काठमाडौं । देशको राजस्वमा योगदान दिने अग्रणी कम्पनीहरूमा सूचीकृत नेपाल टेलिकमको अवस्था बर्सेनि खस्किँदै गइरहेको छ । गत आव २०७७/०७८ मा कम्पनीको कुल नाफा ८ अर्बमा खुम्चिएको अनुमान बाहिर आइरहेका छन् । २०७६/०७७ मा ८ अर्ब ५५ करोड रुपैयाँ आम्दानी गरेको थियो । गत आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षको तुलनामा झण्डै ५५ करोडले नाफा कम भएको हो ।
ओटीटी प्लेटफर्मको दबदबा र अन्तर्राष्ट्रिय कलमा आएको गिरावटका कारण विश्वभर टेलिकमका नाफा खुम्चिरहेको वास्तविकता जग जाहेर छ । अझ पछिल्लो दुई आर्थिक वर्षमा कोभिड कहरका कारण टेलिकम कम्पनीलाई आफ्नो घाटाको कारण देखाउने प्रशस्त बाहना मिलेको छ । नेपाल टेलिकमले पनि आफ्नो घाटाको कारण ओटीटीको दबदबा र कोभिडलाई औंल्याउँदै मिडियामा प्रचारवाजी गरिरहेको छ ।
तर, कोभिड र ओटीटीका कारण मात्र टेलिकमको आम्दानीमा गिरावट आएको भन्ने कुरा दुनियाँलाई पंगु बनाउने कुरा मात्र भएको टेलिकम क्षेत्रका जानकार बताउँछन् ।
देशको ७७ वटै जिल्लामा फोरजी विस्तार गरिसकेको नेपाल टेलिकमले हालसम्म अपेक्षित परिणाम पाउन सकेको छैन । फोरजीको विस्तारबाट व्यावसायिक वृद्धलाई तीब्रता दिने लक्ष्य लिएको नेपाल टेलिकम आफ्नै व्यावसायिक रणनीतिको अभावमा पछाडि परिरहेको छ ।
अझै पनि टेलिकमको कुल आम्दानीमा डेटाको योगदान ३० प्रतिशतभन्दा कम र ७० प्रतिशतभन्दा माथि योगदान भ्वाइस सेवाकै छ । ८ सय ब्याण्डमा देशभर विस्तार गरिरहेको फोरजीमा ५५ प्रतिशत ट्राफिक आएपछि मात्र परियोजना सफल भएको ठहर हुने कम्पनीको लक्ष्य थियो ।
तर, यो फ्रिक्वेन्सी ब्याण्डबाट विस्तार भएको फोरजीमा हालसम्म २७ प्रतिशतभन्दा धेरै ट्राफिक आउनै सकेको छैन । यसले गर्दा फोरजीबाट हुने सम्भावित कुल आम्दानीमा नै ठूलो असर पुर्याएको छ ।
कोभिड र ओटीटीका कारण मात्र टेलिकमको आम्दानीमा गिरावट आएको भन्ने कुरा दुनियाँलाई पंगु बनाउने कुरा मात्र भएको टेलिकम क्षेत्रका जानकार बताउँछन् ।
नेपाल टेलिकमले फोरजीलाई ८ सय र १८ सय मेगाहर्ज ब्याण्डमा विस्तार गरेको छ । अत्याधिक जनघनत्व भएको सहरी क्षेत्रमा मात्र टेलिकमले कम रेन्ज र उच्च गुणस्तरको युनिभर्सल १८ सय मेगाहर्ज ब्याण्डमा फोरजीको विस्तार गरिरहेको छ ।
त्यसबाहेक अहिले टेलिकमले देशव्यापी कभरेजको दाबी गरेको फोरजी ८ सय मेगाहर्ज ब्याण्डमा सञ्चालित छ । उसको सम्पूर्ण पूर्वाधार तथा टावरहरू यहीँ ब्याण्ड सपोर्टिभ छ । यसैले कम्पनीले फोरजीको ८ सय मेगाहर्ज ब्याण्डमा ५५ प्रतिशत डेटा ट्राफिक भित्रिए मात्र कम्पनीको योजना सफल हुने लक्ष्य लिएको थियो । तर, २० अर्ब लगानी गरेर विस्तार गरिएको ८ सय मेगाहर्ज ब्याण्डको फोरजीमा आजसम्म २७ प्रतिशतभन्दा धेरै ट्राफिक आएकै छैन ।
टेलिकमले आज जुन ब्याण्डमा सबैभन्दा धेरै लगानी गरेर देशभर फोरजी विस्तार गरिरहेको छ त्यसले नै ट्राफिक ल्याउन नसकेको कारण फोरजीले अपेक्षाकृत नतिजा ल्याउन नसकेको टेलिकमका अधिकारीहरू बताउँछन् ।
वास्तबमा फोरजी विस्तारका लागि ८ सय मेगाहर्ज ब्याण्ड उपयुक्त ब्याण्ड नै होइन । किनभने यस ब्याण्डमा फोरजीलाई सपोर्ट गर्ने किसिमका स्मार्टफोन डिभाइस खासै निर्माण हुने गरेका छैनन् ।
लोकप्रिय स्मार्टफोन ब्राण्ड एप्पलले पनि यसै वर्ष २०२१ मा मात्र टेलिमकको ८ सय ब्याण्डमा चल्ने फोरजीलाई सपोर्ट गर्ने गरी आफ्नो आईओएस सफ्टवेयरलाई अद्यावधिक गरेको छ ।
डेटा सेवा चल्न नसकेपछि टेलिकमले टुजीमै भ्वाइस सेवा राम्रो बनाउन थप टावर निर्माण गर्दै गइरहेको छ । यसरी टेलिकमले हाल ग्रामीण क्षेत्रमा पुरानै प्रविधिमा लगानी थप्दै नयाँ प्रविधिमा भएको लगानीलाई परिणाममुखी बनाउन सकिरहेको छैन ।
डिभाइस कन्फिग्रेसनको सीमितताका कारण टेलिकमले फोरजीको पूर्वाधार र सेवा जतिसुकै विस्तार गरेको दाबी गर्दै आए पनि यसको हाई स्पिड डेटा तथा भोल्टे भ्वाइस सेवालाई उपभोक्ताहरूले प्रयोग नै गर्न सकिरहेका छैनन् ।
यसअघि टेलिकमले प्राधिकरणसँग फोरजी विस्तारका लागि उपयुक्त ९ सय मेगाहर्ज ब्याण्ड माग गरेको थियो । तर, सो ब्याण्ड एनसेलले पायो हाल एनसेलले सोही ब्याण्डमा फोरजी विस्तार गरिरहेको छ । टेलिकमले ८५० मेगाहर्ज ब्याण्डका लागि पनि माग राखिरहेको थियो तर उसले पाउन सकेन ।
टेलिकमसँग फोरजीको उपयुक्त ९ सय मेगाहर्ज ब्याण्ड पनि छ । तर, ९ सय मेगाहर्ज ब्याण्डमा उसले भ्वाइस सेवा सञ्चालन गरिरहेको छ ।
फोरजी सेवाका लागि कम्पेटिबल डिभाइस नभएर डेटाको प्रयोग नगरेपछि सबै देशका कुना काप्चामा ९ सय मेगाहर्ज ब्याण्डमा भ्वाइस सेवा मज्जाले चलिरहेको छ ।
डेटा सेवा चल्न नसकेपछि टेलिकमले टुजीमै भ्वाइस सेवा राम्रो बनाउन थप टावर निर्माण गर्दै गइरहेको छ । यसरी टेलिकमले हाल ग्रामीण क्षेत्रमा पुरानै प्रविधिमा लगानी थप्दै नयाँ प्रविधिमा भएको लगानीलाई परिणाममुखी बनाउन सकिरहेको छैन ।
गत चैतमा मात्र टेलिकमका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले भारतमा बनेको फोनहरूमा ८ सय मेगाहर्ज ब्याण्डको फ्रिक्वेन्सी नचल्ने भन्दै प्रयोग नगर्न आग्रह गरेका थिए ।
तर, कुन फ्रिक्वेन्सी ब्याण्डमा कुन सेवा चल्छ चल्दैन भन्ने सामान्य जानकारीसमेत नभएका ग्राहकहरूमाझ त्यस्तो अपिल गर्न व्यवस्थापनको व्यावसायिक रणनीति कै कमी भएको जानकारहरू बताउँछन् ।
टेलिकमले अढाइ वर्षअघि फोरजी विस्तारको समयमा सम्झौता गरेको कम्पनीहरूसँग डार्क स्पोट कभरेजका लागि पनि एउटै प्याकेजमा सम्झौता गरेको थियो । डार्क स्पोट कभरेज भनेको टेलिकमको भाषामा नेटवर्क कभरेज नपुगेको ठाउँहरू हो, जस्तै अग्लो तथा अण्डरग्राउण्ड भवन, अत्यधिक जनघनत्व भएको क्षेत्र ।
सो समय कम्पनीले एउटै फोरजी प्याकेजमा जेटीआई र सीसीएसआईसँग क्रमशः कोर नेटवर्क र रेडियो एक्सेस नेटवर्क ¥यान विस्तारको सम्झौता पनि गरेको थियो । सीसीएसआईसीले जिम्मा लिएको र्यान विस्तारको परियोजनामा कार्पेट कभरेज (कतै नेटवर्क खाली नहुने गरी विस्तार गरिने कभरेज) मा सहयोग पुर्याउन नेटवर्क नपुगेको ठाउँमा स–साना ६ हजार ८ सय वटा टावर एक वर्षमा विस्तार गर्ने सम्झौता भएको थियो ।
तर अढाइ वर्ष बित्दा पनि यसलाई ल्याउने प्रक्रियासमेत सुरु नभएको टेलिकमका आन्तरिक स्रोतहरू बताउँछन् । यसले गर्दा हाल महाबौद्ध जस्ता जनघनत्व बढी भएका व्यापारिक क्षेत्रमा अधिकांश प्रयोगकर्ताहरू एनसेलको नेटवर्कमा स्विच भइरहेका छन् ।
७७ जिल्लामै कार्यालय, कर्मचारी, देशव्यापी पूर्वाधार, आउटसोर्सबाट सेवा विस्तारका लागि यति धेरै सम्झौता गरेको, विश्वस्तरीय उपकरण र गोल्ड मेडलिस्ट इन्जिनियर भएको टेलिकम कम्पनीमाथि आज निजी क्षेत्रको कम्पनी यसरी हावी हुनुमा व्यवस्थापनको व्यासावयिक रणनीतिको कमी भएको टेलिकम वकर्स युनियनका अध्यक्ष राजेन्द्रप्रसाद जोशी बताउँछन् ।
टेलिकम यो अवस्थामा आउनका पछाडि व्यवस्थापन र बोर्डको कमजोरी भएको टेलिकमका कर्मचारी युनियन नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष यादव पनेरु बताउँछन् ।
करिब ५/६ अर्बको लगानीमा फोरजी अपग्रेड गरेको एनसेलको दैनिक डेटा कन्ज्यम्सन करिब ६ सय टीबी छ । तर, नेपाल टेलिकमको २० अर्बमा विस्तार गरेको फोरजीको दैनिक डेटा कन्ज्यम्सन ४ सय टीबी छ ।
७७ जिल्लामै कार्यालय, कर्मचारी, देशव्यापी पूर्वाधार, आउटसोर्सबाट सेवा विस्तारका लागि यति धेरै सम्झौता गरेको, विश्वस्तरीय उपकरण र गोल्ड मेडलिस्ट इन्जिनियर भएको टेलिकम कम्पनीमाथि आज निजी क्षेत्रको कम्पनी यसरी हावी हुनुमा व्यवस्थापनको व्यासावयिक रणनीतिको कमी भएको टेलिकम वकर्स युनियनका अध्यक्ष राजेन्द्रप्रसाद जोशी बताउँछन् ।
‘वास्तवमा कम्पनीको गतिलो व्यापार नीति पनि छैन,’ पनेरु भन्छन्, ‘कम्पनीको प्रोमोसन पोलिसी बोर्डमा पठाएको धेरै भयो तर फाइनलाइज्डसमेत भएको छैन ।’
उनी अगाडि भन्छन्, ‘एनसेलले बर्सेनि बाहिरबाट मार्केटिङ विज्ञ, एमबीए ग्राजुएटहरू ल्याएर व्यावसायिक रणनीति योजना बनाउँछ, हामी यहाँ सबै कुरा आफैंले गर्न खोज्छौं, सबै कुरा हिट एण्ड ट्रायल मात्र छ । हाम्रो प्रोग्राम यो हो, यसबाट यति लक्ष्य हासिल गर्ने, यति आम्दानी बढाउने केही सेडुअल छैन ।
सबै काम व्यवस्थापनले मात्र गर्न सक्दैन बोर्डको चासो छैन, आम्दानी लगातार घटिरहँदा बोर्डले व्यवस्थापनसँग जवाफदेहिता र स्पष्टीकरणसमेत सोध्दैन ।’
फोरजीमा मासिक जति प्रयोगकर्ता जोडिन्छन् त्यतिले नै सेवा पनि त्यागिरहेको उनीहरू बताउँछन् । तर, सेवाग्राहीले किन बाहिरिए त्यसको समीक्षा कम्पनीले केही नगरेको कर्मचारीहरूको गुनासो छ ।
‘फोरजी चलेन भनेर सेट परिवर्तन गराउने हो ?, सेवा छ, सेवा चल्दैन भने त्यो कम्पनीको कमजोरी हो । मोबाइल बितरक आयातकर्तासँग सहकार्य गर्न सकिन्छ, कि त फोन किन्न सब्सीडेरीको व्यवस्था हुनुपर्छ,’ पनेरु भन्छन् ।
२०६१ मा आएको एनसेललाई रोक्न र आफ्नो बजार बढाउन पर्याप्त अवसर अघिल्लो व्यवस्थापनलाई थियो । तर, त्यो व्यवस्थापन खुकुलो हुने र आजको व्यवस्थापको अकर्मण्यताले टेलिकममाथि दैनिक एनसेल हाबी भइरहेको उनीहरू बताउँछन् ।
लाखौं सिम वितरण गर्ने र दैनिक करोडौंको रिचार्ज टपअप गर्ने डिलरलाई समेत कम्पनीले रिजाउन नसकेको कर्मचारीहरूको गुनासो छ ।
‘डिलरसिप म्यानेजमेन्टमा कसको प्रभाव पर्छ थाहा हुँदैन । बीच–बीचमा अचानक सेडुअल परिवर्तन हुन्छ । एक्कासि नयाँ डिलर छिराइदिने गरेपछि पुरानालाई हतोत्साहित बनाउने चलन छ ।
यति ठूलो सञ्जाल भएको डिलरसिपलाई नै बेवास्ता गरेपछि कहाँबाट सफल हुन्छ त कम्पनी,’ अर्का अधिकारी भन्छन्, ‘कम्पनीमा बेला–बेला सिम डिलरहरूले समेत धर्ना र विरोध गर्ने गरेका छन् । कुनै समय प्रहरीको लाठी सहेर टेलिकमको सिम लिन लाइन बस्ने प्रयोगकर्ता आज किन सिम त्याग्दैछन् । ती कुराको समीक्षा हुनुपर्छ कि पर्दैन ? सेवालाई ग्राहकमैत्री बनाउन नसक्नु कम्पनीको कमजोरी हो ।’
२०६१ मा आएको एनसेललाई रोक्न र आफ्नो बजार बढाउन पर्याप्त अवसर अघिल्लो व्यवस्थापनलाई थियो । तर, त्यो व्यवस्थापन खुकुलो हुने र आजको व्यवस्थापको अकर्मण्यताले टेलिकममाथि दैनिक एनसेल हाबी भइरहेको उनीहरू बताउँछन् ।
‘आम्दानी एनसेलको पनि घटेको छ, ओटीटीले घाटा पुर्याएको छ । तर, एनसेल जसरी हामीमाथि हावी भइरहेको र आम्दानी जसरी घटिरहेको छ । त्यो कम्पनीको व्यवसायिक रणनीति र व्यवस्थापनको कमजोरी हो’ टेलिकममा एक अधिकारीले भने ।
२० अर्ब लगानी गरेर फोरजी विस्तार गर्न अघि नै १३/१४ अर्ब नाफा थियो । आज करिब ८ अर्बमा खुम्चिएको छ । ग्राहक जति जोडिन्छन् त्यति नै घटिरहेको अवस्थामा फोरजीको टावर संख्या मात्र गनेर ढुक्क हुने स्थिति नरहेको उनीहरू बताउँछन् ।