काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष पशुपति सम्शेर जबराले खुला बजार अर्थनीति एवं संगठित क्षेत्रमा निजी क्षेत्रको सहभागिता हुनुपर्ने बताएका छन् । राप्रपाले निकट भविष्यमा तर्जुमा गर्न लागेको आर्थिक नीतिका लागि निजी क्षेत्रको अवधारणाबारे जानकारी लिने क्रममा नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीसँग सो कुरा बताएका हुन् ।
सो छलफलमा चेम्बरका अध्यक्ष्य राजेन्द्र मल्लले मुलुकको आर्थिक क्षेत्रको विकासका लागि कृषिलाई प्राथमिकता दिनुपर्ने बताएका छन् । नेपालले वर्षेनी खर्बौं मूल्यका खाद्यान्न लगायत कृषिजन्य वस्तुहरु आयात गरिरहेको पृष्ठभूिममा कृषिको सभाव्यता प्रचुरमात्रामा रहेकोेले प्राथमिकता दिन र कृषिको उत्पादकत्वमा वृद्धि गरी उत्पादनलाइ बजारसँग संयोजन गर्नु पर्ने आवश्यकता रहेको उनको भनाइ छ । राप्रपाका शिर्ष नेतासँग चेम्बरले सोमबार आर्थिक क्षेत्रका विविध विषयमा छलफल गरेको थियो ।
सो छलफलमा मल्लले कोभिडको राहत प्याकेज ग्रामीण स्तरमा पुग्न नसकेको बताउँदै विदेशबाट सीप सिकेर आएका युवाहरुको सीप उपयोगका लागि न्युनतम ब्याजदरमा कर्जा उपलब्ध हुनु पर्ने बताएका छन् । त्यस्तै घर–जग्गा कारोबारलाई व्यवस्थित गर्न ब्रोकर लाइसेन्सको व्यवस्था, विदेशी लगानीमा स्थापना हुने उद्योगमा सार्वजनिक निज साझेदारी (पीपीपी) मोडलमा जनस्तरमा लगानीको प्रावधान गर्नुपर्ने उनको भनाइ छ ।
त्यस्तै राप्रपाकै अध्यक्ष कमल थापाले चेम्बरका सुझावहरु निकै उपयोगी भएको र चासोका साथ लिएको बताए । साथै पार्टीको आर्थिक घोषणापत्र तर्जुमा गर्ने क्रममा चेम्बरबाट प्रस्तुत गरिएका सुझावहरुलाई मनन गरिने उनको भनाइ छ । राप्रपाका अर्का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले चेम्बरबाट प्रस्तुत सुझावहरुबारे जिज्ञासा राखेका थिए ।
सो अवसरमा राप्रपा आर्थिक विभागका संयोजक उद्धव पौडेल र कार्य सम्पादन समितिका सदस्य मोहन श्रेष्ठको पनि उपस्थिति रहेकोे थियो । त्यस्तै चेम्बरका वरिष्ठ उपाध्यक्ष कमलेशकुमार अग्रवाल, उपाध्यक्ष दीपक मल्होत्रा तथा चेम्बर कार्यसमिति सदस्य पर्शुराम दाहाल, राजारत्न तुलाधर, दीपक काजी तुलाधर र राम श्रेष्ठको पनि उपस्थिति रहेको थियो ।