काठमाडौं । मलेसियाको रोजगारी बन्द भएको करिब १५ महिना भइसकेको छ । नेपाल र मलेसियाबीच श्रम समझदारी भएको पनि ११ महिना भयो । तर, नेपाली युवा रोजगारीका लागि कहिलेबाट जान पाउँछन् भन्ने यकिन हुन सकेको छैन ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयकाे वैदेशिक रोजगार महाशाखाका प्रमुख उमेश ढुङ्गानाले रोजगार कहिलेबाट खुल्ने भन्ने विषय नेपालको नभई मलेसियाको हातमा रहेको बताए । नेपालका तर्फबाट एक साताअघि नै १ सय २२ ओटा स्वास्थ्य संस्थाहरुलाई सूचीकरण गरी मलेसिया पठाइसकिएको भन्दै त्यहाँबाट आउने प्रतिक्रिया पर्खेर बसेको उनको भनाइ छ ।
मलेसिया जाने नेपाली कामदारको स्वास्थ्य परीक्षणका लागि नयाँ मापदण्ड ल्याइएपछि नेपालले १ सय २२ ओटा स्वास्थ्य संस्थाहरुको सूचीकरण गरिएको थियो । बायोमेट्रिक (स्वास्थ्य परीक्षण)को पुरानै ३७ ओटा स्वास्थ्य संस्थाले काम गर्ने गरी नेपालस्थित मलेसियन दूतावासले स्वास्थ्य व्यवसायी महासङ्घका अध्यक्ष कैलाश खड्कालाई पत्र लेखेको थियो । पत्र सार्वजनिक भएपछि त्यसले नयाँ विवाद कायम गर्यो ।
यता श्रम मन्त्रालयले विज्ञप्ति जारी गरी नयाँ ढङ्गबाट स्वास्थ्य संस्था छनोट हुने र तत्कालका लागि कुनै निर्णय नभएको स्पष्टीकरण दिएको छ । नेपालले मलेसियाको रोजगारी नखुल्नुमा स्वास्थ्य परीक्षणका लागि स्वास्थ्य संस्थाहरुको टुङ्गो नलागेकै कारण भएको बताउँदै आएकाे छ ।
नेपाल र मलेसियाबीच भएको श्रम समझदारीपछि बनेको प्राविधिक समितिको बैठक १ महिनाभित्र बस्ने सहमति पनि कार्यान्वयन हुन सकेको छैन । स्विट्जरल्यान्डको जेनेभामा श्रम सचिव महेशप्रसाद दहाल र मलेसियाका मानव संसाधनमन्त्री एम कुलासेगरनबीच असार ३ गते भएको भेटमा १ महिनाभित्र प्राविधिक समितिको बैठक बसी सबै विषयहरु टुङ्गोमा पुर्याउने सहमति भएको थियो । तर, समितिको बैठक कहिले र कहाँ बस्ने भन्ने निश्चित भएको छैन ।
श्रममन्त्री गोकर्ण विष्टले मलेसिया जाने कामदारलाई थप आर्थिकभार थोपरेको भन्दै बायोमेट्रिक, भीएलएन, माइग्राम, आईसी र जीएससी संस्था खारेज गर्ने निर्णय गर्दै मलेसियाको रोजगार बन्द गराएका थिए । तर, बायोमेट्रिकबाहेक अन्य संस्थाहरु परिर्वतन नहुने देखिएको छ ।
मलेसियाले नै स्वास्थ्य परीक्षणका लागि नयाँ मापदण्ड सार्वजनिक गरेका कारण बायोमेट्रिकका केही संस्था नयाँ आउने देखिएको छ । त्यसबाहेक अन्य कुनै पनि संस्था परिर्वतन हुने देखिएको छैन । यसबारे श्रममन्त्री विष्टले अहिले कुनै प्रतिक्रिया दिएका छैनन् ।
नेपाल वैदेशिक रोजगार सङ्घका अध्यक्ष रोहन गुरुङले मलेसियाको रोजगारीका बारेमा कुनै प्रतिक्रिया नजनाउने बताएका छन् । पटकपटक सरकारलाई रोजगारी खुलाउन माग गर्दै आए पनि सबै निकायले बेवास्ता गरेको भन्दै आफूहरु अहिले दिकदार भएर बसेको अध्यक्ष गुरुङको भनाइ छ ।