मान्म । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले ४१० मेगावाटको फुकोट कर्णाली अर्धजलाशययुक्त आयोजना बन्न लागेको बताएका छन् । आयोजनाको काम धेरै अगाडि बढेको उनले जानकारी दिए ।
“फुकोटको लगानीको मोडेल एक प्रकारले सहमति भइरहेको छ, निर्माणको काम पनि अगाडि बढेको छ”, उनले भने, “स्थानीयवासीलाई सेयर दिने विषयमा पनि छलफल भइरहेको छ, यो आयोजनाले रोजगारीसमेत दिनेछ ।” कर्णाली विकासका लागि सबैले आफ्नो आफ्नो ठाउँबाट जुट्न जरुरी रहेको मुख्यमन्त्री शाहीले बताए ।
मुख्यमन्त्री शाहीले कर्णालीको विकास र परिवर्तनका लागि निजी क्षेत्रको लगानी गर्न आग्रह गरेका छन् । कालीकोटमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले कर्णालीको विकासका लागि निजी क्षेत्रको लगानी भित्र्याउन आवश्यक रहेको बताए ।
निजी क्षेत्रलाई आकर्षित गर्नेतर्फ प्रदेश सरकार कटिबद्ध रहेको र त्यसका लागि निजी क्षेत्रले ढुक्क भएर लगानी गर्न आग्रह गरे । “कर्णालीमा लगानी गर्ने क्षेत्र धेरै छ, यो लगानीका लागि भर्जिन क्षेत्र हो”, उनले भने, “त्यसका लागि स्थानीय सरकार, प्रदेश सरकार र सङ्घीय सरकारले आ–आफ्नो ठाउँबाट पहल चाल्नुपर्दछ ।”
कालीकोट पर्यटकीय क्षेत्रका हिसाबले नेपालको सबैभन्दा अग्लो पचाल झरनाको बेस क्याम्पमा निर्माण गरिएको घरबास, शान्नी त्रिवेणी गाउँपालिका र नरहरिनाथ गाउँपालिकामा अवस्थित सुथराली विमानस्थल, गौरवको आयोजनाका रुपमा हेरिएको उनले जानकारी दिए ।
यस्तै कोटवाडा मान्म केबलकारको सम्भाव्यताको अध्ययन गरिएको र त्यसका लागि निजी क्षेत्रले लगानीबाट वातावरण बनाइने मुख्यमन्त्री शाहीले बताए। रासस