काठमाडौं । व्यावसायिक घरना भुसाल ग्रुपले भैरहवामा पाँचतारे होटल ‘मेगा’ सञ्चालनमा ल्याउने भएको छ । निर्माणको अन्तिम चरणमा पुगेको सो होटल आगामी वर्षभित्रमा सञ्चालनमा आउने गरी काम भइरहेको छ ।
भैरहवाको बेलैयामा निर्माण भइरहेको सो होटलको सुरुवाती लागत १ अर्ब २० करोड रुपैयाँ रहे पनि कोरोना भाइरस महामारीका कारण समयअवधि र लागत बढेर १ अर्ब ५० करोड रुपैयाँ पुगेको छ ।
साढे २ बिघा क्षेत्रफलमा फैलिएको सो होटल एट (८) सेपमा निर्माण भइरहेको छ । यो नेपालकै नमुना र पहिलो विल्डिङ हो । विल्डिङ मात्र होइन, त्यसभित्र रहेका कोठाहरु पनि गोलो आकारमा तयार भइरहेको छ ।
पाँचतारे होटलको भिडमा नयाँ र पृथक खालको सञ्चालन गर्ने सोचका साथ भुसाल ग्रुपले निर्माण गरिरहेको सो होटलमा ११७ वटा कोठा छन् । एउटा प्रेसिडेन्टल रुमसहित १६ वटा स्विट र बाँकी डिलक्स खालका रुम रहनेछ । होटलमा क्यासिनो मात्रै ११ हजार वर्गफिट क्षेत्रफलमा फैलिएको हुनेछ ।
भुसाल ग्रुपका अध्यक्ष बालकृष्ण भुसालले फरक सेवा, सुविधा दिने र नेपालमा भवनको नै नयाँ संरचना निर्माण गरेर होटल बनाइरहेको बताए । ‘अहिले कोभिडले काममा केही अवरोध भए पनि आगामी वर्षभित्र सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ,’ उनले भने ।
होटलमा ३ वटा रेष्टुराँ, ८५० जना अट्ने क्षमताको बैंङ्क्युट हल, २ वटा मिटिङ हल, स्पा, स्वीमिङ पुल, स्पोर्टस सेन्टर रहनेछ । गु्रपले भैरहवासँगै बुटवलमा पनि चारतारे होटल मेगा निर्माण गरिरहेको छ ।
ग्रुपले पाँचतारे मेगा होटलका लागि अन्तर्राष्ट्रिय ब्रान्डको फ्रेन्चाइच ल्याउने तयारीसमेत गरेको छ । ग्रुपले फ्रेन्चाइचका लागि ¥याडिसन, हिल्टन र म्यारियटसँग छलफल गरिरहेको भुसालले बताए ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट २० मिनेटको ड्राइभ र नेपाल भारतको सीमा सुनौलीको नजिकमा रहेकाले मेघा होटल विदेशी पर्यटकका लागि सहज र आकर्षण हुने अपेक्षा गु्रपले गरेको छ ।
ट्रेडिङ बिजनेसबाट उदाएको भुसाल ग्रुपले गत वर्ष १ अर्ब रुपैयाँ लगानीमा विशाल सिमेन्ट खरिद गरेको थियो । भुसाल गु्रपले पछिल्लो समय उद्योग र पर्यटन क्षेत्रमा लगानी विस्तार गरिरहेको छ ।
ग्रुपले हेभी इक्विपमेन्ट, ट्राभल एजेन्सी, एजुकेसन कन्सल्टेन्सी, केवल उद्योग, प्लाइ उद्योगमा लगानी रहेको छ । त्यस्तै वित्तीय क्षेत्रतर्फ मेगा बैंक र साइन रेसुंगा बैंकमा पनि लगानी छ ।