काठमाडौं । अफगानिस्तानमा रहेका नेपालीहरुको उद्धारमा सरकार जुटेको छ । हालसम्म १ हजार ५ सय जना नेपालीहरुको त्यहाँ रहेको यकिन गर्दै परराष्ट्र मन्त्रालयले उद्धारका लागि विभिन्न मुलुकका दुतावास र संयुक्त राष्ट्र महासंघ (युएन) लाई पत्रचार गरिएको प्रवक्ता कला लम्सालले जानकारी दिइन् ।
केहि दिन अघिसम्म १ हजार जना नेपालीहरु रहेको भनिएकोमा हाल १ हजार ५ सय जनाको यकिन भएको र यो संख्या अझै बढ्न सक्ने प्रवक्ता लम्सालको भनाई छ ।
उनीहरु कहाँ-कहाँ कार्यरत छन् भन्ने सबै जानकारी सरकारले लिइसकेको र सोहीअनुसार अन्य मुलुकका दुतावास र यूएनलाई पनि उनीहरुको कर्मचारी र नागरिकहरुलाई उद्धारको क्रममा नेपालीलाई पनि सहयोग गरिदिन आग्रह सहितको पत्र आइतबार पठाइएको जानकारी दिइन् । पत्रसँगै उनिहरुलाई लबिङसमेत गरिएको बताइन् ।
नयाँ घटना क्रम सुरु भएदेखिनै सरकारले त्यहाँको अवस्थाको अपडेट लिइरहेको र उनिहरुलाई सुरक्षित ठाउँमा राख्नलाई पहल गरिरहेको जनाएको छ ।
अहिलेसम्म नेपालीहरु सुरक्षित रहेको बताउँदै आवश्यकताअनुसार उद्धारका लागि जहाज पठाउने विषयमा पनि छलफल भइरहेको बताइन् । त्यहाँ रहेका नेपालीहरुले उद्धार गरिदिनु भने हामी २४ सैं घण्टा तयारीमा छौं,प्रवक्ता लम्सालले भनिन्, त्यसका लागि उनिहरुको मागमा भरपर्छ ’ ।
यसैबीच नेपाल वायुसेवा निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले सरकारले उद्दार गर्नुपर्ने संख्या एकिन हुनासाथ तत्काल त्यसतर्फ जाने प्रक्रिया आरम्भ गर्न जहाजलाई तयारी अवस्थामा राखिएको बताएका छन् ।
हाल सरकारले कूटनैतिक तबरमा गहन छलफल गरिरहेको र केही नेपालीहरुलाई रोजगारदाताले नै उद्दार गर्ने जानकारी आफुले पाएको सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएका छन् । उनले त्यहाँ जाने तयारीका लागि बढीमा ५ दिन उल्लेख गरेका छन् ।
अफगानिस्तानमा द्धन्द्ध बढेसँगै श्रम विभागले आइतबार बाट श्रम स्वीकृति दिन समेत रोक लगाइसकेको छ । त्यहाँको स्थिति तनावग्रस्त भएपछि विभिन्न मुलुकहरूले आफ्ना नागरिकको उद्दार थालेका छन । अमेरिका, बेलायत, जर्मनी भारत लगायत मुलुक विशेष विमानमार्फत आफ्ना नागरिक फर्काइरहेका छन् ।