काठमाडौं । हिमालयन पावर पार्टनरले बनाइरहेको २७ मेगावाटको दोर्दी खोला जलविद्युत आयोजनाबाट आगामी असोजदेखि परीक्षण बिजुली उत्पादन हुने भएको छ । आयोजनाको सिभिल निर्माणको काम सकिएको छ ।
यसैगरी आयोजनाको हेडवक्सको परीक्षण पनि सकिएको कम्पनीले जनाएको छ । हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकलको जडान हुन बाँकी काम भदौसम्म सक्ने लक्ष्य लिएको छ । नेपाल विद्युत प्राधिकरणले निर्माण गरिरहेको उदिपुर–मस्र्याङदी २२० केभी प्रसारणलाइनको काम पनि असोभित्र सकिने भएको छ ।
विसं २०७२ फागुनबाट निर्माण शुरु गरिएको यस आयोजनाले विसं २०७५ भदौ १५ गते विद्युत उत्पादन गर्ने लक्ष्य राखेको थियो । तर, भूकम्प,नाकाबन्दी, अघिल्लो वर्षायाममा विद्युत गृहमा मस्र्याङ्दी नदीको पानी छिरेर मेशिनरी सामानमा पुर्याएको क्षति र सुरुङ निर्माण गर्ने क्रममा कमजोर चट्टान भेटिएकाले ढिलाइ हुन पुग्दा निर्धारित समयमा काम सम्पन्न नभएको कम्पनीले जनाएको छ ।
पछि समय थपेर विसं २०७६ चैत मसान्तसम्ममा निर्माण सक्ने सम्झौता गरे पनि सोही अवधिमा पनि निर्माण सम्पन्न नभएपछि विसं २०७६ असारसम्म सक्ने गरी सम्झौता भएको थियो । सो समयमा पनि निर्माण सम्पन्न गर्न नसकेपछि विसं २०७६ पुस महिनामा बिजुली उत्पादन गर्ने लक्ष्यका साथ अघि बढाइएको थियो ।
सो समयमा पनि बिजुली उत्पादन गर्न नसकेपछि गत चैतसम्म बिजुली उत्पादन गर्ने लक्ष्य राखे पनि सम्पन्न भएन । अहिले असोजदेखि परीक्षण उत्पादन थाल्ने लक्ष्य लिएको छ । आयोजनाको बाँधस्थल २१२ मिटर ‘ग्रसहेड’ रहेको यस आयोजना बेंशीशहर नगरपालिका–११ रामचोक बेंशीमा विद्युतगृह रहेको छ ।
सुरुमा ४ अर्ब २३ करोड रुपैयाँ लाग्ने अनुमानका साथ आयोजनाले निर्माण थाले पनि निर्माण अवधि लम्बिंएर गएकाले ४ अर्ब ६४ करोड रुपैयाँसम्म खर्च हुनसक्ने आयोजनाको अनुमान छ ।
आयोजनामा गैरआवसीय नेपाली संघको एनआरएन इन्फास्ट्रक्चर डेभलपमेन्ट कम्पनी लिमिटेडको ३५.७ , आइएमई ग्रुपको ३४.३ र ३० प्रतिशत सर्वसाधारणको सेयर लगानी छ ।
विद्युत प्राधिकरण र सो कम्पनीबीच विसं २०६९ असार १ गते विद्युत खरिदबिक्री सम्झौता (पीपीए) भएको थियो । आयोजनाको अनुसार सुक्खायाममा ८ रुपैयाँ ४० पैसा र वर्षायाममा ४ रुपैयाँ ८० पैसामा विद्युत खरीद गर्ने सम्झौता भएको छ । कम्पनीको चुक्ता पुँजी १ अर्ब ६ करोड रुपैयाँ रहेको छ ।