काठमाडौं । पछिल्लो समय देशका विभिन्न भागमा कोरोना भाइरसको संक्रमितहरूको संख्या बढेसँगै हेलिकप्टर कम्पनीमा इन्क्वाइरी गर्नेहरू बढ्न थालेको छ । तीन महिनाअघि चरम विन्दुमा भाइरसको संक्रमित पुग्दा जसरी हेलिकप्टरहरूको माग बढेको थियो अहिले पनि त्यही क्रममा इन्क्वाइरी बढेको व्यवसायीहरूको भनाइ छ ।
हेलि एभरेष्टका प्रवन्ध निर्देशक फुरग्याल्जे शेर्पाले कोरोना भाइरस संक्रमितको उद्धारका लागि सोधखोज हुने क्रम बढेको बताए । केही महिना सुस्त भएको चार्टर्ड उडानको संख्या फेरि बढ्न लागेको उनको भनाइ छ । पहिलाको भन्दा चार्टर्ड भाडा पनि सस्तो भएकाले पनि धेरैले हेलिकप्टरमार्फत नै काठमाडौंसम्म ल्याउन लागेको उनको भनाइ छ ।
वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कडेलले चार्टर्ड उडानका लागि कोरोना संक्रमित परिवारले सोधखोजलाई पछिल्लो समय धेरै हुन लागेको बताए । केही दिनयता दैनिक ८ देखि १० वटा बिरामीहरूको उद्धारसमेत हुन लागेको उनले बताए ।
तीन महिनाअघि हेलिकप्टरहरूलाई कोरोनाका बिरामीहरूको उद्धार गर्न भ्याइनभ्याइ हुने गरेको थियो । जसको कारण मागअनुसार हेलिकप्टरसमेत पठाउन समस्या भइरहेको बेला बीचमा केही समय भने घटेको थियो । तर, पछिल्ला केही सातादेखि भने सोधखोजको संख्या बढेको र तीमध्ये आधाले भने हेलिकप्टर प्रयोग गर्ने गरेको प्रवक्ता कडेलको भनाइ छ ।
यसअघि सोधखोजसँगै तत्कालै हेलिकप्टर पठाउन भने पनि अहिले भने धेरै सोधखोज र कम मात्र उद्धार हुने गरेको छ । सायद, खर्च धेरै भएको र आम्दानी कम भएकोले पनि हेलिकप्टरलाई स्टाण्डबाई राख्नका लागि मात्र सोधखोज गरेको हुन सक्ने उनको भनाइ छ ।
विगतमा भने सामान्य विरामी हुने बित्तिकै अस्पतालहरूमा बेड नपाउने डरले काठमाडौंमा हेलिकप्टरमार्फत आउने गरेको भए पनि अहिले भने सिकिस्त बिरामीहरू मात्र आउने गरेका छन् ।
यति मात्र होइन काठमाडौंका अस्तपतालहरूमा बेड नपाउँदा हेलिकप्टर चार्टर्ड गरेर झापाको बिएण्डसी अस्पतालमा उपचारका लागि समेत लगिएको थियो ।
अहिले हेलिएभरेष्टसँगै सिम्रिक, कैलाश, अल्टिच्युड, मनाङलगायतले कोभिडका बिरामीहरूको चार्टर्ड उडान गर्दै आएको छ । हेलिकप्टरसँगै समिट एयरले समेत कोभिडका बिरामीको उद्धार गर्न सुरु गरेको छ । हेलिकप्टरभन्दा सस्तो र दुई जनालाई एकै पटक उद्धार गर्न सहज हुने बताइएको छ ।