विराटनगर । मोरङको रंगेलीका कुमार खवास विराटनगरको होलसेल पसलमा काम गर्थे । उनले मार्केटिङको काम गर्नुपर्थ्यो । तलब थोरै थियो । मार्केटिङको काम गर्दा उनलाई एकछिन फुर्सद हुँदैन थियो । टाढा–टाढासम्म जानुपर्थ्यो।
थोरै तलबमा काम गरिरहेका खवासलाई जति काम गरे पनि तलब बढाइ दिएनन् । त्यसपछि उनले जागिर छाड्ने निधो गरे । उनको कमाईमा आश्रित परिवार पाल्न के गर्ने उनलाई चिन्ता बढ्न थाल्यो । जागिर नछाडौं भने थोरै तलबमा कति खट्नु । छाडौं भने अर्को विकल्प के त ? उनी सोचमग्न भए ।
केही विकल्प त निस्केला भनेर जागि छाडेर घर गए खवास । घरमा आफूले जागिर छाडेको कुरा परिवारलाई सुनाए । परिवारले पनि किन जागिर छाडेको भनेर प्रश्न गरेनन् । बरु ठीक गर्नुभयो भने । थोरै तलबमा धेरै खटेको देखेर परिवार पनि जागिर छाड्दिए हुन्थ्यो भन्नेमा थिए ।
खवासका श्रीमती र दुई छोरा थिए । अब विकल्प रूपमा के गर्ने त भन्ने कुरा परिवारमा छलफल भयो । उनकी श्रीमतीले घरमा कहिलेकाहीँ मःम बनाउँथिन् । मलाई अलि–अलि भए नि मःम बनाउन आउँछ सानो होटल खोलौन त भन्ने भयो ।
छोराहरुले पनि हुन्छ भनेपछि खवास परिवार मःम होटल होल्ने सुरमा पुगे । तर, कहाँ खोल्ने अर्को तनाव सुरु भयो । विराटनगरको रंगेली रोड छेउमा आफन्तको घर थियो । त्यही कुराकानी गरेर खोलौन त भन्ने भयो । आफन्तले घरको प्यासेज दिए । अब यो प्यासेजमा कसरी होटल चलाउनु, पकाउने कता, ग्राहकले खाने कता ।
जहाँ इच्छा त्यहाँ उपाय भने झै खवास परिवारले उपाय निकाले । त्यही प्यासेजलाई डेकुरेसन गर्न थाले । एकापट्टि कुनामा सानो ठाउँ पकाउने छुट्याए । बाँकी भागमा ग्राहक बस्ने ठाउँ । एक पटकमा १२ जनासम्म अट्ने गरी कुर्सी तथा टेवल राखियो ।
सानो ठाउँ भए पनि होटलमा पस्दा ग्राहकहरुले आनन्द महसुस गरेका हुन्छन् । रोडको थोरै भित्र धुँवा धुलो नहुने । सफा ठाउँ । तीन वर्ष अगाडि उनीहरुले विराटनगरको रंगेली रोड छेउमा मःम पसल सञ्चालन ल्याएका हुन् । ३ लाख लगानीमा सञ्चालन भएको मःम पसलको नाम ‘मःम ब्रन्च’ राखियो । नाम पढ्दा नि आकर्षक लाग्ने । नाम सुनेको भरमा नै धेरै जना मःम खान आउने गरेका छन् ।
होटल सञ्चालिका इन्दिरा खवास आफै मःमः बनाउँछिन् । उनले बनाउने बनेको भेज मःम, चिकन मःम र झोल मःम हो । सबैभन्दा बढी झोल मःम जाने गरेको उनले बताइन् । ‘तीन वटै मःम उत्तिकै जान्छ, सबैभन्दा धेरै झोल मःम’, उनले भनिन्,‘एक पटक आएका ग्राहक त्यसपछि सँधै आउँछन् । पहिलो मिठो छ छैन भनेर एक पिलेट मात्र मगाउँछन्, पछि खाइसकेपछि एकै जनाले २, ३ पिलेटसम्म खान्छन् । घरमा नि लैजान्छन् ।’
कोरोना महामारीभन्दा अगाडि दैनिक १० देखि १२ हजारसम्म कमाई हुन्थ्यो । अहिले कोरोनाले गर्दा कमाई घटेको उनले क्यापिटल नेपाललाई बताइन् । अहिले दैनिक ३ हजारदेखि ६ हजारसम्म कमाई हुने गरेको खवासको भनाइ छ । ‘अहिले बाहिर होटलमा आएर खान मान्छे डराउने भएकाले अलि कम भएको हो’, उनले भनिन्, ‘तही पनि आइरहनुभएको छ, होटलको खर्च र घर खर्च धान्न पुग्छ ।’
खवास दम्पतीका दुई छोरामध्ये जेठो छोरो ब्याचलर पढ्दै छन् भने कान्छो छोरो कक्षा ६ मा पढ्दै छन् । खाली समयमा छोराहरुले पनि होटलमा सघाउने गरेका छन् । होटलमा लगानी थप्ने योजना भए पनि अहिले कोरोना महामारीमा लगानी डुब्ने हो भन्ने डरले थप्न नसकेको इन्दिरा खवासले बताइन् । ‘कोरोना साम्य भएपछि लगानी थपेर पढाउने उद्देश्य छ, उनले भनिन् ।’