पोखरा । पोखरा पर्यटन परिषद्को समन्वयमा आज पोखराका २५ सय पर्यटनकर्मीलाई खोप लगाइएको छ । पोखराको विभिन्न पाँच स्थानमा पर्यटन सम्बद्ध संघ संस्थालगायत पर्यटन क्षेत्रका मजदुर, कर्मचारी र पर्यटन व्यवसायीलाई प्राथमिकताको आधारमा खोप लगाउने कार्यक्रम सम्पन्न गरिएको परिषद्का महासचिव रामचन्द्र शर्माले जानकारी दिए।
उनका अनुसार नेपाल पर्यटन बोर्ड, होटल माउण्ट कैलाश, होटल बाराही, बुमराङ रेष्टुरेण्ट र खपौदीको द ब्रिजमा गरेर पाँच स्थानमा खोप केन्द्र तोकिएको थियो । प्रत्येक केन्द्रमा ५०० खोपको व्यवस्था गरिएको शर्माले जानकारी दिए ।
परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराई निकै लामो समयको प्रयासपछि सरकारले पर्यटन क्षेत्रलाई २५०० मात्रा खोप छुट्टाएको बताए । ‘हामीले निकै लामो समयदेखि तीन तहकै सरकारसँग खोपको माग गर्दै आएका थियौ, अहिले पहिलो चरणमा जम्मा २५०० मात्रा खोप उपलब्ध भयो’ भट्टराईले भने ।
पहिलो चरणको खोप अग्रमोर्चामा खटिने मजदुर, कर्मचारी र व्यवसायीलाई प्रबन्ध गरेको उनले जानकारी दिए । २५०० मात्रा खोप पर्याप्त नभएको जनाउँदै पुनः बाँकी पर्यटनकर्मीका लागि पनि सरकारले छिटो खोप उपलब्ध गराउनेमा आशावादी रहेको उनको भनाई छ । पोखरामा २० हजार बढी पर्यटन क्षेत्रमा आवद्ध रहेका छन् ।
खोप केन्द्रको गण्डकी प्रदेशका पर्यटन उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा कँडेल र कानुन, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकमार थापाले संयुक्त अनुगमन गरेका थिए ।
मन्त्री कँडेलले पोखरा पर्यटकीय राजधानी भएकाले यस क्षेत्रलाइ प्राथमिकता राखेको जनाउँदै छिट्टै बाँकी पर्यटनकर्मीका लागि खोपको व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गरे ।
परिषद्का सदस्य एवम् पर्यटन क्षेत्रमा आबद्ध पश्चिमाञ्चल होटल एशोसिएशन (हान), ट्रेकिङ एजेन्सिज एशोसियशन अफ नेपाल पश्चिमाञ्चल (टान), नेपाल टुर एण्ड ट्राभल्स एजेण्टस् (नाट्टा), रेष्टुरेण्ट एण्ड बार एशोसियशन (रेवान), नेपाल हवाइ खेलकुद संस्था (ना), पोखरा ट्याक्सी व्यवसायी समिति, पर्यटन यातायात व्यवसाय समिति, गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ), पर्वतारोहण संघ गण्डकी (एनएमए) इम्ब्रोइडरी एण्ड गार्मेन्ट एशोसियशन (एगा) टे«किङ इक्युपमेन्ट सप एशोसियन (टेसा), महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ) , पर्यटन व्यवसायी महिला संघ (टेवान), लगायत २५ वढी संघसंस्था सदस्यहरुले खोप लगाएका परिषद्का उपाध्यक्ष एवम् कार्यक्रमका संयोजक पोमनाराण श्रेष्ठ जानकारी दिए ।
परिषद्ले पर्यटनकर्मीलाई खोपको सुनिश्चिता नभएसम्म व्यवसाय सञ्चालन गर्न नसक्ने भएकाले “नो भ्याक्सि, नो टुरिज्म” भन्दै सामाजिक सञ्जाल लगायत जिल्ला प्रशासनअघि विभिन्न चरणमा दबाबमुलक आन्दोलन समेत गरिएको थियो ।