काठमाडौं । एमजी ब्रान्डको इलेक्ट्रिक गाडी बिक्रीमा अग्रणी पारामाउन्ट माेटर्सले चार्जिङ स्टेसन र सर्भिस सेन्टर निर्माणलाई व्यापक बनाएको छ ।
एमजीका इलेक्ट्रिक गाडी बिक्री दिन प्रतिदिन बढ्दै गएपछि पारामाउन्ट माेटर्सले चार्जिङ स्टेसन र सर्भिस सेन्टर निर्माणलाई तीव्रता दिएको महाप्रबन्धक सचिन अर्यालले जानकारी दिए ।
३०० भन्दा बढी एमजी गाडी बिक्री गरिसकेको पारामाउन्ट माेटर्सले अहिले चार्जिङ स्टेसन र सर्भिस सेन्टर बनाउने योजना बनाइरहेको छ । अहिलेसम्म एमजीको धुम्बाराहीमा एउटा मात्रै सर्भिस सेन्टर छ । निकट भविष्यमा एकान्तकुनामा ३ रोपनी क्षेत्रमा एमजीको नयाँ सर्भिर सेन्टर निर्माण गर्ने तयारी गरिरहेको छ । जग्गा लिइसकेको छ । एमजीले सुविधासम्पन्न सर्भिस सेन्टर निर्माण गर्न लागेको हो ।
एकान्तकुनामा नयाँ सर्भिस सेन्टर बनेपछि धुम्बाराहीको सर्भिस सेन्टलाई ट्रेडिङ सेन्टरका रूपमा विकास गर्ने लक्ष्य रहेको अर्यालले जानकारी दिए । पछिल्लो समय एमजीको इलेक्ट्रिक गाडी बिक्रीमा बढोत्तरी छ ।
गाडी बुकिङ गर्नेको संख्या अत्यधिक रहँदा पनि कम्पनीले गाडी उपलब्ध गराउन सकेको छैन । कम्पनीले आगामी दसैंसम्म २५० थानभन्दा बढी गाडी बिक्री लक्ष्य लिएको छ । यो वर्षभित्र ७०० थान गाडी बिक्री गर्ने लक्ष्य कम्पनीको छ ।
कम्पनीले गाडी बिक्रीलाई व्यापक बनाउँदै लगेसँगै चार्जिङ स्टेसन निर्माणलाई पनि आक्रमक रूपमा अघि बढाएको छ । देशका प्रमुख सहरहरूमा एमजी गाडीको बिक्री बढ्दै गएपछि कम्पनीले देशका प्रमुख सहरमा तथा हाइवेमा चार्जिङ स्टेसन निर्माण गर्न लागेको अर्यालले जानकारी दिए ।
कम्पनीले देशका विभिन्न १० ठाउँमा ३० किलोवाटको फास्ट चार्जर (डीसी) र २० ठाउँमा ७ किलोवाट क्षमताका (एसी) चार्जिङ स्टेसन निर्माण गर्दै छ । १० ठाउँमा राखिने चार्जिङ स्टेसनबाट ४५ मिनेटमा ८० प्रतिशत चार्ज हुन्छ । ७ किलोवाट चार्जरबाट ६ घण्टामा फुल चार्ज हुने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार ३० किलोवाट भनेको एक घण्टामा ३० किलोवाट चार्ज हुन्छ । यसलाई फास्ट चार्जिङ भनिन्छ । एमजीको ४४.५ वाटको गाडी हो । ३० किलोवाट क्षमताको चार्जिङ स्टेसन निर्माण गर्न १५ लाख रुपैयाँ लगानी पर्छ भने ७ किलोवाट क्षमताको चार्जिङ स्टेसन निर्माण गर्न २ लाख ५० हजार रुपैयाँ लगानी लाग्ने कम्पनीको अनुमान छ ।
पेट्रोल/डिजेलभन्दा विद्युतीय गाडी किफायती
पेट्रोल तथा डिजेलभन्दा विद्युतीय गाडीको खर्च धेरै कम देखिएको छ । कम्पनीले उपलब्ध गराएको तथ्यांकअनुसार एउटा गाडी फुल चार्ज गर्न ५०० रुपैयाँबराबरको बिजुली खपत हुन्छ । गाडी फुल चार्ज भएपछि एनइडीसी सर्टिफाइड ३३५ किलोमिटर गुड्छ ।
त्यसका अलवा विद्युतीय गाडीको इन्जिन नहुने भएकाले त्यो बनाउन लाग्ने खर्च पूरै जोडिन्छ । यसरी हिसाव गर्दा प्रतिकलोमिटर विद्युतीय गाडीको खर्च २ रूपैयाँ भन्दा कम छ । जबकी, पेट्रोल तथा डिजेलको प्रतिकिमि ११ रुपैयाँ खर्च आउँछ ।
‘डिमान्ड फुलफिल’ गर्नै धौ–धौ
अहिले एमजी गाडीको माग अत्यधिक छ । ग्राहकको मागअनुसार गाडी आपूर्ति गरेर दिन सकेका छैनौं । विश्व बजारमै इलेक्ट्रिक गाडीको उत्पादन बढ्न सकेको छैन ।
अहिले पनि विश्वमा ‘लेफ्टहेन्ड ड्राइभिङको’ बाहुल्य छ । ती देशबाट ठूलो परिमाणमा गाडीको माग हुन्छ । उत्पादकले पनि सोही क्षेत्रलाई फोकस गरेर गाडी बनाउँछ ।
राइटह्यान्ड ड्राइभिङ भएका मुलुकबाट गाडीको अर्डर पनि कम जान्छ र उत्पादकको पनि रोजाईमा पर्दैन । त्यही भएर पनि ग्राहकले मागेअनुसार गाडी दिन नसकेको महाप्रबन्धक अर्यालले जानकारी दिए ।
लेफ्डह्यान्ड ड्राइभिङ भएका मुलुकबाट एकैपटक लाखौं गाडीको माग जान्छ । उत्पादकले पहिलो उनीहरूलाई गाडी दिएपछि मात्रै हामीजस्ता मुलुकमा गाडी बनाएर पठाउने गरेको कम्पनीको भनाइ छ ।
एकातिर गाडीको ‘सर्टटेज’ त छँदै छ । अर्कोतिर कन्टेनर नपाएर गाडी ल्याउनै सकिएको छैन । काेभिडका कारण ढुवानीमा उत्पादनमा समस्या भइरहेकाे छ ।