काठमाडौं । लामो समयदेखि किनबेचमा विवाद देखिएकोे टाइगर प्यालेस रिसोर्ट ( टाइगर वान प्रालि) तीन समूहले खरिद गर्नका लागि सम्झौता गरेका छन् ।
अमेरिकामा रहेका कानुन व्यवसायी खगेन्द्र जिसी, भैरहवाका व्यवसायी बालकृष्ण भुसाल र पर्यटन व्यवसायी सीएन पाण्डेले टाइगर प्यालेस खरिद गर्नका लागि प्रारम्भिक सम्झौता गरेका हुन् ।
जिसीको अमेरिकामा रहेको कम्पनी म्यानहटन हाइट ग्रुप, भुसालको भुसाल इन्भेष्टमेन्ट प्रालि र पाण्डेको सम्राट ग्रुप मिलेर टाइगर प्यालेस खरिदका लागि सम्झौता गरेका हुन् । सम्झौतापत्रमा तीनवटै समूहको सञ्चालकहरूको हस्ताक्षर छ । सिल्भर हेरिटेजको तर्फबाट सीईओ माइक बोलसोभरको हस्ताक्षर छ ।
तीन समूहले टाइगर प्यालेसको सबै दायित्व बेहोर्ने गरी होटल खरिद गर्न लागेका हुन् । दायित्वसहित गरेर होटलको मूल्य ४ अर्ब १० करोड रहेको छ । सम्झौता पत्रमा सिल्भर हेरिटेजको नाममा रहेको २ अर्ब ४ करोड रुपैयाँ दायित्व पनि सकार्ने उल्लेख छ । त्यस्तै झापामा रहेको टाइगर टु को जग्गा १३ करोडमा लिने सम्झौतामा उल्लेख छ ।
२०७४ सालबाट सञ्चालनमा रहेको सो रिसोर्ट हङकङको सिल्भर हेरिटेज ग्रुपले ५ अर्ब २० करोड लगानीमा हङकङको बहुराष्ट्रिय कम्पनी सिल्भर हेरिटेज इन्भेष्टमेन्ट प्रालिले सञ्चालनमा ल्याएको हो । सिल्भर हेरिटेज इन्भेष्टमेन्ट प्रालि हङकङको बहुराष्ट्रिय कम्पनी सिल्भर हेरिटेज ग्रुप नेपालको सहायक कम्पनी हो ।
रिसोर्ट तिलोत्तमा नगरपालिकाको कोटिहवामा १७ बिघा क्षेत्रफलमा फैलिएको छ । क्यासिनोसमेत रहेको सो रिसोर्ट निर्माणसँगै विवादमा समेत रहँदै आएको थियो । विवादकै कारण लामो समयदेखि सो ग्रुपले रिसोर्ट बेचेर नेपालबाट बाहिरिन खोजेको थियो । तर, पटक–पटक भएको डिल भङ्ग हुँदै आएको छ ।
यसअघि २०७६ साउनमा मलेसियामा रहेको नेपाली इन्द्रबहादुर थापालाई ‘केही व्यवसायीहरू’ले डमिका रूपमा अगाडि सारेर सो रिसोर्ट खरिदका लागि प्रक्रिया अगाडि थाले पनि त्यो सफल हुन सकेन ।
इन्द्रबहादुर कसरी डमिका रूपमा अगाडि बढेका थिए भन्ने विषयमा क्यापिटल नेपालले सो बेला एक्स्पोज रहेको थियो । हेर्नुस् समाचार ।
टाइगर प्यालेस खरिद डिल गर्ने ‘डमी’ इन्द्रबहादुर, कसले ल्याउँदै छ मलेसियाबाट स्रोत नखुलेको पैसा ? (थापाको अन्तर्वार्तासहित)
यस्तो छ विवाद
रिसोर्ट निर्माण हुँदादेखिनै सरकारी जग्गा मिचेको भन्दै विवाद सुरु भएको थियो । रिसोर्टले साढे १२ कठ्ठा जग्गामा रहेको नहर मासेर होटल बनाएको भन्दै लुम्बिनी जल उपभोक्ता संघले जिल्ला अदालत रुपन्देहीमा मुद्दा दायर गरेको थियो ।
उपभोक्ता संघले दायर गरेको मुद्दामा जिल्ला अदालतले जग्गाको विवाद नमिलेसम्म नयाँ संरचना बनाउन र किन बेच नगर्न रिसोर्टलाई अन्तरकालीन आदेश दिएको थियो ।
रिसोर्टले रुपन्देहीको साविक टिकुलीगढ ९ ‘घ’ (हाल तिलोत्तमा नगरपालिका १३) को कित्ता नम्बर १२०, १४८, १५२ र १९० का नलकुप नहरको सार्वजनिक जग्गा र कित्ता नम्बर ७३ को सरकारी जग्गालाई समेत कम्पाउन्डभित्र राखेर होटल संरचना निर्माण गरी भोगचलन गर्दै आएको दाबी रिटमा गरिएको थियो । जिल्ला अदालतको आदेशलाई उच्च अदालत तुलसीपुर बुटवल इजलासले समेत सदर गरेको छ ।
थपियो अर्काे मानहानीको मुद्दा
टाइगर प्यालेसको मुद्दा विचराधीन अवस्थामा छ । किनबेच, बिक्री वितरण र हस्तान्तरण नगरी यथास्थितिमा राख्नु र नयाँ संरचना नबनाउनु भनिरहेको अवस्थामा बिक्री वितरण हुन लागेको र नयाँ संरचना बनाएर अदालतको मानहानी गरेको भन्दै शुक्रबार लुम्बिनी नभकुल उपभोक्ता संघ रुपन्देहीको तर्फबाट थानेश्वर घिमिरेले रुपन्देही जिल्ला अदालतमा सिल्भर हेरिटेज र टाइगर प्यालेसविरुद्ध मुद्दा दायर गरेका छन् ।
सो मुद्दामा जिल्ला न्यायाधीश लिलाराज अधिकारीले विपक्षीलाई १५ दिनभित्र अदालतको अवहेलना गरेको हो होइन ? जवाफ पेश गर्ने आदेश दिएका छन् ।