काठमाडौं । गोल्यान ग्रुपअन्तर्गतको गोल्यान एग्रो प्रालिले सामाखुसीमा दोस्रो फ्रेन्चाइजी स्टोर सञ्चालनमा ल्याएको छ । फ्रेन्चाइजी विस्तारमा लागेको सो स्टोर व्यवसायी मीरा रोक्काले सञ्चालनमा ल्याएकी हुन् ।
यसको फ्रेन्चाइजी पहिलो पटक नयाँ बानेश्वरमा सञ्चालनमा आइसकेको छ । गोल्यान एग्रो प्रालिले आफ्नो ब्राण्ड स्वरुप विभिन्न स्थानीय उद्यमी तथा किसानलाई प्रोत्साहन गर्न ‘माटो फ्रेस स्टोर’ सञ्चालनमा ल्याएको जनाएको छ ।
सामाखुसी स्थिति फ्रेन्चाइजी स्टोरको मंगलबार पूर्वसभामुख ओनसरी घर्तीमगरले उद्घाटन गरेकी छन् । घर्तीमगरले युवा वर्गलाई व्यवसायमा अगाडि बढ्नका लागि कृषिबाट पनि सम्भव छ भन्ने सन्देश माटो बाण्डले दिन सकोस भन्दै शुभकामना दिएकी छन् ।
‘अन्य पेसा गर्न सक्ने अवस्था हुँदाहुँदै पनि हाम्रो जस्तो कृषि प्रधान देशमा रोक्का परिवारले सुरु गरेको कृषि व्यवसायप्रति मलाई खुसी लागेको छ ।’ उनले भनिन्, ‘व्यवसाय सञ्चालन गर्नु भनेको जोखिम निर्वाह गर्नु पनि हो, सफलता मिल्छ भन्ने मलाई लागेको छ ।’
त्यस्तै गोल्यान ग्रुपका अध्यक्ष पवन गोल्यानले साना किसानलाई अग्र्यानिक तथा विषादिरहित खेती गर्न सिकाउने माटो बाण्डको योजना रहेको बताए । साथै उक्त उत्पादनलाई उचित मूल्यमा खरिद गर्ने उनको भनाइ छ ।
‘नेपाली माटोमा उत्पादन भएको सबै वस्तुलाई माटो बाण्डले बजारीकरण गर्नेछ, साथै नेपालमा आयात प्रतिस्थापनसमेत गर्ने उद्देश्य छ ।’ अध्यक्ष गोल्यानले भने, ‘यो फ्रेन्चाइजी दोस्रो हो र अन्य ठाउँमा स्टोर पनि सञ्चालनमा छन् तर, अब हामी फ्रेन्चाइजीमा बढी केन्द्रित हुन्छौं । यो आर्थिक वर्षमा उपत्यकाभित्र ५० वटा स्टोर सञ्चालन गर्ने र विस्तारै देशभरि फैलिने योजना छ ।’
सामाखुसीमा खुलेको सो स्टोरमा १ महिनासम्म समान खरिद गर्दा १० प्रतिशत छुटको व्यवस्था रहेको सञ्चालक रोक्काको भनाइ छ । ‘प्रयास गरे हरेक काम गर्न सकिन्छ, महिला दिदीबहिनीहरूले पनि नयाँ सोच–विचार लिएर अगाडि बढ्दा राम्रो हुन्छ, सञ्चालक रोक्काले भनिन् ।’
माटो ब्राण्डले बजारमा पाइने औसत मूल्यमा नै अग्र्यानिकयुक्त तरकारी तथा फलफूल बिक्री गर्ने जनाएको छ । माटो फ्रेस फेन्चाइजी स्टोरमा गाईको अर्गानिक घ्यू, पेय पदार्थ, हिमनदीबाट खेर गएको पानी ‘स्प्रिङ वाटर’, सिजनअुनसारको फलफूल, तरकारी र दलहन तथा अन्य खाद्य वस्तु बिक्रीका लागि राखिएको छ ।
उक्त स्टोरबाट पूर्वसभामुख घर्तीमगरले साग, काक्रा, कोदाको पिठोलगयत समान खरिद गरेकी छन् । स्थानीय बासिन्दालाई लक्षित गरी सञ्चालन भएको सो स्टोरबाट ५ सय मिटरसम्मको दूरीका ग्राहकलाई निःशुल्क डेलिभरीकोसमेत व्यवस्था छ ।