काठमाडौं । उमेरले ३७ वर्ष टेक्दै गरेका युवा व्यवसायी प्रदीप शाक्य यतिखेर आफ्नो व्यापार विस्तारमा अहोरात्र खटिरहेका छन् । कोरोना नियन्त्रण गर्न सरकारले गरेको बन्दाबन्दी विस्तारै खुकुलो हुँदै गएसँगै शाक्यको व्यस्तता पनि ह्वात्तै बढेको छ ।
डेढ वर्षदेखि व्यवसायमा निरन्तर सुस्तता छ । त्यसमाथि पनि प्रदीपको व्यापार स्कुल–कलेज फस्टाउँदा मात्रै फस्टाउने खालको छ । कोरोनाको जोखिम बढ्दा जान थाले पनि स्कुल तथा कलेज ठप्प बने र उनको व्यवसायमा पनि मन्दी छायो । तर, अहिले उनी विस्तारै लयमा फर्किने कोसिस गरिरहेका छन् ।
शाक्यले आरएन ब्याग हाउस’ सञ्चालन गर्दै आएका छन् । १० वर्ष पहिला करिब १ लाखको लागतबाट एकल लगानीमा व्यवसाय सुरू गरेका थिए ।
शाक्य क्यापिटल नेपालसँग कुराकानी गर्दै भने, ‘हाउसबाट धेरैजसो स्कुल–कलेजका विद्यार्थीलाई लक्षित गरी सामान तयार हुन्छ ।
साथै अर्डरअनुसारका लोगो तथा डिजाइनमासमेत झोला तयार गरिन्छ ।’स्कुल कलेजका अलवा विभिन्न संघ–संस्थाले आफ्नो लोगो राख्न चाहेको अवस्थामा अाफ्नाे हाउसबाट उक्त काम पनि हुने बताउँछन् ।
सुरुमा झोला बनाउने व्यवसायबाट आफ्नो व्यावसायिक यात्रा सुरु गरेका शाक्य विस्तारै साथीसँगको सहकार्यमा फ्लाेर मिल उद्योग पनि चलाउँदै आएका छन् । ६ जनाको समूह मिलेर ५ वर्ष पहिलादेखि ‘वेस्टन एग्रो एण्ड फुड प्रोसेसिङ’ सञ्चालन गर्दै आएका छन् । ५ लाख रुपैयाँ लागतबाट सुरु गरेको खाद्य उद्योगमा करिब ४० जनाले रोजगारी पाएको शाक्यले बताए ।
उनीहरूले साे उद्योग ५ वर्ष पहिले सुरू गरेका हुन् । आनन्द ओझा, रिसव ओझा, प्रवीन कक्षपति, गौरव श्रेष्ठ, राजेश कसजू र उनी (प्रदीप शाक्य) ले उक्त उद्योग सञ्चालन गर्दै आएका छन् ।
ब्याचलर अफ बिजनेस स्टडिज् (बीबीएस) अध्ययन पूरा गरेका प्रदीप विस्तारै व्यापारमा झिज्दै अघि बढेका छन् । त्यसो त उनको पारिवारिक वातावरण पनि व्यवापार–व्यवसाय गर्ने नै हो । शाक्यका हजुरबुबाले काँचो कपडाको व्यापार गर्ने गथ्र्ये ।
सो कार्यले उनको बुबाको पालासम्म निरन्तरता नपाएको भने होइन । तर, परम्परागत तरिकाबाट भइरहेको व्यापारलाई प्रदीपको अग्रसरतामा नयाँ तरिकाको व्यवसाय थालनी भएको हो ।
प्रदीपले बजारमा झोलाको मात्रै व्यापार गर्नेको संख्या कम देखेर केही नयाँपन दिने सोचसहित १० वर्ष पहिलाबाट झोला हाउस सञ्चालन गरेका हुन् । नेपालमा फेन्सी ब्यागको मात्रै मार्केट थियो । सबैले त्यस्तै खाले सामानको खोज्थे । तैपनि प्रदीपले विदेशबाट कच्चा पदार्थ ल्याएर भ्यालुएड गरेर ब्याग बनाएर आफ्नो बजार स्थापित गरे ।
प्रदीपले दुईवटा व्यवसाय एकसाथ अघि बढाएका छन् । कोरोनाले खाद्यन्न (फ्लाेर मिल ) उद्योगमा त्यति ठूलो असर नपरे पनि झोलाको व्यापारमा ठूलो नोक्सान पुर्याएको बताउँछन् ।
‘स्कुल–कलेज बन्द तथा बजार पनि नखुल्दा मान्छेले हिँड्ने, घुम्ने गर्दैनन्, त्यही भएर झोलाको व्यापार व्यवसाय राम्रो हुन सकेको छैन ।’ उनले भने, ‘तर, कोरोना महामारी विस्तारै कम हुँदै गए फेरि झोलाको व्यापार आफ्नो लयमा फर्किन सक्छ ।’
व्यवसायलाइ राम्रो र अझ व्यवस्थित बनाएर अगाडि बढाउने प्रदीपको योजना छ । शाक्यले नेपाल भरीका बजारमा झोला बिक्री गर्दै आएका छन् । बुटवलमा व्यवसाय रहेकाले बढी मात्रामा नेपालको पश्चिम क्षेत्रका बजारमा खपत हुने उनले बताए । उनी भन्छन्, ‘हाम्रो सामान नवलपरासी, दाङ, बुटवल, गुल्मी, अर्घाखाँची, पाल्पा, स्याङजालयात पश्चिम क्षेत्रमा बढी माग हुन्छ ।’
सामान्यतया दैनिक करिब ४ सय वटासम्म झोला बिक्री हुने उनले बताए । ‘सिजनअनुसार, सामानको माग हुने हो । अहिले स्कुल बन्द भएर अलि कम मात्रै माग हुने गर्छ’ उनी भन्छन् । झोला तथा खाद्य उद्योगसँगै शाक्यको अटो क्षेत्रमा पनि लगानी छ ।