टोकियो, एएफपी । विश्वव्यापी चिप्स (पूर्जा) अभावले आपूर्ति व्यवस्थामा असर पर्ने भएकोले सेप्टेम्बरमहिनामा टोयोटाले कार उत्पादनलाई ४० प्रतिशतले कटौती गर्ने जापानको निकी दैनिकले बिहीबार जनाएको छ ।
विश्वकै विशाल कार निर्माण कम्पनीले आगामी महिना करिब नौ लाख गाडी उत्पादन गर्ने योजना बनाएकोमा यसलाई घटाई लगभग पाँच हजारमा संशोधन गरिएको निकीले बताएको छ । यद्यपि निकीले यो भनाइ पुष्टि गर्न कुनै आधिकारिक स्रोतलाई उद्धृत गरेको भने छैन ।
निकीका अनुसार दक्षिणपूर्वी एसियामा कोरोनाभाइरसको ‘डेल्टा भेरियन्ट’को सङ्क्रमण बिस्तारले टोयोटाका केही पूर्जाको खरीदमा पनि असर गरेको छ । टोयोटाले यस समाचारलाई लिएर तुरुन्तै कुनै प्रतिक्रिया जनाएको छैन ।
पूर्जा अभावका कारण जापानी विशाल मोटर्स कम्पनीका प्रतिद्वन्द्वी पनि उत्पादनलाई ढिलो वा अस्थायीरूपमा रोक्न बाध्य भएका बताइएको छ । आधुनिक कारको इलेक्ट्रोनिक्स प्रणालीको लागि माइक्रोचिप अत्यावश्यक छ । यसको गत वर्षको अन्त्यदेखि अभाव भएको छ ।
महामारीको कारण कार निर्माताले कारको माग आदेशलाई पछि धकेलेको बताएका छन् । चिप निर्माताले उत्पादन उपभोक्तालाई इलेक्ट्रोनिक्समा सारेका छन् किनभने मानिसले घरमा काम गर्न र आराम गर्न उपकरणको आवश्यक हुन्छ ।
महामारीका कारण कामदारको अभाव र चीन–अमेरिका व्यापार विवादको प्रभावलगायतका कारणले उत्पादन कमी भएको तर सवारीसाधनको माग भने बढेको कार निर्माण कम्पनीले बताएका छन् ।
आगामी महिनाको शुरुदेखि टोयोटाले विभिन्न जापानी कारखानामा सञ्चालन निलम्बन गर्नेछ । उत्तर अमेरिका, चीन र युरोपमा आफ्ना गाडीको मागलाई पछि धकेल्ने सोचमा टोयोटा रहेको निकीले बतायो ।
चिप्स अभाव र अन्य भाइरसजन्य आपूर्तिसमस्याले टोयोटाका जापानी कारखानामा धेरै पटक छोटो अवधिका लागि उत्पादन कार्यलाई रोकिसकिएको छ ।
कम्पनीले यस महिनाको सुरुतिर सार्वजनिक तथ्याङ्कमा पहिलो त्रैमासिकमा खुद मुनाफा बढेका जनाएको छ र यसको कारक कोभिड–१९ सङ्क्रमणको विश्वव्यापी सङ्क्रमण दरमा आएको कमीलाई मानेको छ ।निकीका अनुसार बिहीबार टोयोटाको सेयर ४.४२ प्रतिशत घटेर नौ हजार २९५ पुगेको छ ।