विराटनगर । कोरोना कहरले सञ्चालन भएका होटलहरू पनि बन्द भइरहेको अवस्थामा विराटनगरका युवाहरू भने होटलमा नै आफ्नो भविष्य देखिरहेका छन् । युवाहरू होटल व्यवसायमा आकर्षित हुन थालेका छन् ।
विराटनगरका धर्मेश ताजपुरिया २३ वर्षका भए । आफ्नै बुबाले सञ्चालन गरेको फर्निचर उद्योगमा काम गर्दै आएका उनले तीन वर्षअघि होटल सञ्चालनको सोच बनाए । सानै भएका कारण व्यवसाय समाल्न नसक्ने भन्दै परिवारले उनलाई होटल सञ्चालन गर्न दिएन ।
२३ वर्षका ताजपुरियाले अब सक्छु भन्दै आँट गरे र परिवारले पनि सहयोग गर्यो । ४ महिनाअघि ७ लाख रुपैयाँ लगानीमा ‘माट्टीन क्याफे एण्ड बेकरी’ सञ्चालनमा ल्याए ।
बेकरी सञ्चालनमा ल्याएपछि उनले अनलाइन डेलिभरी सेवाको पनि सुरुवात गरे । उनको सोच पनि अनलाइनबाटै डेलिभरी गर्ने छ । ‘बेकरीमा भन्दा अनलाइन सर्भिस दिँदा फाइदा हुन्छ’, उनले भने, ‘अनलाइन सर्भिस दियो भने व्यवसायमा असर पनि पर्दैन ।’ बेकरीबाट १० जनालाई सेवा दिँदा अनलाइनबाट १०० जनालाई सेवा दिन सकिने उनले बताए ।
कोरोनाको समयमा पनि दैनिक ७ हजारसम्मको अनलाइन सर्भिस हुने गरेको उनले बताए । मःमः, चाउमिन, विर्यानीलगायत इन्डिएन आइटम र चाइनिज आइटमहरू बनाउने गरेको उनको भनाइ छ ।
कुनै पनि चुनौती कहिलेकाहीँ अवसरमा परिणत हुने ताजपुरियाको निश्कर्ष छ । ‘होटलबाट मात्र सेवा दिने हुँदा कहिलेकाहीँ समस्या हुन्छ’, उनले भने, ‘हामीले फरक किसिमले सेवा दिन सक्यो भने समस्या आउँदैन, कोरोनाका कारण धेरै होटलहरू बन्द भए, कारण हो भौतिक रूपमा सेवा दिनु, त्यसकारण हामीले अनलाई सेवालाई प्राथमिकतामा राखेका छौं ।’
अनलाइन सेवालाई विस्तार गर्ने उनको लक्ष्य छ । आगामी दिनमा तरकारी, फलफूलहरू पनि अनलाइनमार्फत बिक्री वितरण गर्ने उनले बताए । यसरी गर्दा व्यवसायमा समस्या नहुने उनको भनाइ छ । परम्परागत रूपमा भन्दा पनि फरक तरिकाले काम गर्न सकेमा व्यवसाय निरन्तर अगाडि बढाउन सकिने उनको बुझाइ छ ।
राजनीतिसँगै व्यवसायमा
अहिलेको राजनीतिक अवस्थाका कारण राजनीतिक भन्ने बित्तिकै युवा पुस्ताले नकारात्मक रूपमा लिने गरेका छन् । राजनीतिमा युवा पुस्ताको आकर्षण पनि घट्दो छ । राजनीतिक सँगसँगै व्यावसायिक पाटोलाई पनि अगाडि बढाउन सुरु गरेका छन् ।
विराटनगरमा राजनीतिक सँगसँगै पढाइलाई पनि अगाडि बढाइरहेका तीन जना युवाहरूले व्यावसायिक यात्रा पनि सुरु गरेका छन् । विराटनगरमा बीबीएस सकाएका निर्मल भण्डारी, सिभिल इन्जिनियरिङको ब्याचलर तेस्रो वर्षमा अध्ययनरत अमर मण्डल र कम्प्युटर इन्जिनियरिङ सकाएर बसेका शिवरतन शाहले विराटनगरको पोखरियामा संयुक्त रूपमा ‘बैठक हाउस’ सञ्चालनमा ल्याएका छन् ।
राजनीति सँगसँगै आर्थिक पाटो पनि बलियो बनाउनुपर्ने रहेछ भन्ने लागेर व्यवसाय सुरु गरेको ‘बैठक हाउस’ सञ्चालक निर्मल भण्डारीले बताए । तीन जना युवाहरूले संयुक्त रूपमा १५ लाख रुपैयाँ लगानीमा ‘बैठक हाउस’ सञ्चालनमा ल्याएका हुन । डेकोरेसनको काम अझै बाँकी रहेकाले लगानी लागत बढेर २० लाख रुपैयाँसम्म पुग्ने उनीहरूले बताएका छन् ।
बाहिरी जिल्लाबाट विराटनगरमा अध्ययन गर्न आएकाले राजनीतिक गरेर मात्रै हुँदैन भन्ने लागेर व्यवसायमा लागेको अर्का सञ्चालक अमर मण्डलले बताए । मंगलबारदेखि मात्र सञ्चालनमा आएको ‘बैठक हाउस’ अझै विस्तार गरिने उनले बताए । ‘अनलाइन डेलिभरि गर्ने लक्ष्य छ’, उनले भने, ‘अबको १५ दिनसम्ममा अनलाइन सर्भिसको सेवा शुभारम्भ गर्नेछौं ।’
अहिले सानो लगानीमा सुरु गरेको भए पनि पछि लगानी थप्ने र यसलाई एउटा ब्रान्डको रूपमा स्थापित गर्ने लक्ष्य रहेको अर्का सञ्चालक शिवरतन शाहले बताए । धेरै युवाहरू बेरोजगार भएको अवस्थामा अरूले गरिदिएनन् भन्दा पनि आफूले के गरे भनेर पनि सोच्नुपर्ने उनको भनाइ छ ।
‘राजनीतिक गरेर मात्रै हुँदैन, राजनीतिकसँगै आर्थिक पाटो पनि दरिलो हुनुपर्छ र रोजगारी पनि सिर्जना गर्न सक्नुपर्छ’, उनले भने, ‘युवाहरू सधंै नेताको पछि लाग्ने हो भने बेरोजगार युवाहरूको संख्या झन् बढ्दै जान्छ ।’ अब बेरोजगार युवाहरूको संख्या घटाउँदै जानुपर्ने र विदेशभन्दा स्वदेशमा नै केही गर्न सकिन्छ भनेर देखाउनुपर्ने शाहको भनाइ छ ।
आफूहरूले अहिले ४ जनालाई रोजगारी दिएको शाहले जानकारी दिए । अझै थप २ जनालाई रोजगारी दिने उनले बताए ।पछिल्लो समयमा व्यवसाय गर्ने युवाहरूको संख्या बढ्दै गएको छ ।
कृषि तथा विभिन्न व्यवसायमा युवाहरू सक्रिय हुन थालेका छन् । विदेशबाट फर्किएका युवाहरू पनि व्यवसायमा लगानी गर्न थालेका छन् । नयाँ आइडिया लिएर काम गर्ने युवाहरूलाई सरकार तथा निजी क्षेत्रले पनि सहयोग गरिरहेको छ ।