विराटनगर । युवाहरूलाई व्यवसायमा आकर्षित गर्ने उद्देश्यले विराटनगरका युवा व्यवसायीहरूलाई क्षमता अभिवृद्धि तालिम दिइएको छ ।
विभिन्न उद्योग÷प्रतिष्ठानका सञ्चालक र व्यवस्थापकहरूको व्यवस्थापकीय क्षमता अभिवृद्धि गर्ने उद्देश्यले उद्योग संगठन मोरङको आयोजना तथा नेपाली युवा उद्यमी मञ्च, विराटनगर च्याप्टरको सहयकार्यमा संकटको समयमा व्यापारको पुनःरणनीतीकरण विषयक उत्प्रेरणामूलक कार्यक्रम सञचालन गरिएको हो ।
कार्यक्रममा संगठनका अध्यक्ष सुयश प्याकुरेलले विश्वव्यवापी महामारीले सिर्जना गरेको आर्थिक संकटले सबै क्षेत्रलाई निराश बनाएको समयमा उद्योगी व्यवसायीले आफनो व्यवस्थापकीय क्षमतालाई अभिवृद्धि गर्दै दीर्घकालिन रणनीति तर्जुमा गर्नुपर्ने बताए । संगठनद्वारा आयोजित फरक धारको यस कार्यक्रमका माध्यमबाट उद्योगी व्यवसायीहरूलाई उत्प्रेरणा मिल्ने विश्वास व्यक्त उनको छ ।
कार्यक्रमका संगठनका कार्यसमिति सदस्य सौरभ सारडाले आर्थिक विकासका शुत्रधारका रूपमा रहेका उद्योगीहरूले वर्तमान समयमा सामना गर्नुपरिरहेको आन्तरिक र वाह्रय चुनौतीलाई मध्यनजर गरी आयोजना गरेको यस कार्यक्रमले उद्योगीहरूलाई आगामी दिनमा आफ्नो कार्यदिशा, योजना र रणनीति विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
फेक्ट नेपालका कार्यकारी निर्देशक मनिष झाले कोरोना महामारीले विश्वविख्यात मल्टिनेसनल कम्पनीहरूलाई समेत आफ्नो व्यावसायिक रणनीतिलाई पुनः समीक्षा गर्दै उद्योगीहरूले अवका दिनमा एक व्यावसायिक योजनामा मात्र सीमित नभई अन्य विकल्पलाई समेत आत्मसात गर्नुपर्ने बताए ।
कार्यक्रममा स्रोत व्यक्ति साउथ एसिया सोसाइटी अफ एन्टरप्रेनर्स एडुकेटर्सका अध्यक्ष आशुतोष तिवारीले उद्योगीहरूले सकारात्मक सोचका साथ नया दृष्टिकोणबाट आगामी दिनमा गुणस्तरीयतालाई ध्यानमा राखी आक्रामक बजारीकरणको माध्यमबाट खर्च न्यूनीकरण गर्दै प्रतिस्पर्धात्मक क्षमता वृद्धि गर्नुपर्ने उपायहरूका सम्वन्धमा प्रस्तुति गरेका थिए ।
कार्यक्रममा नेपाल उद्योग परिसंघ, प्रदेश नं. १ का अध्यक्ष भीम घिमिरे, नेपाल युवा उद्यमी मञ्च विराटनगर च्याप्टरका अध्यक्ष युनेशराज श्रेष्ठले उद्योगीहरूलाई लक्षित गरी आयोजना गरिएको यस कार्यक्रमले सबैलाई आगामी कार्यदिशा तय गर्न ऊर्जा प्राप्त भएको धारणा राखेका थिए ।