काठमाडौं । नाडा अटो सोको चौधौं संस्करण २०१९ अगस्ट २७ देखि सेप्टेम्बर १ सम्म भृकुटीमण्डपमा आयोजना हुने भएको छ । ग्लोबल एक्सपोजिसन एन्ड म्यानेजमेन्ट सर्भिसले व्यवस्थापन गर्ने उक्त सोलाई सर्भो वल्र्ड क्लास ल्युब्रिकेन्टले प्रायोजन गर्ने आयोजकले बताएका छन् ।
नाडा अटो सो २०१९ कस्टमर, अटो सौखिन, अटो डिलर्स र अन्य सरोकारवालाहरुका लागि ठूलो व्यावसायिक प्लेटफर्म हुने अपेक्षा गरिएको छ । वर्षैपिच्छे आयोजना हुने नाडा अटो सोमा बर्सेनि प्रदर्शकहरुको सङ्ख्या बढ्दै गएको र यसले अटोमोबाइल लक्जरी मात्र नभएर आर्थिक क्रियाकलापको माध्यम र आवश्यकता पनि भएको देखाएको आयोजकको भनाइ छ ।
यस वर्षको नाडा अटो सोमा २३ ब्रान्डका फोर ह्वीलर गाडी, १९ ब्रान्डका टु ह्वीलर, १२ ब्रान्डका ल्युब्रिक्यान्ट, ९ ब्रान्डका टायर, ५ ब्रान्डका ब्याट्री, १४ ब्रान्डका ग्यारेज उपकरण र अटो कम्पोनेन्टहरु रहने छन् । साथै वित्तीय सेवाका लागि १३ वित्तीय संस्थाहरु पनि रहने छन् ।
समग्रमा साना तथा ठूला स्टल गरी १५० स्टलमा ९५ ओटा प्रदर्शकहरु रहने छन् । जसमा आयातकर्ता, डिलर, वितरक र निर्माणकर्ता पनि रहने छन् ।
भिजिटरको सहजतालाई ध्यानमा राखेर सोलाई विभिन्न सेग्मेन्टमा बाँडिएको छ । बहुप्रतीक्षित नाडा अटो सो २०१९ मा ७५ हजार भिजिटर ल्याउने अपेक्षा गरेको छ ।
उक्त कार्यक्रमको प्रमुख आकर्षण इन्ट्री टिकेटमा बम्पर डोर प्राइज जित्नेले जीपीएक्स जेन्टरम्यान २०० सीसीको मोटरसाइकल प्राप्त गर्ने छन् जसलाई ओमेगा अटोमोबाइल्सले स्पोन्सर गर्नेछ ।
नाडा अटो सो एउटा सूचनाको प्लेटफर्म पनि हो जहाँ सेल्स, फाइनेन्स तथा बिमा सर्भिस आदिको विषयमा एकै ठाउँबाट जानकारी दिन्छ । सञ्चारकर्मीलाई सहजीकरण गर्न एउटा छुट्टै मिडिया डेस्क पनि रहने बताइएको छ ।
नाडा सो अटोमोबाइल आकाङ्क्षीहरुका लागि असल निर्णय लिन अघि सिक्ने, हेर्ने र बुझ्ने स्थान हो । सो सडक सुरक्षा र ट्राफिक नियमको विषयमा पनि केन्द्रित रहनेछ । यसका लागि सोमा महानगरीय ट्राफिक प्रहरी डिभिजनको सहयोगमा एउटा डेस्क पनि रहने छ ।