काठमाडौं । अन्तर्राष्ट्रिय ख्यातिप्राप्त हस्पिटालिटी ब्राण्ड ‘इन्टरकन्टिनेन्टल होटेल्स ग्रुप’ (आईएचजी) पुनः नेपाल प्रवेश गरेको छ । होटल एपीए प्राइभेट लिमिटेडले निर्माण गरिरहेको चार तारे होटल ‘होलिडे इन एक्सप्रेस एन्ड सुइट्स’ मा व्यवस्थापन हेर्नै भएपछि आईएचजी पुनः नेपाल प्रवेश गरेको हो ।
यसअघि आईएचजीअन्तर्गतको ब्रान्ड ‘क्राउन प्लाजा’ले नेपालको पुरानो पाँचतारे होटल सोल्टीमा व्यवस्थापन सम्हालेको थियो । सोल्टीबाट गत वैशाखमा मात्र बाहिरिएको आईएचजीले पुनः नेपालमा आफ्नो उपस्थिती जनाउन लागेको हो ।
लण्डनबाट विश्वव्यापी रुपमा फैलिएको आईएचजीले सम्हाल्ने होलिडे इन एक्सप्रेस एन्ड सुइट्समा लामो समय जापानमा व्यवसाय गर्दै आएका चिरन्जीवि थापाले निर्माण गरिरहेका छन् । उनि होटल एपीए प्राइभेट लिमिटेडका अध्यक्ष हुन् । थापाको जापानमा रेष्टुरेन्ट व्यवसाय पनि छ ।
काठमाडौंको रविभवनमा रहेको नेपाल एकेडेमी अफ टुरिजम एन्ड होटल म्यानेजमेन्ट (नाथम) को हाता भित्र रहेको ८ रोपनी क्षेत्रफलमा निर्माण भइरहेको सो होटल सन् २०२२ भित्रै सञ्चालनमा ल्याउने गरी काम अघि बढिरहेको अध्यक्ष थापाले जानकारी दिए ।
नाथमले यस अघिनै सो ठाउँमा होटल निर्माणको प्रक्रिया अगाडी बढाएको थियो । तर, अलपत्र अवस्थामा रहेको होटलको परियोजनालाई होटल अप्बा प्राइभेट लिमिटेडले अगाडी बढाएको हो । नाथमले गरेको बोलपत्र आह्वानमार्फत अप्बाले होटल सञ्चालनको जिम्मेवारी पाएको हो ।
जग्गा बाहेक होटलको लागत ७० करोड रुपैयाँ रहेको छ । होटलमा ११० वटा कोठा मध्ये एउटा प्रेसिण्डेटल र १२ वटा सुइट्स रुम रहने छ । होटलमा स्वीमिङ पुलसहित स्पा, स्पोर्टस् सेन्टर रहने छ ।
योसँगै ५०० जना क्षमताको आउटडोर बैंङ्क्यूट रहन्छ भने होटल भित्र ग्राउण्ड र पहिलो तलामा ३००÷३०० जना क्षमताको २ वटा बैंङ्क्यूट हल, ग्राउण्ड फ्लोरमा स्पेनीस स्टाइलको रेष्टुराँ रहन्छ ।रुफटपमा युरोपियन स्टाइलको वाइन बार र क्लब रहने छ भने पहिलो तलामै २०० जना क्षमताको रेष्टुराँ रहने छ ।
सो होटलमा नाथमका ट्रेनिहरुले तालिम लिन पाउने छन् । योसँगै पर्यटन मन्त्रालय अन्तर्गतका कार्यक्रमहरु सोही होटलमा हुने गरी सहमति भएको छ ।
आईएचजी होटेल्स एन्ड रिसोर्टको साउथ वेस्थ एसिया हेर्ने प्रवन्ध निर्देशक सुदीप जैनले आईएचजी नेपालमा आफ्नो उपस्थिती जनाउन एकदम आतुर रहेको जनाएका छन् । उनले नेपाल हरेक पर्यटकका लागि आकर्षक गन्तव्य भएकाले आफुहरुले सेवा दिन तयार रहेको बताए ।
आईएचजीले सिक्स सेन्स, इन्टरकन्टिनेन्टल होटेल्स एन्ड रिसोर्ट, क्राउन प्लाजा, होलिडे इन, होलिडे इन रिसोर्ट, होलिडे इन एक्सप्रेस ब्रान्डमार्फत साउथ वेस्थ एसियामा ४१ वटा होटल सञ्चालन गरेको छ ।
आईएचजीले विश्वभर १९ वटा ब्रान्डमा होटल सञ्चालन गरिरहेको छ । एकसय देशमा आईएचजीको ६ हजार होटल सञ्चालनमा छन् भने १८ सय होटल सञ्चालनको तयारीमा रहेका छन् ।