काठमाडौं । बाढीले मेलम्ची खानेपानी आयोजनाको संरचनामा ठूलो क्षति गरेपछि असार १ गतेदेखि त्यहाँबाट राजधानीमा दैनिक १७ करोड लिटर पानी आपूर्ति बन्द छ ।
मेलम्ची खानेपानी आयोजनाको मुहानको संरचनामा भएको क्षतिको पुनर्निर्माण भएर कहिलेदेखि राजधानीमा पानी आपूर्ति हुने हो अनिश्चित बनेको छ । मेलम्चीबाट पानी बन्द भएपछि राजधानी काठमाडौं उपत्यकामा ट्यांकर, जार तथा बोटल कम्पनीहरूका दिन फर्किएका छन् ।
उनीहरूको व्यवसाय पहिलाको अवस्थामा पुगेको छ । पानी बोक्ने ट्यांकर, जार र बोटलको पानीको माग बढेपछि आपूर्ति गर्न भ्याइनभ्याइ भएको छ । दैनिकी फेरि पहिला कै अवस्थामा पुगेको पानी आपूर्तिकर्ता व्यवसायीको भनाइ छ । मंसिरदेखि सुक्खाका कारण उपत्यकामा पानीको आपूर्ति कम हुने भएपछि ट्यांकर, जार र बोटल कम्पनीको व्यवसाय झनै बढ्ने भएको छ ।
मेलम्चीबाट पानी आपूर्ति बन्द भएपछि उपत्यकामा ट्यांकरको पानीको माग ह्वातै बढेको काठमाडौं उपत्यका ट्यांकर तथा बोरिङ व्यवसायी संघका अध्यक्ष हरि कँडेलले बताए । वैशाखदेखि मेलम्चीको पानी आउँदा ट्यांकरको पानीको माग ७५ प्रतिशतसम्म घटेकोमा अहिले माग धान्न भ्याइनभ्याइ भएको उनले जानकारी दिए ।
अध्यक्ष कँडेलका अनुसार पानीको माग पहिलाकै अवस्थामा पुगेको छ । काठमाडौं उपत्यकामा मात्रै करिब ८५० ट्यांकरले पानी वितरण गर्दै आएका छन् । संघका अनुसार उपत्यका बाहिर पनि करिब १०० ट्यांकरले पानी वितरण गर्दै आएका छन् । यद्यपि बाहिरका ट्यांकरलाई मेलम्चीको पानीले असर नगरे पनि उपत्यकाभित्र सञ्चालित ट्यांकर भने संकटमा पर्न थालेका थिए ।
मेलम्चीको पानी निरन्तर आयो भने, ट्यांकरको पानी माग ८० प्रतिशतसम्म घट्ने उनको भनाइ छ । उपत्यकभित्र चल्ने ट्यांकरमा मात्रै करिब ९ हजार व्यक्ति आश्रित रहेको संघले जनाएको छ । वैशाखदेखि असारसम्म मेलम्चीको पानी आउँदा धेरै ट्यांकर व्यवसायी तथा चालक कामविहीन बनेका थिए ।
तर, निषेधाज्ञाको समय रहेकाले घर–घरमा नै बस्नु पर्दा उनीहरूको समस्या बारे धेरै जानकारी नभएको अध्यक्ष कँडेल बताउँछन् । उपत्यकामा मेलम्चीको पानी निरन्तर आएपछि भने वैकल्पिक पेसा–व्यवसाय गर्नुपर्ने उनको भनाइ छ । ‘मेलम्चीको पानी आएपछि कृषि व्यवसाय गर्नु पर्ला भनेर सोचेका छौं’ अध्यक्ष कँडेल भन्छन् ।
यसैगरी जार तथा बोटलको पानीको माग पनि २० प्रतिशतसम्म बढेको नेपाल बोटल वाटर उद्योग संघका अध्यक्ष सुवास भण्डारीले बताए । मेलम्चीको पानीको कारण जार तथा बोटलको पानीको मागमा उल्लेख्य प्रभाव नपरेको उनको भनाइ छ ।
अध्यक्ष भण्डारी भन्छन्, ‘पानीको मागमा ५० प्रतिशतसम्म फरक परेको अवस्थामा हामीले मेलम्चीको प्रभावले गर्दा भन्न मिल्छ । तर, २० प्रतिशतभन्दा घटबढ भएको छैन ।’
दैनिक १ लाख ५० हजारदेखि ८० हजारवटा जारको पानी उपत्यकामा वितरण हुने उनले बताए । त्यस्तै एक लिटरका बोटलको १५ देखि १८ हजार काटुन दैनिक रूपमा बिक्री हुने उनको भनाइ छ । देशभर ४० हजार कार्टुनसम्म पानी वितरण गर्दै आएको संघले जनाएको छ ।
उपत्यका बाहिर भने दैनिक रुपमा ८० हजार वटासम्म जारको पानी वितरण हुनेगर्छ । ‘उपत्यका बाहिर पानी प्रशस्त पाइन्छ, कार्यालयको कामका लागि मात्रै जारको पानी प्रयोग हुन्छ,’ उनले भने ।
उद्योगहरूले जार तथा बोटलमा मुख्यतयाः ३ वटा स्रोतबाट पानी भर्ने गर्छन् । मूल–मुहानको पानी, बोरिङको पानी र उक्त दुवै स्रोत नभएका अवस्थामा ट्यांकरको पानीलाई प्रशोधन गर्छन् । जार, बोटल तथा ट्यांकरबाट वितरण हुँदै आएको पानी काठमाडौं उपत्यका भित्रकै रहेकोसमेत उनीहरूले बताए ।
काठमाडौंको उत्तरी क्षेत्र जोरपाटी, गोंगबु बोरिङका लागि, गोदावारी, चाल्नाखेल तथा मातातीर्थ क्षेत्रमा मुहानको पानी र बालाजु औद्योगिक क्षेत्र, पाटन औद्योगिक क्षेत्रलगायतमा भने ट्यांकरको पानी प्रशोधन हुन्छ । ठूलो परिमाणमा पानी आपूर्ति हुने गरेको भए पनि गुणस्तर परीक्षण नहुने गरेको छ । परीक्षणबिनै उपत्यकावासीले ट्याङकर र जारको पानी पिउनु परेको छ ।
बोटल वाटर उद्योग संघका अध्यक्ष भण्डारी मेलम्चीको पानी काठमाडौंमा निरन्तर आइरहँदा जार तथा बोटलको पानीलाई उल्लेख्य असर नपर्ने बताउँछन् । उनी भन्छन्, ‘हाम्रो आम्दानीको स्रोत जाति बढ्यो त्यति नै बढी खर्च गर्छाैं भने जस्तै मेलम्चीको पानी आएपछि सातामा एक दिन नुहाउने मान्छेले दैनिक नुहाउन सक्छन् ।
मेलम्चीको पानी सरसफाइ गर्न बढी प्रयोग हुन्छ होला । नभए पनि जार तथा बोटलको पानी खानुपर्छ भन्ने बानी भइसकेको छ । त्यो सहजता, शुद्धता वा आवश्यकता सबैले हुनसक्छ । त्यसैले जार तथा बोटलको पानी बिक्रीमा धेरै असर गर्दैन ।’
उपत्यकामा दैनिक ४३ करोड लिटर पानीको माग हुने गरेकोमा काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले १५ करोड लिटर मात्रै वितरण गर्दै आएको छ । बाँकी पानीको माग उपत्यका बासिले ट्यांकर तथा जारको पानी प्रयोग गरेर परिपूर्ति गर्दै आएका छन् ।
सुक्खायाममा पानीको आपूर्ति आधाभन्दा बढीले घट्ने छ । गत फागुनमा परीक्षणको लागि काठमाडौं ल्याइएको मेलम्चीको पानी असार १ गतेबाट सुरुङमा त्रुटि भए–नभएको जाँच गर्न बन्द गरिएको थियो । बन्द गरिएको केही घण्टा नबित्दै मेलम्ची खेलामा गएको बाढीका कारण खानेपानी आयोजनाको हेडबक्सलयायत संरचनामा क्षति पुगेर २ अर्ब रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ ।
यस्तै आगामी माघ र फागुनसम्म काठमाडौंमा पानी ल्याउन सकिने प्रारम्भिक अनुमान गरिएको छ । फेरि साउन १६ गते मेलम्ची खोलामा बाढी गएर खानेपानी आयोजनाको संरचनामा थप क्षति पुर्याएपछि आयोजनाको भविष्य नै अनिश्चित बन्न पुगेको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ ।