एजेन्सी । आगामी सन् २०३० सम्म विश्वभरका सडकहरुमा १४ करोड ५० लाख भन्दा धेरै विद्युतीय सवारी गुड्ने अनुमान गरिएको छ । एकातिर यी सवारीले कार्बन उत्सर्जनलाई घटाउने बताउँदै आइए पनि अर्कोतिर भने यसको ब्याट्रीले पर्यावरणमा दूरगामी र ठूलो खतरा निमत्याउने औल्याइएको छ।
एउटा अर्को अध्ययनले २०३० सम्म विश्वभर १ करोड २० लाख टन लिथियम आयन ब्याट्रीहरुको आयु सकिने देखाएको छ।अझ यी ब्याट्री निर्माणका लागि लिथियम बाहेक, कोबाल्ट र निकेल जस्ता खानीजन्य पदार्थ पनि आवश्यक पर्दछ । जसलाई उत्खनन गर्दा वातावरण, मौसम र मानव अधिकार सबैलाई प्रभाव पर्ने देखिन्छ । म्याद गुज्रिएपछि यी ब्याट्रीहरुले विद्युतीय फोहोरको थुप्रो बढाउने छ।
विद्युतीय सवारीले ल्याउन सक्ने यस्ता सम्भावित समस्याको हलबारे अहिलेदेखि नै दुरगामी योजनाहरु बनाउनुपर्ने विज्ञहरु सुझाव दिन्छन् । हाल विश्वभर धेरै कम्पनी र अनुसन्धान केन्द्रहरुले यस प्रकारको लिथियम आयन ब्याट्रीको व्यवस्थापनबारे अध्ययन र काम गर्न अर्बौं डलर खर्च गरिरहेका छन् । अधिकांशले ब्याट्रीको पुनःप्रयोगमा जोड दिएका छन् ।
तर वल्र्ड इकोनोमिक फोरको सर्कुलर इकोनोमी प्रोग्रामका प्रमुख जेम्स पेनिङटन भने ब्याट्री व्यवस्थापनको पहिलो विकल्प पुनःप्रयोगलाई नै बनाउनु उचित नहुने ठहर गर्छन्। पहिलो काम ती ब्याट्रीलाई नै दीर्घ र टिकाउ बनाउनमा जोड दिइनुपर्ने बताउँछन् ।
हाल विभिन्न कम्पनीहरुले आआफ्नोतर्फ विभिन्न परीक्षणहरु गरिरहेका छन् । ऊर्जा कम्पनी इनेल ग्रुपले हालै निसान लिफका आयू समाप्त भएका ९० ओटा ब्याट्रीलाई स्पेनको मेलिलास्थित आफ्नो ऊर्जा भण्डारन फेसिलिटीमा लगेर राखेको थियो। यो फेसिलिटी स्पेनको राष्ट्रिय ग्रिड भन्दा अलग्गै स्थानमा थियो।
यसैगरी वेलायतको ऊर्जा कम्पनी पावरभल्टले पनि रेनाल्टसँग साझेदारी गरी उसका आयु नाघेका ब्याट्रीहरुलाई होम एनर्जी स्टोरेज सिस्टममा आउटफिट गरेको थियो। यसरी सवारीमा आयू सकिएर दोस्रो चरणमा स्टेसनरी एनर्जी स्टोरेजमा उनीहरुले नयाँ जीवन पाउँछन् ।
जहाँ ती ब्याट्रीहरुको हानिकारक लिड एसिडलाई विस्थापन गरिन्छन्। ब्याट्रीहरुलाई सिधै खुल्ला ठाउँमा लगेर आगो लगाउँदा यसले हानिकारक न्युरोटक्जिन उत्पादन गर्ने जसले बालबालिकाको मस्तिष्क विकासमा क्षति पुर्याउने अनुसन्धानकर्ताहरु बताउँछन्।
जब ब्याट्रीको आयू पूर्णरुपमा सकिन्छ तब यसलाई रिसाइकल गर्नुपर्छ। अगस्टमा प्रकाशित एक रिपोर्टका अनुसार टेस्लाले पनि निभादास्थित आफ्नो गिगाफ्याक्ट्रीमा रिसाइकल केन्द्र निर्माण गर्दैछ। तर लिथियम आयन ब्याट्री कहिल्यै पनि रिसाइकलका लागि अनुकूल हुने गरी निर्माण गरिदैँन यसैले रिसाइकलिङमा लागेकाहरुको हकमा अप्ठ्यारो पर्ने गर्दछ।
(द गार्जेनको सहयोगमा)