‘हटस्पट’ बनेको भारतमा पनि सिनेमा हलहरु सञ्चालन भईरहेका छन,’ उनले भने, ‘तर, यता अझै पनि हल सञ्चालनको अनुमति छैन् ।’
कोरोना महामारीको रोकथाम तथा न्युनीकरणका लागी २०७६ चैत्र ११ गतेको देशव्यापी बन्दाबन्दी (लकडाउन) पश्चात सरकारले सिनेमा हल सञ्चालनमा रोक लगाएको थियो । २०७७ को फाल्गुुण मसान्ततिर संक्रमणको जोखिम केही हदसम्म न्युनीकरण भएसँगै आवश्यक स्वास्थ्य सर्तकताका साथ हलहरु सञ्चालनमा आएका थिए ।
तर, महिनादिन नबित्दै संक्रमण दर पुनः बढन थालेपछि सरकारी निर्देशन बमोजिम बन्द भएका मल्टिप्लेक्स र अन्य सिनेमा हलहरु हालसम्म सञ्चालनमा आउन सकेका छैनन् ।
प्रदेश १ को राजधानी विराटनगरमा मात्रै ३ उच्चस्तरीय मल्टिप्लेक्स र ३ परम्परागत प्रविधिमा आधारित हलगरि ६ वटा सिनेमा घरहरु छन् । २ वर्षयता यी हलहरु पनि पूर्ण क्षमतामा सञ्चालनमा आउन सकेका छैनन् ।
विराटनगरमा २०७४ जेठदेखि तिनपैनी चौकस्थित सिटी सिनेमा र २०७६ मंसिरदेखि धरान रोडस्थित भाटभटेनीमा सुपरमार्केटमा क्यूएफएक्स मल्टिप्लेक्स सञ्चालनमा आएको थियो । पछिल्लो ५ वर्षयता सञ्चालनमा आएका यी ३ मल्टिप्लेक्सहरुमा मात्रै ३८ करोड रुपैयाँ भन्दा बढीे लगानी छ ।
विराटनगरमा पछिल्लो ५ वर्षयता सञ्चालनमा आएका ३ मल्टिप्लेक्सहरुको क्षमता १ हजार दर्शक अटाउनसक्ने छ । यसबाहेकका हिमालय, अरुण र बाबा सिनेमा हलहरुको पनि झण्डै २ हजार दर्शक अटाउन सक्ने क्षमता छ । तर, महामारीको जोखिमलाई दृष्टिगत गर्दै सञ्चालकहरु भने आधा क्षमतामा पनि हल सञ्चालन गर्न तयार छन् ।
प्रशासनद्धारा हल सञ्चालनको अनुमति दिनुपर्ने सिटी सिनेमाका महाप्रवन्धक शंकर मेहताले बताए । सिनेमा हल सञ्चालन गर्न दिएमा यस क्षेत्रका लागि ठुलो राहत हुने उनको भनाई छ । ‘सरकारले अनुमति दिए यसक्षेत्रको बढ्दो व्यापार घाटा न्युनीकरणमा सघाउ पुग्छ,’ उनले भने, ‘सिनेमा हलहरु पनि पुर्नजिवित हुन्छन् ।’
सुतेर पनि चलचित्र हेर्न मिल्ने रिक्लाईनर सिट, डेप्थ क्यू प्रविधि, डोल्बि एटमस साउण्ड सिस्टम तथा टु डी र थ्री डी स्क्रिन लगायतका विशेषतासहित सञ्चालनमा आएका यी हलहरुले भने हाल चरम आर्थिक संकटको सामना गर्नुपरेको छ ।
आम्दानी शुन्य भए पनि बिजुली, कर्मचारीको तलब र भाडा बापत नै मासिक साढे ७ लाख रुपैंयाँभन्दा बढी खर्च हुने गरेको सिटी सिनेमाका महाप्रवन्धक मेहताले बताए ।
हल सञ्चालनमा नभए पनि सुरक्षा, सरसफाई र मर्मतका लागि ६ जना कर्मचारी रहेको उनले जानकारी दिए । कर्मचारीलाई पुरा तलब दिएर राखेका बताउँदै मेहताले बिजुली खपत नभए पनि न्यूनतम डिमाण्ड शुल्क तिर्नुपर्ने बताए ।
कोभिडका कारण ‘सिङ्गल’ हल सञ्चालकहरुको अवस्था पनि उस्तै छ । परम्परागत पद्धतिमा हल चलाउनेमध्ये धेरैको आफ्नै भवन भएकाले भाडा तिर्नुपर्दैन । तर, भाडाकै घरजग्गामा चलिरहेकाहरु थप समस्यामा छन् ।
कोरोना महामारीअघि विराटनगरमा सञ्चालित यी ३ मल्टिप्लेक्सहरुमा मात्रै १०० जनाभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका थिए । एउटै मल्टिप्लेक्समा ४० देखि ४५ जनासम्म कार्यरत थिए ।
सिनेमा हलहरु नचल्दा यस उद्योगसँग प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा जोडिएका अन्य क्षेत्रहरु पनि समस्यामा छन् । यस्तो अवस्थामा हल सञ्चालनको वातावरण मिलाउन र हालसम्म पुगेको क्षति न्यूनीकरणका लागि सरकारद्धारा छुट्टै राहत प्याकेजको व्यवस्था गर्न चलचित्र संघले समेत माग गर्दै आएको छ ।