काठमाडौं । यसअघि असारभित्रै विद्युतीय बस सञ्चालन गर्ने योजना बनाएको सुन्दर यातायातले पटक पटक भाका सार्दै गएको छ । पहिलो पटक निजी कम्पनीका रुपमा बिजुली बस चलाउन उदाएको सुन्दरले त्यसपछि साउनभित्र बस सञ्चालन गर्ने भने पनि अहिलेसम्म बस नेपाल ल्याइपुर्याएको छैन ।
अहिले सुन्दर यातायातले भदौको दोस्रो साताभित्र बिजुली बस सञ्चालन गर्ने बताएको छ । विद्युतीय बस सञ्चालनका लागि आवश्यक पूर्वाधार, चार्जिङ स्टेसन, रुट परमिट, प्राविधिक जनशक्ति व्यवस्थापनको झन्डै अन्तिम चरणमा छ ।
अझै केही प्राविधिक तथा संरचनागत काम भने गर्न बाँकी नै रहेको कम्पनीले जनाएको छ । पटक पटक बिजुली बस चलाउने भाखा मात्रै किन सार्नुभएको भन्ने क्यापिटल नेपालको प्रश्नमा कम्पनीका सञ्चालक अध्यक्ष भेषबहादुर थापाले भने, ‘अहिलेको ठूलो समस्या चार्जिङ स्टेसनको हो । चार्जिङ मेसिन हाम्रै छ । तर, सरकारले स्वीकृति र अनुमति नदिएकाले केही ढिला हुन गएको हो ।’ उनले सार्वजनिक विद्युतीय सवारी भएकाले अनिवार्यरुपमा सरकारको अनुमति लिनुपर्ने भएकाले ढिला हुन गएको जानकारी दिए ।
भदौ दोस्रो साता कम्पनीले पहिलो चरणमा ७ ओटा विद्युतीय बस काठमाडौं उपत्यकामा सञ्चालन गर्दैछ । अत्याधुनिक र स्मार्ट सेवासहितका बसमा एसी जडान गरिएका हुनेछन् ।
पूर्ण अत्याधुनिक र बिजुलीमा चार्ज गरेपछि मात्रै चल्ने भएकाले वायु र ध्वनि प्रदूषण न्यूनीकरण हुनेछ । अहिले डिजेल र पेट्रोलबाट चल्ने सार्वजनिक यातायातको तुलनामा यसको भाडा २५ प्रतिशत अर्थात् कम्तीमा ५ रुपैयाँ सस्तो हुने थापाको भनाइ छ । त्यसबाहेक विद्यार्थी, ज्येष्ठ नागरिक, महिला तथा अशक्तलाई विशेष छुट हुने छ । सुन्दर यातायातले सञ्चालन गर्ने बसको भाडा कार्डमार्फत तिर्न सकिने छ । अनावश्यकरुपमा पर्स वा गोजीमा पैसा बोक्ने झन्झट हुने छैन ।
भाडा तिर्न चाहिने कार्ड सुन्दर यातायातले उपलव्ध गराउने जनाएको छ । विभिन्न ५ प्रकारका कार्डमार्फत् यात्रुहरुले छुट प्राप्त गर्न सक्नेछन् । तत्काल उपत्यकाभन्दा बाहिरबाट आएर सुन्दर यातायातका बसमा चढ्ने यात्रुलाई पनि विशेष छुट दिने बारेमा पनि सोचिरहेको कम्पनीले जनाएको छ ।
सुन्दर यातायातका बसमा यात्रा गरेका रुटमा वा कुनै स्थानमा काम विशेषले झरेर आफ्नो काम आधा घण्टाभित्र सकाएर पुनः बिजुली बसमै चढेमा भाडामा ५० प्रतिशत छुट हुने अर्को विशेष रहेको कम्पनीले जनाएको छ ।
चाइनिज बीएके कम्पनीसँग सम्झौता गरी विद्युतीय बस खरिद गर्न लागिएको छ । एउटा बस खरिद गर्न झन्डै १ करोड ६२ लाख रुपैयाँ आवश्यक पर्ने प्रालिले जनाएको छ । सुरुमा केही लागत महँगो देखिए पनि यसको सञ्चालन लागत निकै कम हुने भएकाले सञ्चालनको ५ वर्षमा लगानी उठाई बस आफ्नै बनाइने थापाको योजना छ ।
नेपाल ल्याउन लागिएका बस युरोपियन गुणस्तरका भएकाले डिजिटल सिस्टमका हुनेछन् । एक पटक बसलाई तीन घण्टा चार्ज गर्दा २ सय ६८ किलोमिटरसम्म गुड्ने कम्पनीले जनाएको छ ।