म्याग्दी । जिल्लाको अन्नपूर्ण गाउँपालिकामा सञ्चालित घारखोला जलविद्युत् आयोजनाको बाँध र सुरुङ निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । म्याग्दी हाइड्रोपावर लिमिटेड प्रर्वद्धक रहेको १४ मेगावाट क्षमताको घारखोलाको बाँध र सुरुङ निर्माणको काम ९५ प्रतिशत सकिएको हो ।
विद्युतगृह, पेनस्टक पाइप जडानलगायत पूर्वाधार निर्माणको काम पनि धमाधम भइरहेको छ । म्याग्दी हाइड्रोपावरका अधिकृत अनिल तिवारीले आगामी २०७९ असार महिनाभित्र विद्युत् उत्पादन गर्ने कार्ययोजनासहित निर्माण कार्यलाई तीव्रता दिइएको बताए । “३५०० मिटर लामो सुरुङमध्ये हालसम्म २ हजार ८५५ मिटर खनिसकिएको छ”, उनले भने “दशैँअघि सुरुङको ‘ब्रेक थ्रु’ हुन्छ ।”
अर्थुङेस्थित नेपाली सेनाको शत्रुभञ्ज्याङ गुल्मअन्तर्गत घारस्थित बेस क्याम्पका सैनिकको निगरानीमा सुरुङ खन्न विस्फोटक पदार्थ प्रयोग गरिएको छ । सन् २०१८ जनवरीदेखि सुरु भएको आयोजनाको हालसम्म ७० प्रतिशतभन्दा बढी भौतिक प्रगति भएको छ । अन्नपूर्ण–५ शिख र ६ घारको सिमानामा पर्ने कुरिलाबगरमा जगदेखि १२ मिटर अग्लो बाँध र पानी थिग्र्याउने डिसेन्डर निर्माण भएको छ । डिसेन्डरदेखि सुरुङसम्म ३८.३ मिटर लामो डिसेण्डर एप्रोच क्यानल जडानको काम सकिएको छ ।
पोखरेबगरस्थित गोजेखोल्सीमा विद्युत्गृह बनाउन पहाड काटेर जग्गा तयार पारिएको छ । आउटलेटदेखि विद्युतगृहसम्म ४९० मिटर पेनस्टक पाइपमध्ये करिब ७० मिटर पाइप जडान भइसकेको छ । घारखोलाको सिभिल ठेकेदार साउथ एशियन इन्फ्रास्ट्रक्चर प्रालि हो । इलेक्ट्रिकल ठेकेदार सिमर इनर्जी प्रालि र हाइड्रोमेकानिकल ठेकेदार सिई हाइड्रोमेकानिकल वर्क प्रालि रहेका छन् ।
सिभिल ठेकेदारका दैनिक १५० जनाको हाराहारीमा मजदुरले काम गरिरहेका छन् । कोरोनाका कारण बाहिरबाट मजदुर ल्याउन समस्या भए पनि उपलब्ध मजदुरलाई परिचालन गरिएको हो । भौगोलिक विकटता, कोरोनाको जोखिम, निषेधाज्ञा र पहिरोको असहज अवस्थाका बीच पनि आयोजनालाई निरन्तरता दिइएको आवासीय इञ्जिनीयर जोसेब बज्राचार्यले बताए ।
पोखरेबगरदेखि २२० केभी क्षमताको दाना सवस्टेशनसम्म साढे सात किलोमिटर प्रसारण लाइन निर्माण गर्न वातावरणीय प्रभाव मूल्याङ्कन भइसकेको छ । यो आयोजनाको अनुमानित कूल लागत २ अर्ब ४१ करोड ५८ लाख रुपैयाँ छ । अन्नपूर्ण–४ नारच्याङमा ४२ मेगावाट क्षमताको मिस्ट्रीखोला र ५ मेगावाट क्षमताको घलेम्दी जलविद्युत आयोजनाले बिजुली उत्पादन सुरु गरेको छन् ।
११० मेगावाट क्षमताको नीलगिरि र निलगिरी क्यासकेट आयोजना निर्माण पनि धमाधम भइरहेको छ । छ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजनाले बेँसी गाउँदेखि लेकगाउँ हुँदै बाँधतर्फ पहुँचमार्ग निर्माण गरिसकेको छ ।
कालीगण्डकी र आसपासका नदीमा सञ्चालित आयोजनामा उत्पादन हुने विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोड्ने नेपाल विद्युत् प्राधिकरणले अन्नपूर्ण–३ दानामा २२० केभी क्षमताको सवस्टेशन र त्यहाँदेखि खुर्कोट जोड्ने ३९ किलोमिटर दूरीको प्रसारण लाइन निर्माण भएपछि आयोजना निर्माणले गति लिएका छन् । रासस