काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले मोवाइल सेवा प्रदायक एनसेल आजियाटा लिमिटेडलाई कारबाही गरेको छ । एनसेलले स्वीकृतिबिनै विभिन्न सेवा तथा प्याकहरू स्वतः नवीकरण गरेको पाइएपछि प्राधिकरणले कम्पनीलाई कारबाहीस्वरूप नगद जरिवाना गरेको हो ।
बिनाजानकारी ग्राहकबाट विभिन्न प्याकमा उठाएको १ अर्ब ११ करोड २९ लाख ७६ हजार ८४९ रुपैयाँ बराबरको रकम तीन महिनाभित्र सम्बन्धित ग्राहकको मोबाइल नम्बरमा फिर्ता पठाउन निर्देशन दिइएको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिए ।
उनका अनुसार एनसेलले ग्राहकको मञ्जुरीबिनै गेमलफ्ट, ह्वावे एप ग्यालरीजस्ता भ्यालु एडेड सेवा तथा प्याकहरू अटो रिन्यू (नवीकरण) हुने गरी सञ्चालन गरेको र यसबाट आफूहरूसमेत ठगिन पुगेको भनी विभिन्न माध्यमबाट प्राधिकरणमा उपभोक्ताहरूले गुनासो गरेका थिए ।
सोही गुनासोका आधारमा प्राधिकरणले एक निरीक्षण समिति बनाएर अध्ययन गरेको थियो । अध्ययनका क्रममा सोही गल्ती गरेको पाइएपछि ग्राहकबाट उठाएको रकम फिर्ता गर्न निर्देशन दिइएको हो ।
गेमलफ्ट नामको भ्यास सेवाअन्तर्गत तीन दिन रिन्यू र साप्ताहिक रिन्यूका प्याकहरू २०७५ असोज १५ गतेदेखि २०७७ सालको जेठ १८ गतेसम्म सो सेवा सञ्चालन गरी ११ करोड ३७ लाख ४८ हजार ९८६ रुपैयाँ आर्जन गरेको थियो ।
यस्तै, ह्वावे एप ग्यालरी नामबाट २०७५ असोज १५ गतेदेखि २०७७ साल जेठ १८ गतेसम्म अटो रिन्यू हुने गरी ९९ करोड ९२ लाख १८ हजार ८६३ रुपैयाँ आर्जन गरेको थियो ।
विसं २०७५ असोज १५ गतेको पत्रमार्फत सो कम्पनीबाट सञ्चालित भ्यासअन्तर्गतका सेवाहरू अटो रिन्यू हुने गरेको पाइएको भन्दै प्राधिकरणले सो सेवा तत्काल बन्द गर्न दिइएको निर्देशन किन पालना नगरेको र यसरी प्राधिकरणको निर्देशन पालना नगरेकाले दूरसञ्चार ऐनअनुसार किन कारबाही नगर्ने भनी पुनः २०७८ को असार १७ गते स्पष्टीकरण सोधेको थियो ।
यस्तैगरी प्राधिकरणले अटो रिन्यू उक्त कार्य दूरसञ्चार ऐन २०५३ विपरीत रहेको भन्दै कानुनबमोजिम ५० हजार रुपैयाँ जरिवानासमेत गरेको छ । विसं २०७७ जेठ १८ गतेदेखि हालसम्म प्रत्येक ग्राहकबाट के कति आय आर्जन भएको छ, सोको विवरण १५ दिनभित्र पेस गर्नसमेत निर्देशन दिएको छ ।
रासस