काठमाडौं । सिँचाइका लागि निर्माण सुरु गरिएका र नदी पथान्तर आयोजनाहरूबाट पनि बिजुली उत्पादन हुने भएको छ । जलविद्युत आयोजनाबाट मात्रै बिजुली उत्पादन हुने गरेकोमा अहिले सिँचाइ र नदी पथान्तर ठूला आयोजनाहरूबाट पनि बिजुली उत्पादन गर्न लागिएको हो ।
स्रोतको अधिकतम् उपयोग गर्न आयोजनालाई आकर्षक बनाउन बिजुली उत्पादन गरिन लागेको हो । सम्पन्न भएपछि सिँचाइ आयोजनाहरूले बिजुली बिक्रीबाट बर्सेनि अर्बौं रुपैयाँ आम्दानी गर्ने भएका छन् ।
हाल निर्माणाधीन आधादर्जन सिँचाइ आयोजनाबाटै १०० मेगावाट बिजुली उत्पादन हुने जलस्रोत तथा सिँचाइ विभागका उपमहानिर्देशक कृष्णप्रसाद नेपाल बताउँछन् ।सिँचाइका आयोजनाबाट उत्पादन हुने बिजुली केन्द्रीय प्रसारण लाइनमा जोडिने र बेच्नका लागि बेग्लै कम्पनी गठनको तयारी भइरहेका छन् ।
प्रवक्ता नेपालका अनुसार भेरी–बबई डाइभर्सन परियोजनाबाट ४८, रानी जमरा कुलरिया सिँचाइबाट ५, सुनकोसी मरिणबाट ३१, सुनसरी मोरङ सिञ्चाइ आयोजनाबाट ३ र गण्डक आयोजनाबाट ७ मेगावाट बिजुली उत्पादन हुने देखिएको हो । यस्तै प्रस्तावित कालीगण्डकी–तिनाउँ परियोजनाबाट मात्रै १२६ मेगावाट बिजुली उत्पादन हुने देखिएको छ ।
१०० मेगावाट बिजुली निर्माणाधीन सिँचाइ आयोजनाहरूबाट उत्पादन हुने उनले जानकारी दिए । आर्थिक वर्ष ०६७०६८ मा सुरु भएको रानी, जमरा, कुलरिया सिँचाइ आयोजनाबाट ४.७१ मेगावाट बिजुली उत्पादन हुने बताइएको छ ।
रानीजमरा कर्णाली नदीको पानी कैलालीमा सिँचाइ गरिनेछ । सो आयोजनाको निर्माण पनि अन्तिम चरणमा पुगेको छ । आउँदो ३ महिनाम निर्माण सम्पन्न हुने रानीजमरा कुलरिया सिँचाइ आयोजनाका सूचना अधिकारी प्रेम लासिवाले बताए । उनकाअनुसार, हालसम्म जलविद्युतको निर्माण कार्य ८० प्रतिशत सम्पन्न भएको छ । उक्त आयोजना भारतीय कम्पनीले निर्माण गर्दै छ ।
सो आयोजनाको संशोधित लागत १ अर्ब ९१ करोड छ । त्यसमध्ये जलविद्युत उत्पादनको लागि करिब ९५ करोड रुपैयाँ रहेको सूचना अधिकारी लासिवाले जानकारी दिए ।
सिँचाइ आयोजना आर्थिक वर्ष ०८०/०८१ सम्ममा सम्पन्न हुने अपेक्षा गरिएको छ । रानी, जमरा, कुलरिया सिँचाइ आयोजनाबाट ३८ हजार ३०० हेक्टर जमिनमा वर्षैभरि सिँचाइ पुग्नेछ ।
त्यस्तै भेरी बबई बहुउद्देश्य आयोजनाबाट बाँके र बर्दिया जिल्लाको करिब ५१ हजार हेक्टर भूमिमा बाह्रै महिना सिँचाइ पग्नेछ । उक्त आयोजनाबाट पनि ४६.८ मेगावाट विद्युत् उत्पादन विभागका प्रवक्ता नेपाललले बताए ।
सो आयोजना आर्थिक ०६८/०६९ मा सुरु भई आव ०७९/०८० मा सम्पन्न हुने अपेक्षा गरिएको छ । आयोजनाबाट भेरी नदीको ४० घनमिटर प्रतिसेकेन्ड पानी ४.२ मिटर व्यास र १२.२ किमि लामो सुरुङबाट बबई नदीमा स्थानान्तरण गरी बाँके र बर्दिया जिल्लाको करिब ५१ हजार हेक्टर भूमिमा सिँचाइ सुविधा उपलब्ध हुनेछ ।
सो आयोजनाले करिब १५० मिटर हेडको सदुपयोग गर्दै नियमित रूपमा ४६.८ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको हो । आयोजनाको विद्युत उत्पादन संरचनाको निर्माण सुरु भइसकेको छ ।
राष्ट्रिय गौरवको सुनकोसी–मरिण डाइभर्सन बहुउद्देश्य आयोजनाबाट पनि ३१ मेगावाट विद्युत् उत्पादन हुने उनले बताए । साबिक बागमती सिँचाइ योजनाको सिञ्चित क्षेत्रसहित बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा जिल्लाका थप क्षेत्रमा कुल १ लाख २२ हजार हेक्टर जमिनमा वर्षैभरि भरपर्दो सिँचाइ सेवा उपलब्ध हुनेछ ।
आर्थिक वर्ष ०७६/०७७ मा सुरु भएको सो आयोजना ०८३०८४ सम्ममा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । सुनकोसी–मरिण बहुउद्देशीय परियोजनाले बिजुली बिक्रीबाट ३ अर्ब र सिँचाइको संरचनाबाट ७ अर्ब गरी कुल १० अर्ब रुपैयाँ आम्दानी गर्ने अनुमान गरिएको छ ।
पूर्वमा रहेको सुनसरी–मोरङ सिँचाइ आयोजनाबाट करिब ३ मेगावाट बिजुली उत्पादन हुँदैछ । सो आयोजनाबाट सुनसरी र मोरङको ६८ हजार हेक्टरमा सिँचाइ गरिँदै आएको छ । उक्त आयोजनाको मूल नहरको लम्बाइ ५३ किलोमिटर छ । यो पुरानो सिँचाइ आयोजना हो ।
गण्डक नहरबाट पनि करिब ७ मेगावाट बिजुली उत्पादन गर्ने तयारी छ । बारा एवं रौतहटको ३७ हजार ४०० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध गराई कृषि उत्पादकत्वमा अभिवृद्धि गर्न र त्यसबाट कृषकको जीवनस्तरमा परिवर्तन ल्याउने उद्देश्यले विसं २०३० जेठ २१ गते तत्कालीन प्रभानमन्त्री कीर्तिनिधि विष्टले गण्डक नहर उद्घाटन गरेका थिए ।
त्यसबाहेक कालीगण्डकी–तिनाउ डाइभर्सन आयोजनाबाट १२६ मेगावाट विद्युत उत्पादन हुने बताइएको छ । यद्यपि सो आयोजनाबाट विद्युत निर्माण कार्य सुरु नभएको कारण अहिले भनिएको १०० मेगावाट बिजुली उत्पादनभित्र कालीगण्डकी–तिनाउ डाइभर्सन आयोजना नपर्ने प्रवक्ता नेपाल बताउँछन् ।
उनले भने, ‘बिजुली उत्पादन कालीगण्डकी–तिनाउबाट पनि हुन्छ । त्यसको डीपीआर तयार भइसकेको छ । तर, काम सुरु हुन बाँकी हो । गण्डकी प्रदेशको विवादका कारण यो परियोजना अघि बढ्न सकेको छैन ।
कालीगण्डकीको पानी तिनाउ नदीमा खसालेर रूपन्देही र कपिलवस्तुका १ लाख हेक्टर जमिनमा सिँचाइ पुर्याउने तथा १२६ मेगावाट विद्युत निकाल्ने यो परियोजनाको लक्ष्य रहेको छ ।
सोअन्तर्गत विद्युत उत्पादनका लागि करिब ६४ अर्ब र सिँचाइ संरचना तथा सिञ्चित क्षेत्र विकासका लागि करिब ७४ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ । उक्त आयोजनाको उद्घाटन गत असार १२ गते तत्कालीन उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले गरेका थिए ।
चालू आर्थिक वर्षको बजेटमा सरकारले ५ वटा नदी पथान्तरण आयोजना अघि बढाउने भएको छ । यसका लागि पहिलो चरणमा विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार पार्ने काम सरु भएको छ । जसबाट सिँचाइ सुविधासँगै विद्युतसमेत उत्पादन हुनेछ ।
त्यसमध्ये तमोर–चिस्याङ, कालीगण्डकी–तिनाउ नदी पथान्तरण आयोजनाको डीपीआर तयार पार्ने भएको छ । उक्त आयोजनाबाट लाखौं हेक्टर जमिनमा सिँचाइका हुने बताइएको छ ।
त्यस्तै माडी–दाङ र पश्चिम सेती–कैलाली नदी पथान्तरण आयोजनाको डीपीआर तयार पार्न पनि बजेट विनियोजन गरिएको छ । यी सबै आयोजनाहरूबाट बिजुली उत्पादन हुनेछ ।
नौमुरे बहुउद्देशीय नदी पथान्तरण आयोजनाको डीपीआर आगामी वर्षदेखि तयार हुने भएको मन्त्रालयले जनाएको छ । आयोजनाको योजना मात्रै बनाइएकाले अहिले नै कति मेगावाट बिजुली उत्पादन हुन्छ भन्न नसकिने विभागका प्रवक्ता नेपालको भनाइ छ ।