विराटनगर । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिमा नारा राम्रो रहेको तर कार्यान्वयनमा भने समस्या देखिने पूर्वका युवा व्यवसायीले बताएका छन् ।
हरेक वर्ष आउने मौद्रिक नीतिमा नारा राम्रा हुने तर, कार्यान्वयन पक्ष एकदमै फितलो हुने गरेको उनीहरुको भनाई छ । युवाहरुलाई नयाँ ‘आईडिया’ तथा व्यवसायको लागि ५० लाख रुपैयाँ कर्जा दिने भनिएको छ, तर के आधारमा कर्जा दिनेभन्ने कुरा स्पष्ट नभएको उनीहरुले बताएका छन् ।
ऋण दिने कुरा मौद्रिक नीतिमा प्रष्ट हुनुपर्ने युवा उद्यमी मञ्च विराटनगरका अध्यक्ष युनेशराज श्रेष्ठले बताउँछन । ‘सर्टिफिकेट लिएर जाँदैमा बैंकले ऋण दिदैन’, उनले भने, ‘कतिपय युवाहरुसँग धितो राख्ने सम्पत्ति नभएको अवस्थामा ऋण पाउँदैनन्, यस्तो अवस्थामा व्यवसाय गर्न सकिदैन्, बैंकसँग कुरा गर्दा सरकारको काम नीति बनाउने हो, हामीलाई त ऋण उठ्ने आधार चाहिन्छ भन्छन्, त्यसकारण स्पष्ट आधार सहितको नीति चाहिएको हो ।’
महिला उद्यमीले पाउने १५ लाख कर्जाबाट पढाएर २० लाख रुपैयाँ पुर्याएको भए पनि विगतका वर्षहरुमा कति महिला उद्यमीले बैंकको झन्झटिलो प्रक्रियाका कारण ऋण लिन नसकेको उनको भनाई छ । ‘सरल कर्जा भनिएको छ तर ऋण निकाल्ने बेला बैंकको निकै झन्झटिलो प्रक्रिया पार गर्नुपर्ने हुन्छ ’, उनले भने ।
सरल कर्जा भनेपछि महिला उद्यमीले विना झन्झट कर्जा पाउने व्यवस्था बैंकमा हुनुपर्ने उनको भनाई छ । युवा तथा महिलाहरुलाई कर्जा दिने नियम सरकारले ल्यायो । तर, अप्ठ्यारोमा पार्यो भनेर बैंकहरुले कुरा निकालिरहेको अवस्थामा पहुँच नभएकालाई समस्या हुने श्रेष्ठले बताए ।
नारा मात्र राम्रो भएर हुँदैन, यसको कार्यान्वयनको पक्ष कतिको बलियो छ भनेर पनि हेनुपर्ने व्यवसायी श्रेष्ठको भनाई छ । ‘विगत वर्षहरुको सरकारको नीति र त्यसलाई सघाउने गरी आएको मौद्रिक नीति हामीले हेरेकै हो’, उनले भने, ‘नारा राम्रो हुने तर कार्यान्वयन पटकै नहुने, त्यसले गर्दा चालु आर्थिक बर्षको मौद्रिक नीति पनि राम्रो आएको छ, तर कार्यान्वयनको हुन्छ भनेर विश्वास गर्ने आधार कम नै छ ।’
अर्का युवा व्यवसायी रितेश खनाल पनि कार्यान्वयन पक्ष फितलो रहेको बताउछन् । ‘युवाहरुको लागि आएको कार्यक्रम तथा नीति नियम राम्रा छन्’, उनले भने, ‘कार्यान्वयन पक्ष विगत जस्तै त हुने होला, सर्टिफिकेट राखेर ऋण दिने भनिएको छ, सर्टिफिकेट मात्र लिएर जाँदा बैंकले ऋण दिदैन, यस्ता कार्यक्रम विगतमा पनि आएका थिए, कार्यान्वयन भएको थिएन, अहिले पनि हुन्छ भन्ने कुरामा शंका नै छ ।’
सरकार परिवर्तन भईरहने प्रवृतिका कारण पनि कार्यान्वयनमा समस्या देखिने गरेको खनालको बुझाई छ । एउटाको नीति अर्कोले नमान्ने गर्दा कार्यान्वयनमा समस्या देखिएको उनले बताए । ‘मौद्रिक नीतिमा आएका कुरा सकारात्मक छन्, अन्तिममा के आधार बनाएर कार्यान्वयन हुन्छ, त्यो पछि थाहा हुने कुरा हो’, उनले भने ।
युवा व्यवसायी रञ्जित भगत पनि मौद्रिक नीति राम्रो आएको बताउछन् । तर कार्यान्वयन पक्ष नै बलियो हुनुपर्ने उनको तर्क छ । ‘आएका नीति अहिले नै कार्यान्वयन हुने देखिदैन’, उनले भने, ‘ढिलो भए पनि कार्यान्वयन भयो भने राम्रो हुनेछ ।’
युवा व्यवसायीको हकमा केही कुरा समेटिएको भए पनि अझै सम्बोधन गर्न धेरै कुरा रहेको भगतले बताए । समेटिएका कुराहरु मात्र कार्यान्वयनमा आए भने युवा व्यवसायीहरुलाई सहज हुने उनको तर्क छ । मौद्रिक नीति वित्तीय कारोबारसँग सम्वन्धित हुने भएकाले बैंकहरुले कतिको कार्यान्वयन गर्छन भन्ने कुरामा पनि भर पर्ने उनले बताए ।