काठमाडौं । नेपाली कांग्रेसका नेता तथा लगानी पूर्वाधार र रोजगार समितिका सभापति विनोद चौधरीले युवालाई उद्यमशील बनाए मात्रै राष्ट्रिय समृद्धिको लक्ष्य हासिल गर्न सकिने बताएका छन् ।
कांग्रेसले सुरु गरेको ‘गरिखाने अभियान’लाई स्वागत गर्दै नेता चौधरीले उक्त कुरा बताएका हुन् । कांग्रेसको ‘लगानी पूर्वाधार र रोजगारः दृष्टिकोण एवं दिगो परियोजना केन्द्रित विशेष समिति’ले युवाहरूलाई उद्यमशिल बनाउन फ्ल्यागसिप कार्यक्रमका रूपमा ‘गरिखाने अभियान’ अघि बढाएको छ ।
कांग्रेसले पार्टीका जिल्ला सभापतिसँग ‘गरिखाने अभियान’का सम्बन्धमा अन्तक्र्रियासमेत गरेको छ । साथै गरिखाने अभियानमार्फत राजनीतिक परिचालन कार्यक्रम, उद्यमशीलता विकाससम्बन्धी विभिन्न अनुशिक्षण तथा प्रशिक्षण कार्यक्रमहरू सम्पन्न भएका छन् ।
‘प्रजातन्त्र स्थापनासँगै २०४८ को आम निर्वाचनबाट बनेको नेपाली कांग्रेसको सरकारले तत्कालीन अवस्थामा अङ्गिकार गरेको आर्थिक उदारीकरणको जगमा मुलुकको अर्थतन्त्र टिकेको छ,’ नेता चौधरीले भने, ‘राजनीतिक अधिकार प्राप्तिको आन्दोलनका उद्देश्य समृद्ध मुलुक निर्माण गर्ने नै हो । हामीले जनतालाई आर्थिक रूपमा सम्पन्न गराउन, उनीहरूको जनजीविकाको आधार सिर्जना गर्ने जस्ता रचनात्मक अभियानमा राजनीतिक परिचालन केन्द्रित गर्नुपर्छ ।’
उनकाअनुसार, हरेक वर्ष ४ लाख युवा श्रम बजारमा आउने भए पनि देशभित्र मुस्किलले वार्षिक ५० हजारलाई रोजगारी सिर्जना हुन सकेको छैन । आकांक्षी तथा नवीन सोच भएका युवालाई उद्यमशील बनाउन मुलुकभित्र उद्यमशिलता विकासका अवरोध हटाउँदै नयाँ माहौल सिर्जना गर्न गरिखाने अभियान सञ्चालन गरेको चौधरीको भनाइ छ ।
समितिका सहसंयोजक दीपक खड्काले राजनीतिक परिवर्तनमा सधैं अगुवा र नेतृत्वदायी भूमिका निर्वाह गरेको नेपाली कांग्रेसले नै आर्थिक विकासको नेतृत्व लिनसक्ने बताएका छन् । त्यस्तै समितिका सहसंयोजक एवं बागमती प्रदेशका प्रमुख प्रतिपक्षी दलका नेता इन्द्र बानियाँले आफू समाजको सेवाका लागि राजनीतिमा आएको र जीवन निर्वाहका लागि व्यवसाय गरेको सुनाए ।
कांग्रेसका रौतहट जिल्ला सभापति कृष्ण यादवले आफूले राजनीतिसँग जीवन निर्वाहका लागि व्यवसाय सुुरु गर्दा पार्टीभित्रैबाट ‘व्यवसायमा लागेको व्यक्तिले के राजनीति गर्छ र ?’ भनेर निरुत्साहीत गर्ने काम भएको स्मरण गरेका थिए । साथै अहिले हरेक राजनीतिक दलमा यो विचार क्रमशः परिवर्तन हुँदै गएको उनको भनाइ छ ।
राज्यको नीति नियमभित्र रहेर व्यवसाय गर्ने व्यक्तिलाई समाजिक प्रतिष्ठाको सट्टा दलालि चरित्रले उनीहरूको मानमर्दन गर्ने, निरुत्साहित गर्नेतर्फ क्रियाशील रहेकोले पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य जीपछिरिङ लामाले बताए । सो विषयमा जागरण र चेतना फैलाउँदै लैजानुपर्ने र ‘गरिखाने अभियान’मार्फत अघि सारिएको उद्यमशीलता विकासका लागि राजनीतिक परिचालनको अभियानलाई अघि बढाउनुपर्ने उनले बताए ।
कांग्रेसले आफ्ना कार्यकर्तालाई राजनीतिमा प्रवेश गरेको वहानामा आफ्नो जीवन निर्वाहको पाटोलाई नभुल्न जागरण गर्ने गरी सातामा ‘चार दिन रोटी, तीन दिन पार्टी’को अभियान अघि बढाउने भएको छ । साथै कम्युनिष्ट पार्टीले सरकारमा हुँदा कार्यकर्ता पाल्न राज्यकोषबाट तलबभत्ता दिने चर्चा बाहिर आएको थियो तर, मुलुकका प्रतिघातक कार्य गर्न नहुने बरु कार्यकर्तालाई स्वरोजगार र उद्यमशील बन्न सघाएर मुलुकमा उत्पादन, रोजगारी र समग्र आर्थिक–सामाजिक विकासमा टेवा पु¥याउने गरी अभियान अघि बढाएको जाएको छ ।
व्यवसाय गर्ने व्यक्तिलाई राजनीतिमा अगाडि बढ्न नदिएको कारण राजनीति गर्नेले त्यसलाई नै पेशा बनाउँदा दोहन, भ्रष्टाचारका समस्या आएको र कतिपय पूर्णकालीन राजनीति गर्नेले पुख्र्यौली सम्पत्तिसमेत सकाएर रित्तो अवस्थामा पुगेको भन्दै व्यवसाय गर्नुलाई समस्या होइन इज्जतका रूपमा लिनुपर्ने कैलाली कांग्रेसका सभापति नरनारायण शाहले बताए ।
नेपाली कांग्रेसका जिल्ला सभापतिहरूले उद्यमशीलता विकासका लागि गरिखाने अभियानलाई आफ्नो जिल्लामा सहजीकरण गर्ने प्रतिबद्धता जनाएका छन् । कार्यक्रममा २३ भन्दा बढी जिल्लाका सभापतिको उपस्थित थियो । साथै चाँडै सो अभियानलाई ७७ जिल्लामै विस्तार गर्नुपर्नेमा जोड दिएका छन् । अहिले गरिखाने अभियान पर्सा, मकवानपुर, झापा, धनकुटा, काभ्रे, काठमाडौं, कास्की, नवलपुर, रुपन्देहीलगायत जिल्लामा पुगिसकेको छ ।
गरिखाने अभियान राजनीतिक परिचालनमार्फत उद्यमशीलता विकासका लागि जागरण गर्ने अभियान भएको कांग्रेसले जनाएको छ । उक्त अभियानमा जोडिएर उद्यमशील बन्न चाहानेहरूलाई परियोजनासम्बन्धी सोच÷सम्भाव्यता, सीप, पुँजी तथा प्रविधि, बजार पहुँच विस्तार तथा भैरहेका उद्यमलाई स्केल–अप (स्तरोन्नति)का लागि व्यावसायिक रूपमा उद्यमशीलता विकासमा काम गरिरहेका संस्थाहरूसँग सम्पर्क स्थापित गराई उक्त उद्यमशील सोचलाई व्यवहारमा रूपान्तरण गराउने काम हुँदै आएको छ ।
जिल्ला सभापतिहरूसँगको अन्तक्र्रिया कार्यक्रममा धनुषाका जिल्ला सभापति दिनेश यादवले ‘स–सानो व्यावसायिक कर्जाका लागि पनि बैंकले धितो माग्ने व्यवस्था नै उद्यमशीलता विकासको मुख्य अवरोध भएको’ बताए । चालू आर्थिक वर्षको मौद्रिक नीतिले २५ लाख रुपैयाँसम्मको स्वरोजगार कर्जालाई धितो नचाहिने व्यवस्था गरेकाले यो व्यवस्था उद्यमशीलता विकासका लागि सहयोगी हुने समितिका संयोजक विनोद चौधरीले बताए ।
कार्यक्रममा ललितपुर जिल्ला सभापति मदनबहादुर अमात्यले विश्वभर सफल उद्यमीको पहिचान बनाउनुभएका विनोद चौधरीले आफ्नो सीप र कौशलमार्फत गरिखाने अभियानलाई राष्ट्रव्यापी बनाउने अभियान थालनी गरेकोमा त्यसलाई सघाउन आग्रह गरेका छन् ।