काठमाडौं । निजी तथा सार्वजनिक लगानी (पीपीपी) मोडेलमा निर्माणधिन १११ मेगावाटको रसुवागढी जलविद्युत आयोजनाको लागत बढेको छ । आयोजनाको लागत बढेर १६ अर्ब २१ करोड ५३ लाख रुपैयाँ पुगेको छ ।यो लागत निर्माण अवधिको ब्याज बाहेकको हो ।
२०७२ वैशाखमा गएको विनासकारी भूकम्प, त्यसपछिको नाकावन्दी, बाढीका साथै कोरोना महामारीको पहिलो र दोस्रो लहर र डलरको मूल्य बढेपछि काबुबाहिरको अवस्थाका कारण लागत बढेको आयोजनाले जनाएको छ । आयोजनाको लागत २ अर्ब ५३ करोड ११ लाख रुपैयाँ बढेको विकासकर्ता रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले जनाएको छ ।
यसअघि नेपाल विद्युत प्राधिकरणसँग बिजुली खरिदबिक्री सम्झौता (पीपीए) गर्दा निर्माण अवधिको ब्याजबाहेक आयोजनाको लागत १३ अर्ब ६८ करोड ४२ लाख रुपैयाँलाई आधार मानेर कर्मचारी सञ्चय कोषबाट ऋण लगानी र सर्वसाधारणलाई प्राथमिक सेयर (आईपीओ) निष्कासन गरिएको थियो ।
आयोजनाको लागत बढेपछि ऋण लगानीकर्ता सञ्चय कोषसँग १ अर्ब २० करोड रुपैयाँ थप लगानीका लागि पुरक ऋण सम्झौता भएको कम्पनीले जनाएको छ । बाँकी १ अर्ब ३३ करोड ११ लाख रुपैयाँ आन्तरिक स्रोतबाट व्यवस्थापन गर्ने रसुवागढीले जनाएको छ । २०७८ असारमा सकिने अनुमानका आधारमा यो लगात रकम थप हुने भएको हो ।
आयोजनाको समय पुनः एक वर्ष थप भएकाले लागत अझै बढ्ने देखिएको छ । आयोजना आगामी २०७९ असारमा सक्ने लक्ष्य तय गरिएको छ । लागत बढेपछि आयोजना महंगो बनेको छ । सञ्चय कोषले आयोजनासँग ९.७५ प्रतिशत ब्याज लिंदै आएको छ । प्रत्येक ३ महिनामा ब्याज साँवामा पुँजीकरण हुँदै आएको कम्पनीले जनाएको छ ।
हालसम्म आयोजनाको काम ८० प्रतिशत सकिएको छ । आयोजनाबाट २०७९ असारदेखि बिजुली उत्पादन हुने विकासकर्ता रसुवागढी हाइड्रोपावरले सार्वजनिक गरेको गत आर्थिक वर्षको वित्तीय विवरणमा उल्लेख छ ।
२०७८ असारमा बिजुली उत्पादनको लक्ष्य तय भएको थियो । विभिन्न कारणहरुले गर्दा एक वर्ष ढिलाइ हुन गएको कम्पनीले जानकारी गराएको हो । आयोजनाबाट वार्षिक ६१ करोड ३८ लाख ७५ हजार युनिट बिजुली उत्पादन हुनेछ ।
सो बिजुली बिक्रीबाट रसुवागढी हाइड्रोपावरले वार्षिक ३ अर्ब २५ करोड रुपैयाँ आम्दानी गर्ने छ । कम्पनीको चुक्ता पुँजी ६ अर्ब १५ करोड ७८ लाख ९० हजार रुपैयाँ रहेको छ ।
सिभिल निर्माणको काम अन्तिम चरणमा पुगे पनि इलेक्ट्रोमेकानिकल उपकरण जडानमा भएको ढिलाइले गर्दा आयोजना निर्धारित समयमा सम्पन्न नहुने अवस्थामा पुगेको हो ।
विनासकारी भूकम्पले एक वर्षभन्दा बढी समय आयोजनाको काम रोकिएको थियो । यस्तै गत वर्ष कोरोना महामारी नियन्त्रणका लागि गरिएको लकडाउनले आयोजनाको काम प्रभावित हुँदा १ वर्ष ढिलाइ हुन पुग्यो । आउँदो असारदेखि बिजुली उत्पादन गर्ने आयोजनाको लक्ष्यलाई कोरोनाको दोस्रो भेरियन्टको महामारीले पर धकेलिएको छ ।
सिभिल निर्माणको काम लगभग अन्तिम चरणमा पुगेको छ । सिभिलको बाँकी काम भइरहेको छ । तर, इलेक्ट्रोमेकानिकल उपकरण जडान नहुँदा आयोजना प्रभावित भएको छ । इलेक्ट्रोमेकानिकल उपकरण उत्पादन तथा आपूर्तिको जिम्मा पाएको भारतीय कम्पनी भोइथ इन्डिया लिमिटेडले जडान नगर्दा ढिलाइ हुन पुगेको गुनासो आयोजना पक्षको छ ।
सन २०१४ देखि निर्माण सुरु भएको रसुवागढी आयोजनाको ४ हजार १८५ मिटर सुरुङ २०७६ साल भदौ ४ गतेदेखि तयार भइसकेको छ ।
प्रतिसेकेन्ड ८० घनमिटर पानीको बहाव थेग्ने क्षमताका तीनवटा फ्रान्सिस टर्वाइनसहितका सुरुङलगायतका अन्य संरचना निर्माण गर्ने चिनियाँ ठेकेदार कम्पनी चाइना वाटर एन्ड इलेक्ट्रिक कर्पोरेशन (सीडब्लूई) रहेको छ । यस्तै आयोजनाको भूमिगत संरचनाअन्तर्गत मुहानतर्फ बाँध बाँध्ने कार्य पनि प्रायः पूरा भएको छ ।
यसअघि २०७६ फागुन ७ गते आयोजनाको काम सम्पन्न गर्ने लक्ष्य लिइएको थियो । महामारीले गर्दा बढाएर आउँदो असारसम्म कार्यतालिका तयार पारिएको थियो । सरकारले पनि रसुवागढी चालू आर्थिक वर्षमा सम्पन्न हुने आयोजनाको सूचीमा राखेको छ ।
रसुवागढी आयोजनामा ५१ प्रतिशत संस्थापक र ४९ प्रतिशत सर्वसाधारणको लगानी छ । नदीको बहावमा आधारित (आरओआर) आयोजनामा ३८ मेगावाट क्षमताका ३ वटा टर्वाइन जडान हुने छन ।
रसुवागढी आयोजनाले अब प्रभावित स्थानीय बासिन्दालाई १० प्रतिशत प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्न बाँकी छ । आयोजना नेपाल चीन सीमा नजिक रसुवागढीमा पर्छ ।