काठमाडौं । आज हामीले अत्याधुनिक स्मार्टफोनहरूको प्रयोग गरिरहेका छौं । एक दशक अघिसम्म हामी सामान्य किप्याड बार फोन प्रयोग गथ्र्यौं । आज हजार रुपैयाँभन्दा धेरै मूल्य नपर्ने ती किप्याड बारफोन केही वर्षअघि निकै महँगा थिए ।
तर, स्मार्टफोनको चलन सुरु भएसँगै कुनै समयको चर्चित बारफोन ब्राण्डहरू एकाएक हराएर गए । बारफोनको चलन हराएसँगै केही ओझेलमा परेका यी ब्राण्डलाई, स्मार्टफोनको फ्लेगसिप मोडल लन्च गर्दै सामसङ, एप्पल, साओमी, ह्वावे, भिभो जस्ता विभिन्न ब्राण्डहरूले टेकओभर नै गरिदिए ।
नोकिया, मोटोरोला, ब्ल्याकबेरी, एचटीसी, सोनी इरिक्सन, इन्टेक्स फोन, कलर्स र म्याक्रोम्याक्स जस्ता लोकप्रिय एक दर्जन ब्राण्डहरूका बारेमा पछिल्लो स्मार्टफोन पुस्ताले त सायद सुनेका पनि छैनन् होला । आज हामी कुनै बेलाका यी नामुद ब्राण्डहरूको अवस्थाबारे चर्चा गरेका छौं ।
नोकिया
नोकिया भन्ने बित्तिकै विश्वले फोन र दूरसञ्चारको पर्यायका रूपमा लिने गर्छ । आज विश्वको मोबाइल बजारमा सामसङ, एप्पल र साओमी जति लोकप्रिय छन् । डेढ दशकअघि त्यो बजारमा नोकियाको शक्तिशाली एकाधिकार स्थापित थियो ।
१८६५ मा फिनल्याण्डमा स्थापना भएको नोकिया कम्पनीले १९८७ मा आफ्नो पहिलो किप्याड बार ह्याण्डसेट फोन सार्वजनिक गरेको थियो । त्यस समयको ग्लोबल जाइन्ट नोकिया व्यवस्थापनको ठूलो गद्दारीका कारण एकाएक हराउनु परेको थियो ।
२०१० मा नोकियाको नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) बनेका स्टिफन इलोपका कारण नोकिया अधोगतितिर लागेको बताइन्छ ।नोकियामा प्रवेश गर्न अघि उनी माइक्रोसफ्टका इन्टरनल बिजनेस हेड थिए । नोकियालाई माइक्रोसफ्टको स्वामित्वमा ल्याउने उदेश्यका साथ प्रवेश गरेका स्टिफन इलोपले नोकियालाई नियतवश कमजोर बनाउन मुख्य भूमिका निर्वाह गरेका थिए ।
२०१० मा नोकियाको नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) बनेका स्टिफन इलोपका कारण नोकिया अधोगतितिर लागेको बताइन्छ ।नोकियामा प्रवेश गर्न अघि उनी माइक्रोसफ्टका इन्टरनल बिजनेस हेड थिए । नोकियालाई माइक्रोसफ्टको स्वामित्वमा ल्याउने उदेश्यका साथ प्रवेश गरेका स्टिफन इलोपले नोकियालाई नियतवश कमजोर बनाउन मुख्य भूमिका निर्वाह गरेका थिए ।
विश्व मोबाइल बजार बारफोनबाट स्मार्टफोन तिर आउँदै गर्दा, कम्पनीहरू धमाधम एन्ड्रोइडको अपरेटिङ सिस्टमतिर आइरहेका थिए । तर, नोकिया आफ्नै असफल सिम्बियन ओएसमा अड्किरहेको थियो ।
विकल्पमा उसको आफ्नो मिगो ओएस पनि थियो जुन प्रयोग गरी सार्वजनिक भएको एउटा फोनले त्यसबेला निकै उचाइ पनि समातेको थियो । त्यसको उचित प्रयोगले नोकियालाई अद्भूत गति दिने पनि बताइएको थियो ।
नोकियासँग सिम्बियन छाडेर त्यो बेला एन्ड्रोइड वा मिगोमा जाने मात्र विकल्प थिए । तर, स्टिफनले नियतवश नोकियालाई कमजोर बनाउन सिम्बियनमै अड्काएर राखेका थिए । त्यसपछि कमजोर बनेको नोकियालाई माथि उठाउनको सट्टा स्टिफनले ५० अर्ब डलरको नोकियालाई मात्र ७ अर्ब डलरमा २०१३ मा माइक्रोसफ्टलाई बेचिदिएका थिए ।
तर, माइक्रोसफ्टले नोकियाको नामलाई नै मेटाएर माइक्रोसफ्टको नामबाट ब्राण्डिङ गरी आफ्नै ओएस राखेर एसियाको स–साना विकासशील बजारमा फिचर फोन लिएर जाने योजना लियो । त्यो क्षेत्रमा अगाडि नै ह्वावे, सामसङ र साओमी जस्ता कम्पनीले उसको फिचरकै मूल्यमा स्मार्टफोन लिएर आएपछि माइक्रोसफ्टको बजार लिने सपनामा तुषारापात लाग्यो ।
सन् ०१२/०१३ तिर आइपुग्दा विश्वभर एप्पलको आईओएस र एन्ड्रोइडको वर्चस्व कायम भइसकेको थियो । यी दुई ओएसले सबै एपहरूलाई आफ्नो इकोसिस्टममा ल्याइरहेको थियो तर माइक्रोसफ्टको ओएस भने निष्क्रिय र कमजोर बन्दै गइरहेको थियो ।
जब स्टिभ बामरपछि माइक्रोसफ्टको सीईओमा सत्य नाडेला आए तब उनले त्यो अधिग्रहणलाई मूर्खता ठहर गरी नोकियालाई पुनः एचएमडी ग्लोबललाई सुम्पिदिए । एचएमडी ग्लोबल २०१६ मा नोकियाकै पुराना कर्मचारीहरूले मिलेर बनाएको कम्पनी हो ।
उनीहरूले मिलेर सत्य नाडेलासँग आग्रह गरी नोकियालाई पुनः आफ्नै स्वामित्वमा लिएका थिए । त्यसपछि नोकिया एन्ड्रोइडमा प्रवेश गर्यो । आजको समयमा नोकियाको सेल्स, मार्केटिङ तथा ब्राण्डिङ एचएमडी ग्लोबलले गर्छ तर नोकिया फोनको नाममा फोन निर्माण फोक्सकनले गर्छ ।
कम जोखिम मोडलमा काम गरिरहेको एचएमडी ग्लोबल हाल न्यून मूल्यको फोनमा केन्द्रित छ । उसले हाल १५ देखि २५ हजार रुपैयाँसम्मको फोन बनाइरहेको थियो ।
आईडीसीको रिपोर्टअनुसार एचएमडी ग्लोबलले २०१७ को तेस्रो त्रैमासिकमा २ करोड १० लाख सेट फोन बिक्री गरेको रेकर्ड छ । नोकियाको पुरानो ब्राण्ड भ्याल्यु र विश्वसनियताले आज पनि काम गरिरहेको छ किनभने एचएमडी ग्लोबलले आफ्नो पुरानो गल्तीलाई सुधार्दै लगिरहेको छ ।
२०२१ मा पनि नोकियाले आफ्नो आकर्षक स्मार्टफोनहरू नोकिया नाइन प्योरभ्यु, नोकिया ८.३ फाइभजी, नोकिया ६.१, नोकिया ७.२, नोकिया ७ प्लस, नोकिया ८.१, नोकिया ५.३, नोकिया ८ जस्ता फोनहरू ल्याएको छ ।
मोटोरोला
मोटोरोला पनि नोकिया जस्तै कुनै समयको विख्यात बार तथा फिचर फोन निर्माणकर्ता कम्पनी हो । यो कम्पनी २५ सेप्टेम्बर १९२८ मा अमेरिकामा स्थापना भएको थियो । विश्वको पहिलो वक्की टक्की बनाएको मोटोरोलाकै रेडिया प्रविधिलाई नेल आम्सट्रङले चन्द्रमामा जाँदा प्रयोग गरेका थिए । विश्वको पहिलो जीएसएम ह्याण्डसेट, सेलुलर फोन तथा विभिन्न नवीन वायरलेस तथा फोन प्रविधिमा काम गरेको थियो मोटोरोलाले ।
तर, हामीले मोटोरोलालाई नजिकबाट चिन्ने आधार भनेको केही दशकअघि हामीले प्रयोग गरेका उसका बार तथा फोन नै हो । तर, १९९८ तिर आइपुग्दा कम्पनीलाई नोकियाले विस्तारै ओभरटेक गर्न थाल्यो र उ पछाडि पर्न थाल्यो । २००७ देखि २००९ को बीचमा मोटोरोलाको कुल घाटा करिब ४ अर्ब ३० करोड डलरको नजिक थियो ।
त्यसैले मोटोरोला कम्पनीलाई दुई भागमा विभाजन गरी मोटोरोला सोल्युसन र मोटोरोला मोबिलिटीमा विभाजन गरियो । मोटोरोला मोबिलिटीले कम्पनीको फोन निर्माणको जिम्मा सम्हालेको थियो । पछि २०१२ मा गुगलले मोटोरोलालाई १२ अर्ब ५० करोड डलरमा अधिग्रहण गर्यो ।
तर, दुई वर्ष लगत्तै गुगलले मोटोरोलालाई चिनियाँ कम्पनी लेनोभोलाई २ अर्ब ९१ करोड डलरमा बिक्री गरिदियो । तर, त्यो समय पनि मोटोरोलाको मोटो जी र मोटो ईको बजारमा केही लोकप्रियता थियो । त्यसपछि मोटोरोलाले आफ्ना एकाध फोनहरू सार्वजनिक गरे तर ती फोनहरू खासै सफल हुन सकेनन् ।
मोटोरोलाले पनि नोकियाकै जस्तो दुर्भाग्य बेहोर्नु पर्यो । हार्र्डवेयरका लागि चर्चित मोटोरोलाले सफ्टवेयरतिरको विस्तार गइरहेको विश्वको झुकाव बुझेर काम गर्न नसक्दा त्यस्तो दुर्गति बेहोर्न पर्यो ।
तर, डिजाइनमा मोटोरोलाले सम्झौता गरिरहेको थिएन विभिन्न स्लाइडर तथा क्लामसेल डिजाइनका फोनहरू बजारमा ल्याइरहेको थियो । तर, सफ्टवेयरमा ध्यान दिन थालेन । त्यसपछि पछाडि परेको मोटोरोला खासै कम्प्याक गर्न सकेन ।
सही समयमा सही अन्वेषण नगर्दा पनि मोटोरोला पछि परेको थियो । उसले विकास गरेको क्लामसेल डिजाइनयुक्त मोटो राजर निकै चर्चित बनेको थियो । तर, उसले समयअनुसार फोनलाई नवप्रवर्तित गर्नको सट्टा मूल्य घटाएर मात्र बेच्ने काम गरिरह्यो । विश्वबजारमा नगई अमेरिकी बजारमा मात्र केन्द्रित हुनु पनि उसको गल्ती थियो ।
मोबाइल विश्व बजारको अमेरिकादेखि चीन र भारतमा सरेर गयो तर ती बजारमा मोटोरोलाले कहिल्यै वृद्धि हासिल गर्न सकेन । जब उसले गर्न प्रयास गर्यो । तब ढिलो भइसकेको थिएन । विश्वको नवप्रवर्तनको गतिसँग मोटोरोला कहिल्यै हिँड्न सकेन ।
सामसङ जस्ता फोनहरू गुगलको एन्ड्रोइड सफ्टवेयर सेवा लिएर फिचर र हार्डवेयरमा केन्द्रित भएर बजारको गति पकड्न सफल भए । तर, मोटोरोला न त गुगलको सेवा प्रयोग गर्यो न त आफ्नै गतिलो सफ्टवेयर बनाउन सक्यो । यसरी एकपटक पछाडि परे पछि उ सधैं पछाडि नै परिरह्यो ।
गुगलको स्वामित्वमा हुँदा मोटोरोलाले मोटो जी नामको राम्रो फोन पनि लिएको थियो । तर, गुगलको पुरानो बानी अरूको प्याटेन्ट खरिद गरी पछि छाडीदिने बानीले उसले लेनोभोलाई बेच्यो । लेनोभो पनि मोटोरोलाको आकर्षक ब्राण्डिङमा लोभिएर अमेरिकी बजार छिर्ने योजना लियो । यसका लागि उसले लेनोभोबाट मिडरेन्जको फोन र मोटोरोलाबाट हाई एण्ड प्रिमियम बनाउने सोच लिएको थियो ।
तर, उसको दुवै फोन एकअर्कोभन्दा मूल्य फिचर केहीमा पनि खासै फरक नभएपछि एकआपसबीच नै प्रतिस्पर्धामा देखिन थाल्यो । तब साओमी जस्ता फोनहरू आउन थालेपछि त मोटोरोला पूरै पछाडि पर्यो । ती ब्राण्डहरू यति चाँडो–चाँडो यति धेरै अपडेटेड भर्सन र सस्तो मूल्यमा फोन बिकाउन थाले । मोटोरोलाको ब्राण्ड भ्याल्लुले मात्र उसलाई बिकाउन सक्छ छाड्यो । लेनोभो त डुब्यो सँगै मोटोरोलालाई पनि लिएर डुब्यो ।
हालै मोटोरोलाले मोटो रेजर नामको फोन सार्वजनिक गर्यो । तर, उच्च मूल्य र खासै राम्रो रिभ्यू नपाएको यो फोनले आगामी दिनमा कस्तो गति लिन्छ हेर्न बाँकी छ । यद्यपि लेनोभोले भने मोटोरोलामा हार मानेको छैन ।
एचटीसी
१९९७ मा ताइवानमा स्थापना भएको एचटीसी अर्थात् हाइटेक कर्पोरेशन कुनै बेलाको निकै लोकप्रिय एन्ड्रोइड किप्याड फोन थियो । तर, अहिले एचटीसीको फोन देख्न पनि पाइँदैन ।
कम्पनीको विण्डो फोन पनि निकै लोकप्रिय बनेको थियो । पछि उसले एन्ड्रोइडमा पनि काम गर्न थाल्यो । एन्ड्रोइडमा उसले बनाएको पहिलो फोन एचटीसी ड्रिम त एकदमै धेरै चर्चित फोन बनेको थियो ।
जब एचटीसीको फोन चर्चित हुन थाल्यो तब नोकिया र ब्ल्याकबेरीको बजार सेयर पनि तल आउन थाल्यो । हार्डवेयरका लागि लोकप्रिय एचटीसीले आफ्नो नामबाट मेनुफेक्चरको काम पनि गर्दथ्यो । उसले गुगलको नेक्सस फोनका केही मोडलसमेत निर्माण गरेको थियो ।
तर, अक्टोबर २०१३ देखि उसको अद्योगति सुरु भयो । २०१७ सेप्टेम्बरमा गुगलले एचटीसीको आधा कर्मचारीलाई आफ्नोतिर तान्यो जसले गुगलको फोन निर्माणका काम गरेका थिए । साथै १ अर्ब १० करोड डलरका लागि धेरै स्मार्टफोनसम्बन्धी लाइसेन्सको डिल पनि उसले गर्यो । तर, २०१८ सम्म आइपुग्दा उसको बजार हिस्सा शून्य नै थियो ।
सफ्टवेयरतिर समयमै ढल्किएको, नवीन प्रविधि र बलियो हार्डवेयर फोन किन अधोगति तिर गयो ? भन्ने प्रश्न सबैको मनमा छ । यसको मुख्य कारण भनेको एचटीसी फोनको उच्च मूल्य । फोनमा धेरै नयाँ फिचर ल्याए पनि मूल्य धेरै महँगो, सस्तो मोडल नै हुन्न थियो । यसै कमजोरीको फाइदा सामसङले उठायो । उसले महँगो प्रिमियम फोन त बनाउँथ्यो साथै सस्तो राम्रो फोन पनि बनाउन थाल्यो । सस्तो फोन अत्याधिक बिक्न थाल्यो ।
तर, एचटीसी सधै उत्कृष्ट फोन र उच्च मूल्य अड्कीरह्यो । त्यसबीच चीनमा धेरै लोअर एण्ड फोनहरू आउन थाले । साओमी, भिभो, ओप्पोले त लोअर एण्ड मार्केटमा पूरै वर्चस्व कायम गर्न थाल्यो ।
बेकार मार्केटिङ पनि उसको असफलताको मुख्य कारण थियो । उत्कृष्ट फोन बनाए पनि मार्केटिङमा कहिल्यै फोकस गर्न सकेन । त्यो समय सामसङ एक त्रैमासिकमा करिब २ अर्ब ५० करोड डलर मार्केटिङमा खर्च गर्दै थियो भने एचटीसी मात्र त्यसको ५ प्रतिशत १३ करोड डलर खर्च गरिरहेको थियो ।
फोनको नाम पनि एकदमै दुविधाजनक थियो । फोन राम्रो बनाउन बाहेक कम्पनीको अन्य कतै ध्यान नै थिएन । वितरकहरूमा पनि उसले कहिल्यै ध्यान थिएन । फोन निर्माण कम्पनीहरू आफूलाई सधैं अन्य एक्सेसरिज निर्माणमा पनि विस्तारित हुन्छन् किनभने तीनमा नाफाको मार्जिन धेरै हुन्छ तर यो कुरामा पनि एचटीसी सधैं कमजोर नै रह्यो ।
पछि वेरेबल सामग्रीको बजारमा प्रवेश गरे पनि एचटीसीले राम्रो काम गर्न सकेन । यसबाहेक भर्चुअल रियालिटीका सामग्रीहरू निर्माण गर्न खोज्यो तर यसको बजार अहिले पनि विश्वमा खासै आइसकेको छैन । फोनमा सबै कुरा हुँदाहुँदै पनि उच्च मूल्य र कमजोर मार्केटिङका कारण एचटीसी विश्व मोबाइल बजारबाट हराउन पुग्यो ।
सोनी इरिक्सन
सोनीको वाकमेन सिरिज र इक्सपिरिया फोन प्रयोग गर्ने पुस्ता हामीमाझ आज पनि छन् । जसले सोनीको यो अवस्थाको सायदै कल्पना गरेका थिए होलान् । यति उत्कृष्ट फोन बनाएपछि कम्पनी डुब्ने कल्पना कहाँ गर्न सकिन्छ र ।
२००१ अक्टोबरमा सोनी कम्पनीले इरिक्सनसँग ज्वाइन्ट भेन्चर गरेर मोबाइल बजारमा प्रवेश गरेको थियो । त्यसपछि कलर स्क्रिन, डिजिटल क्यामेरा जस्ता विभिन्न नयाँ फिचर ल्याउन थाल्यो । फोनले आक्रमक रूपमा बजार लिन थाल्यो । तर, २००७ जनवरी ९ मा स्टिभ जब्सले आइफोन सार्वजनिक गरेपछि मोबाइल फोनको क्षेत्रमा ठूलै क्रान्ति आयो । उनले फोनलाई वास्तविक स्मार्टफोनका रूपमा विश्व सामु ल्याएर राखिदिए ।
तर, फिचरमा एप्पलभन्दा पछाडि रहे पनि एप्पलसँगै मूल्यमा प्रतिस्पर्धा गर्न चाहाने महँगो सोनी ब्राण्ड यसै पनि पछाडि पर्ने नै भयो । तब एप्पलसँग प्रतिस्पर्धा गर्न नसकेर एन्ड्रोइड फोनहरू कम फिचर सहितको सस्तो फोनतिर लागे । तर, सोनी महँगो प्रिमियम एन्ड्रोइड फोन बनाउने सौखमै अडिरह्यो । तर, नयाँ फिचर तथा यूएपी र फरकपना केही नै थिएन ।
नवीनताको नाममा सोनीले सानो स्क्रिनमा फोरके त ल्यायो तर सानो स्क्रिनमा त्यसले के फरक नै पार्न सक्थ्यो र ? त्यसमाथि फिचर थप गरेको नाममा पैसा पनि बढायो । अब ग्राहकहरू विस्तारै पछाडि हट्दै थिए तर, सोनीले कहिल्यै कुरा बुझ्न सकेन ।
अन्य ब्राण्डले जसरी सोनीले कहिल्यै पनि एउटा निश्चित लक्षित सेग्मेन्टलाई तोकेर फोन निर्माण गर्न सकेन । फोन उद्योगको ट्रेण्डलाई पनि सोनीले समयमै पछ्याउन सकेन । आज पनि सोनीको फोनमा यति ठूला बजल हुन्छन् । डुअल क्यामेरासमेत उसले एकदमै ढिलो ल्याएको थियो । यसबीचमा सोनीले धुन मिल्ने स्मार्ट फोन पनि ल्याएको थियो । त्यो पनि लोकप्रिय हुन सकेन ।
इरिक्सनसँगको सोनीको साझेदारी राम्रै चलिरहेको थियो तर २०१२ मा आएर उसले इरिक्सनको सेयर आफैंले खरिद गर्यो । अमेरिकामा मोबाइल कम्पनी सफल हुन नेटवर्क अपरेटरसँग साझेदारी महत्वपूर्ण हुन्छ तर उसले यो काम राम्रोसँग गर्न सकेन ।
विस्तारी मार्केटिङ पनि फितलो हुँदै पर्फमेन्समा कमजोरी देखिन थालेपछि कम्पनीले भारत, पश्चिमी एसिया, दक्षिण एसिया, मध्यअमेरिका र दक्षिण अमेरिकाबाट एक्जिट लिन थाल्यो ।
पछिल्लो समय सोनीले फोन बजारमा कमब्याक गर्ने बताएको छ । उसले यसका लागि क्यामेरा फिचरमा फोटो तथा भिडियो सम्पादनका राम्रा फिचर अपग्रेड गरेको छ । त्यसबाहेक उसको स्क्रिन पनि राम्रो छ । तर महँगो मूल्यकै कारण सोनीमा ग्राहकहरूको खासै रुचि देखिन्न ।
ब्ल्याकबेरी
ब्ल्याकबेरी मोबाइल फोनको जन्म १९८० मा क्यानडामा रिसर्च एण्ड मोसन कम्पनीभित्र भयो । ब्ल्याकबेरीको पहिलो प्रोडक्ट एउटा पेजर फोन थियो । प्रयोग गर्न धेरै सजिलो भएको कारण यसले व्यवसायीहरूमाझ निकै लोकप्रियता कमाउन थाल्यो ।
यसरी बजार पकड्न सुरु गरेको ब्ल्याकबेरीले अर्को मोडलमा इन्टरनेट तथा टेलिफोनको सुविधा पनि थप गर्यो । यो दौडमा इक्सिन, आईबीएम र एप्पल सबै कुदिरहेका थिए तर उनीहरू असफल भए किनभने उनीहरूसँग ब्ल्याकबेरीको जस्तो सफ्टवेयर थिएन ।
ब्ल्याकबेरी फोन अरूको तुलनामा एउटा व्यावहारिक किसिमको फोन थियो । यसमा एउटा ब्ल्याकबेरी म्यासेजिङ सर्भिस पनि थियो । अरूमा म्यासेज आदान प्रदान गर्न धेरै पैसा र समय लाग्थ्यो ।
तर, ब्ल्याकबेरीको म्यासेन्जरले इन्टरनेटको प्रयोग गरी छिटो र सस्तो मूल्यमा म्यासेज आदान–प्रदान गथ्र्याे । यस्ता फिचरले ब्ल्याकबेरीलाई निकै माथि पुर्यायो ।
जब ब्ल्याकबेरी आफ्नो उचाइमा थियो तब ग्लोबल मार्केटको २० प्रतिशत सेयर उसैको थियो । यति राम्रो अवस्थाको कम्पनी कसरी एकाएक तल गयो भन्ने कुरा सोच्न लायक छ ।
२००७ मा जब जर्ज बुस अमेरिकाका राष्ट्रपति बने तब विण्डोज भिस्टा पनि नयाँ थियो । तब एप्पलका सीईओ स्टिब जब्सले विश्वसामु आफ्नो नयाँ आइफोन प्रविधिका बारेमा घोषणा गरिदिए । त्यो एउटा सानो स्मार्टफोन थियो जसमा मिनि कम्प्युटर, वेब ब्राउजर र इमेल प्रविधि थियो ।
तब यी सबै फिचरलाई नेटवर्कले एक साथ बोक्न सक्दैन भनेर ब्ल्याकबेरीका संस्थापकहरू क्यानडामा आनन्द बसेका थिए । सुरुवातमा यो कुरा प्रमाणित पनि भयो । एप्पलको पहिलो सेटले निकै आरोपहरू खेप्न पर्यो ।
तर, दोस्रोमा उसले एकदमै राम्रो गर्यो र ब्ल्याकबेरीको आँकलन लामो समय टिक्न सकेन । जब एप्पलको क्षमतालाई ब्ल्याकबेरीले बुझ्यो तब निकै ढिलो भइसकेको थियो । एचटीसीले पनि आफ्नो पकड जमाइसकेको थियो ।
त्यस समय ब्ल्याकबेरीको खासै प्रतिस्पर्धी थिएन तर उ चाँडै नै पछि पर्यो । जब आइफोन आयो तब उसको निकै ठूलो स्क्रिन साइज थियो, ट्याब स्क्रिन, मल्टिमिडिया प्लेब्याक, क्यामेरा र महत्वपूर्ण कुरा ब्राउजर थियो ।
ब्ल्याकबेरीले कमब्याकका लागि प्रयास पनि नगरेको होइन । उसले स्क्रिन साइज बढाउने र एन्ड्रोइड ओएसमा जाने काम गर्यो । तर, अन्य फोन टच प्याडमा जाँदा पनि उसले आफ्नो क्वार्टी किबोर्ड हटाउन सकेन । तर, यति गर्दा पनि उ र अन्य एन्ड्रोइड फोनबीच खासै फरक ल्याउन सकेन । त्यस समय विश्वको शीर्ष स्थानमा रहेको ब्ल्याकबेरी एकै वर्षमा तेस्रो स्थानमा झर्यो ।
यसले गर्दा कम्पनी एकैपटक सफ्टवेयर कम्पनीमा सीमित हुन पुग्यो । आजको समयमा ब्ल्याकबेरी सफ्टवेयर निर्माण र इन्टरप्राइजेज प्याकेजमा केन्द्रित छ । ब्ल्याकबेरीले फोन त बनाउँछ तर त्यसले विश्व बजारमा ०.०५ प्रतिशत पनि कभर गर्दैन ।
एन्ड्रोइड र आइफोनका कारण विश्व मोबाइल बजार परिवर्तन भयो । ग्राहकको इच्छा उसले कहिल्यै बुझ्न सकेन । फोनलाई अत्यावश्यक सामग्री बाहेक मनोरञ्जनको बस्तुका रूपमा हेर्ने गरी उसले आफ्नो दृष्टिकोणको धरातललाई व्यापक बनाउन सकेन ।
(एजेन्सीहरुको सहयोगमा)