काठमाडौं । आजभोलि सामाजिक सञ्जालका भित्ताहरू स्क्रोल गर्दै जाँदा करिब ५० प्रतिशत सामग्री त मिम्स मात्रै हुने गर्छन् । हाँसो ठट्यौंलीका लागि लोकप्रिय मिम्सले वास्तवमा हाम्रै जनजीवनका धेरै पाटाहरूलाई रमाइलो ढंगले उजागर गरिदिएका छन् । हामीमध्ये कतिपयले त मिम्सलाई साथीभाइको सर्कल र सामाजिक सञ्जालमा पोस्टकै रुपमा समेत सेयर गरिरहेका हुन्छौं ।
तर, मिम्सको रमाइलोमा भुलिरहँदा यसले हामीलाई सिकाइ रहेका कुराहरू, पारिरहेको प्रभावलाई भने हामी नजरअन्दाज गरिरहेका हुन्छौं । मनोरञ्जनका लागि मात्र हामीले खपत गर्ने मिम्सको प्रभावकारिता र व्यावसायिक पाटोको हामी ख्याल नै गर्दैनौं ।
बितेको एक दशकमा सामाजिक सञ्जालको प्रयोग तीब्र गतिमा बढिरहँदा मिम्स डिजिटल मार्केटिङको एउटा शक्तिशाली अस्त्र बनिरहेको छ । विश्वभर अहिले मिम्स मार्केटिङको सशक्त माध्यमको रुपमा प्रयोग गरिन्छन् । यसले कति धेरै ब्राण्डहरूको सोसल मिडिया मार्केटिङ रणनीतिमा नै परिवर्तन ल्याई दिएको छ ।
पछिल्लो समय वालेट कम्पनी आईएमई पेका मिम्सहरू सामाजिक सञ्जालका भित्ताभरी देखिए । कहिले आफ्नो ब्राण्ड प्रोमोट गर्न त कहिले अन्य प्रतिस्पर्धीलाई डिस हान्न बनाइएका आईएमई पेका मिम्सहरू सामाजिक सञ्जालमा ट्रेण्डिङमा समेत रहे ।
सामाजिक सञ्जालमा मिम्स बनाएर पोस्ट गर्दा अडियन्सहरूको धेरै इङगेजमेन्ट बढेको आईएमई पेको सोसल मिडिया म्यानेजर प्रियंका धन्सुरिया बताउँछिन् ।
सोसल मिडियाका लागि मिम्स बनाउँदै आइरहेको लोकप्रिय नेपाली मिम मेकर पेज मिम नेपालका संस्थापक मनोज सापकोटा पछिल्लो समय नेपालमा मिम्सहरू सोसल मिडिया बजको रुपमा देखा परेको बताउँछन् ।
आठ वर्ष अगाडि विदेशमा बस्दा, कामबाट बचेँको फुर्सदिलो समय सिर्जनशील काममा बिताउन मनोज र साथीहरू मिम्स बनाउने गर्थे । आफूहरूले बनाएको मिम्सहरू ट्रेण्डिङमा पुगेर अडियन्सहरूको राम्रो इन्गेजमेन्ट र प्रतिक्रियाहरू आउन थालेपछि २०१४ बाट आफ्नो पेजको नाम मिम नेपाल परिवर्तन गरेर मनोज र उनका साथीहरू निरन्तर रुपमा मिम बनाइरहेका छन् ।
हाल मिम नेपाल १५ जनाको टिम हो । फेजबुक पेज भएरै व्यावसायिक लाभ आर्जन गरिरहेको एकाध पेजमध्ये मिम मेकर पेज मिम नेपाल पनि एउटा हो । सुरुका दिनमा एक/दुईवटा ब्राण्डका लागि मिम बनाएको मिम नेपालले पछिल्लो समय फोन पे र आईएमई पेजस्ता ब्राण्डसँग पनि सहकार्य गर्यो । आईएमई पेको मिम सामाजिक सञ्जालमा ट्रेण्डमै रहन सफल भयो ।
‘सुरुमा हामी रमाइलोका लागि मात्र मिम बनाउँथ्यौं । राम्रो रेस्पोन्स र इन्गेजमेन्ट आउन थालेपछि एउटा ब्राण्डलाई पनि हाम्रो मिमा छिराउँदा कस्तो फरक हुँदो रहेछ भनेर हामीले यसरी सुरु गर्न थालेका हौं । तर, प्रक्रिया यति राम्रो आइदियो कि अब त सिर्जनात्मक ढंगले पनि मार्केटिङ गर्न सकिने रहेछ भनेर थाहा भयो ।’
बालबालिका तथा युवा पुस्ताहरूलाई लक्षित गरी नविनतम तथा वैकल्पिक शैक्षिक प्रणालीमा काम गरिरहेको कारखानाले पनि आफ्नो शैक्षिक सामग्रीलाई रोचक र सान्दर्भिक बनाउन मिम्सहरूको प्रयोग गर्दै आइरहेको छ ।
‘हाम्रै वरिपरि भइरहेका गतिविधि र शैक्षिक सामग्रीमा अलिकति ह्युमर मिलाउँदा, हामी तिनलाई रोचक र सजिलो ढंगले बुझ्न सक्छौ,’ कारखानाका सहसंस्थापक तथा सीईओ पवित्रबहादुर गौतम भन्छन्, ‘बच्चाहरूका लागि शैक्षिक सामग्रीलाई फन एलिमेन्टहरू जोडेर रिलेटेबल, इन्ट्रेस्टिङ बनाउन हामीले शिक्षमा यस्तो अप्रोच लिएका हौं ।’
‘हामीले मिम्सहरू प्रयोग गरेर बच्चाहरूलाई विज्ञानप्रति रुचि जगाउन खोजिरहँदा एक दुई जना शिक्षकहरूले हामीलाई सम्पर्क नै गरेर हाम्रो मिम्स आफूहरूले कक्षामा शैक्षिक प्रयोजनका लागि प्रयोग गर्ने गरेको बताउँछन् ।’
कारखानाले हाल आफैं मिम्स बनाउँदै आइरहेको छ । कहिलेकाहीँ बालबालिकाहरूलाई शैक्षिक विषयमा मिम्स बनाउने प्रतिस्पर्धाको आयोजना गर्नेदेखि साप्ताहिक रुपमा मिम्स निर्माणका लागि आन्तरिक टिमभित्र ब्रेनस्ट्रोमिङ समेत हुने गरेको उनी बताउँछन् ।
यसबाहेक विभिन्न ब्राण्डहरूले पनि समय–समयमा आप्mनो ब्राण्ड सुहाउँदो मिम्स बनाउने प्रतिस्पर्धा पनि आयोजना गरिरहेका हुन्छन् ।
सान्दर्भिक कुराहरूलाई, जनजीवनसँग जोडेर, रमाइलो ठट्यौलीरुपमा प्रस्तुत गर्न सक्ने हुँदा मिम्सहरूले मानिसहरूको ध्यान चाँडै आकर्षण गर्न सक्छन् ।
१९९० को मध्य दशकबाट सुरु भएको मिम्स संस्कृतिले इन्टरनेट र सोसल मिडियाको तीब्रतर उदयसँगै गति लिन थालेको हो । २०१२ देखि भने मिम्सको प्रयोग तिब्ररुपमा बढ्न थालेको हो ।
विदेशमा त पहिलेदेखि नै
नेपालमा मिमले भर्खरै हाइलाइट पाइरहे पनि विदेशमा यसको प्रयोग लामो समयदेखि मार्केटिङका लागि भइरहेको छ । अनलाइन पोर्टल वा छापा माध्यममा एड गर्दाभन्दा अडियो, भिडियो, तस्बिर वा अक्षरनै लेखेर मिम्समार्फत सामाजिक सञ्जालमा ब्राण्डिङ गर्दा मान्छेहरू धेरै आकर्षित हुने मनोज बताउँछन् । आफूहरूले डेल्ली अडियन्स इंगेजमेन्टको ग्राफ समेत ब्राण्डलाई दिने गरेको बताउँछन् ।
यसले नयाँ ब्राण्डलाई ट्रेण्डमा ल्याउन पनि ठूलो मद्दत गर्छ । ट्रेण्डमा रहेका घटना र सन्दर्भसँग ब्राण्डलाई सिर्जनात्मक तरिकाले घुसाएर आम मानिसकहाँ पुग्दा, कुनै विज्ञापन नसोची मानिसहरूले यसलाई रुची लिएर हेर्न वा सेयर गर्ने गर्छन् । पहिले र अहिलेको मार्केटिङको परिभाषामा व्यापक परिवर्तन आएको कारखानाका पवित्र बताउँछन् ।
‘पहिले कोकाकोला, एप्पलले जसरी मार्केटिङ गर्थे अहिले, त्यस्तो छैन, बजार र अडियन्स रिचाउट गर्न एकदमै सजिाले भएको छ, हाम्रो मार्केटिङ थप विशिष्टीकृत बन्दै गइरहेका छन् ।’ उनी अगाडि भन्छन्, ‘अझ मिम्स मार्केटिङले त पुरातन सोचलाई फिल्तरसमेत गर्न सहयोग गरेको छ ।’
मिम्सले मार्केटिङ आईडियालाई सहयोग गर्दै, ट्रेण्डका रुपमा अगाडि जान, आफ्नो कस्टमर तथा लक्षित सेग्मेन्टलाइई फिल्टर गर्न र नयाँ ट्रेण्डिङ आईडियाहरू ल्याउन सहयोग गर्ने उनको बुझाइ छ ।
यसबाहेक मिममार्फत प्रतिस्पर्धी ब्राण्डहरूले एकअर्कोलाई डिस हान्ने, उडाउने काम पनि गरिरहेका हुन्छन् । नेपालमा यसलाई नेगेटिभ मार्केटिङ भनिए पनि आफूलाई त्यस्ता नलाग्ने मनोज बताउँछन् । विदेशतिर मिम्स मार्केटिङ मार्फत ब्राण्डहरूले एकअर्कोलाई डिस हान्ने अभ्यास सामान्य रहेको उनी बताउँछन् ।
‘अस्ति हामीले आईएमई पेका लागि ई–सेवालाई इन्टरनेट एक्सप्लोरर बनाएर काउन्टर पोस्ट मिम बनाउँदा त्यो इस्यु भएछ । तर विदेशमा यीनलाई सामान्य अभ्यासको रुपमा लिइन्छ । अमेजनले अलिबाबालाई डिस हानिरहेको हुन्छ यी सबै सामान्य भइसक्यो ।’