काठमाडौं । कोरियाली लगानीमा २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाको निर्माण सुरु भएको छ । भूमिगत विद्युतगृह जान प्रयोग हुने ‘भेन्टिलेसन टनेल’को काम मंगलबार सुरु भएसँगै आयोजनाको निर्माण औपचारिक रुपमा सुरु भएको हो ।
२४६ मिटर भेन्टिलेसन टनेल निर्माणका लागि चट्टान फोर्न मंगलबार पहिलो विष्फोट गराइएको छ । मुख्य प्रवेश सुरुङ, केबल सुरुङ, मुख्य सुरुङलगायतका संरचना निर्माण सुरु गरिएको छ ।
आयोजना स्थलमा क्रसर प्लान्ट तथा ब्याचिङ प्लान्टको स्थापना, निर्माण सामाग्रीहरुको परीक्षण, पहुँच सडकका लागि त्रिशूली नदीमा बेली ब्रिजको निर्माण, बाँधल संरचना निर्माणका लागि रुख कटान, सर्च ट्याङतर्फको पहुँच सडक निर्माण लगायतका काम धमाधम भइरहेको छ ।
निर्माणमा अहिले २०० श्रमिक आयोजनास्थलमा खटिएको आयोजनाले जनाएको छ । आयोजना निर्माणका लागि इन्जिनियरिङ, खरिद र निर्माण (ईपीसी) मोडलमा कोरियन कम्पनी डुसान हेभी इन्डष्ट्रिज लिमिटेडले ठेक्का पाएको छ ।
आन्तरिक खपतका लागि प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) मा निर्माण हुन लागेको माथिल्लो त्रिशूली—१ हालसम्मकै ठूलो जलविद्युत आयोजना हो । आयोजनाको प्रवद्र्धक नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनीमा कोरियन सरकारको स्वामित्वमा रहेको कोरिया साउथ इस्ट पावर कम्पनी लिमिटेडको लगानी छ ।
यस्तै विश्व बैक समूह अन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) लगायतको सेयर लगानी रहेको छ । आयोजना प्रभावित स्थानीयका लागि अधिकतम १० प्रतिशतसम्म सेयर लगानी सुनिश्चित गरिएको छ । आयोजनाका लागि ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपुँजी (इक्विटी) बाट जुटाउने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।
आयोजना बनाउन ६४ करोड ७३ लाख अमेरिकी डलर अर्थात ७० अर्ब रुपैयाँ (निर्माण अवधिको ब्याजसहित) रहेको छ । आयोजनामा ९ अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरुले ४५ करोड ३२ लाख अमेरिकी डलर ऋण लगानीको सम्झौता गरेका छन् । बाँकी रकम स्वपुँजी (ईक्विटी)बाट जुटाइएको छ ।
आयोजनाबाट वार्षिक रुपमा १ अर्ब ५३ करोड ३१ लाख युनिट ऊर्जा उत्पादन हुनेछ । आयोजनाबाट उत्पादन हुने कुल वार्षिक ऊर्जामध्ये ३८.७५ प्रतिशत हिउँदयाममा र ६१.२५ प्रतिशत वर्षायामा उत्पादन हुने छ ।
उत्पादित उर्जा नेपाल विद्युत प्राधिकरणले निर्माण गरिरहेको त्रिशूली–३ बी हब सबस्टेसनमा जोडी राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह हुनेछ । आयोजना र प्राधिकरणबीच विद्युत खरिदबिक्री सम्झौता (पीपीए) भइसकेको छ ।
बढी बिजुलीको खपत हुने लोडसेन्टरबाट नजिक रहेको र विद्युतको अत्याधिक माग हुने हिउँदमासमेत १०४ मेगावाट विद्युत् प्राप्त हुने भएकाले मुलुकको विद्युत प्रणालीका लागि आयोजना अत्यन्त्यै आकर्षक मानिएको छ ।
आयोजनाबाट वर्षभरि नै १०४ मेगावाट स्थिर (फार्म) ऊर्जा प्राप्त हुने छ । आयोजनाको निर्माण २०८३ को मंसिरभित्र सक्ने लक्ष्य राखिएको छ ।
यो पनि हेर्नुहोस
माथिल्लो त्रिशुली–१ आयोजनाले विदेशबाट ऋण ल्याउने प्रक्रिया थाल्यो, राष्ट्र बैंक जाँदै
५० अर्ब वैदेशिक लगानी ल्याउन नेपाल वाटर पुग्यो राष्ट्र बैंक
माथिल्लो त्रिशुली–१ आयोजनाको ऋणको ब्याज ७.५ प्रतिशत, १० प्रतिशत सेयर निष्कासन गर्ने
माथिल्लो त्रिशूली–१ आयोजनाको निर्माण बैशाखदेखि हुने, ५ वर्षमा बिजुली उत्पादन गर्ने लक्ष्य
माथिल्लो त्रिशूलीमा ९ विदेशी बैंकको ५० अर्ब ऋण, हालसम्मकै सबैभन्दा ठुलो विदेशी लगानी सम्झौता
वेलायतको सीडीसी ग्रुप जलविद्युतमा, माथिल्लो त्रिशूली १ आयोजनामा ५ अर्ब लगानी गर्ने
२१६ मेगावाटको त्रिशूली १ जलविद्युतलाई जुट्यो ४५ अर्ब विदेशी लगानी, शुक्रबार ऋण लगानी सम्झौता हुँदै
माथिल्लो त्रिशूली १ आयोजनाको ऋण सम्झौता एक महिनापछि धकेलियो, कर छुटको पत्र र हेजफन्डमा सहमति भएपछि हुने
माथिल्लो त्रिशूली १ आयोजनाले पायो संस्थागत कर छुट, १० वर्ष पुरै ५ वर्ष आधा
माथिल्लो त्रिशूली १ मा ९ ओटा अन्तर्राष्ट्रियस्तरका बैङ्कले लगानी गर्ने, उनीहरूको बोर्डले स्वीकृत गर्यो ५० अर्ब ऋण