काठमाडौं । पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेड दोस्रो जलविद्युत आयोजना निर्माणको काम अघि बढाएको छ । कम्पनीले ५७ मेगावाटको हिमचुली दोर्दी जलविद्युत आयोजना निर्माण गर्न लागेको हो ।
हिमचुली दोर्दी कोरिडोरकै सबैभन्दा ठूलो जलविद्युत आयोजना हो । कम्पनीले अहिले ५४ मेगावाट सुपरदोर्दी ‘ख’ जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यो आयोजनाको ८० प्रतिशत निर्माण पुरा भएको छ । हिमचुली बनेपछि जडित क्षमता १११ मेगावाट पुग्नेछ ।
कम्पनीलाई हिमचुली दोर्दी आयोजनाबाट बिजुली उत्पादन गर्न विद्युत विकास विभागले अनुमतिपत्र (लाइसेन्स) दिन लागेको छ । कम्पनीले विभागबाट ३५ दिनपछि हिमचुली आयोजनाको लाइसेन्स पाउनेछ ।
विभागबाट लाइसेन्स पाएपछि नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिदबिक्री सम्झौता (पीपीए) हुनेछ । पीपीए भएपछि आयोजना बनाउन लगानी जुटाउने काम सुरु हुने पिपुल्सका प्रवन्ध निर्देशक केशवबहादुर रायमाझीले बताए ।
नदीको वहावमा आधारित (रन अफ दी रिभर) आयोजनाबाट वार्षिक ३३ करोड ५० लाख ४० हजार युनिट बिजुली उत्पादन हुने संभाव्यता अध्ययनले देखाएको छ । आयोजना २०८४ सालमा सक्ने लक्ष्य लिइएको छ । आयोजनामा दुइटा भर्टिकल पेल्टन टवाईन जडान हुनेछ ।
आयोजना गण्डकी प्रदेशको लम्जुङ जिल्लाको दोर्दी गाउँपालिका भएर बग्ने दोर्दीखोलाको पानीलाई उपयोग गरेर विद्युत उत्पादन हुनेछ ।
आयोजनाबाट उत्पादन हुने बिजुली लम्जुङको कीर्तिपुरमा निर्मित एनर्र्र्ईए दोर्दी सवस्टेशनमाफर्त केन्द्रीय प्रणालीमा जोडिनेछ ।
गत असार १ गतेको दोर्दीखोलामा आएको बाढीले सुपर दोर्दीको बाँधमा क्षति पुर्याएको छ । अन्य संरचनाहरु भूमिगत भएकाले क्षति नपुगेको कम्पनीका प्रवन्ध निर्देशक रायमाझीले बताए । उनले खोलामा पानीको वहाव कम भएपछि क्षतिको यकिन हुने बताए । बाँधमा भएको क्षतिले आयोजना १ वर्ष पछि धकेलिएको उनले जानकारी दिए ।
आयोजनाको ८० प्रतिशत काम पुरा भइसकेको छ । आयोजनाबाट आगामी पुससम्म बिजुली उत्पादनको लक्ष्य लिएकोमा प्रभावित हुन पुगेको छ । आयोजना लमजुङको दोर्दी गाउँपालिका ६ ढोडेनीमा निर्माण भइरहेको छ ।
सुपरदोर्दी यसअघि आउँदो भदौसम्म निर्माण सम्पन्न भई बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिने लक्ष्य लिएकोमा सरेर पुुसमा पुगेको थियो । आयोजनाको १०.३ किलोमिटर लामो सुरुङ रहेको छ ।
कोरोना बाढी र कोरोना महामारीले आयोजनाको काममा ढिलाइ भएको छ । यसअघि ४९.६ मेगावाटमा आयोजनाको डिजाइन गरिएको थियो । पछि क्षमता बढाएर ५४ मेगावाट पुर्याइएको हो । आयोजना बनाउन ८ अर्ब ८० करोड रुपैयाँ अनुमानित लागत रहेको छ ।
आयोजनामा सानिमा बैंकको अगुवाइमा नौ बैंकले ऋण लगानी गरेका छन् । ७० प्रतिशत ऋण लगानी र बाँकी प्रवद्र्धकको लगानीमा निर्माण हुँदै आएको छ । बैंकको ५ अर्ब ८० करोड रुपैयाँ ऋण लगानी रहेको छ । बाँकी ३ अर्ब रुपैयाँ संस्थापकको लगानी छ ।
२०७१ मा विद्युत प्राधिकरणसंग विद्युत खरिद सम्झौता (पीपीए) गरी २०७२ असोजबाट आयोजनाको निर्माण थालनी भएको थियो ।
आयोजनामा प्रभावित क्षेत्रका जिल्लाबासीको २७ करोड रुपैयाँ लगानी छ ।
आयोजनाले सुक्खायाममा ८ रुपैयाँ ४० पैसा र वर्खायाममा ४ रुपैयाँ ८० पैसामा पीपीए भएको छ । आयोजनाको बाँध र सुरुङ निर्माणको काम बज्रगुरु कन्स्ट्रक्सन, मुख्य सुरुङ बीपी कन्स्ट्रक्सन र विद्युतगृह हाई हिमालय हाइड्रो कन्स्ट्रक्सन प्रालिले काम गरिरहेका छन । आयोजना निर्माण भएपछि उत्पादित विद्युत लम्जुङको कीर्तिपुर सबस्टेसनमा जोडिनेछ ।