विराटनगर । विराटनगरमा अत्याधुनिक प्रविधिसहितको अस्पताल सञ्चालनमा आउने भएको छ । महानगरपालिका वडा नम्बर ९ कलेज रोडमा सञ्चालित मोरङ सहकारी अस्पतालले अत्याधुनिक प्रविधि सहितको आफ्नै लगानीमा भवन निर्माण गरिरहेको छ ।
२०५४ सालदेखि भाडाको घरमा सञ्चालन भईरहेको अस्पतालले महानगरपालिका २ शंकरपुरमा ५ कट्ठा जग्गा खरिद गरी सोमा भवन बनाउन थालेको हो ।
सुरुमा ३० लाख लगानीमा सुरु भएको अस्पतालको लगानी नयाँ भवन निर्माणसँगै २४ करोड रुपैयाँ पुग्ने अस्पतालका निर्देशक विकास अधिकारीले जानकारी दिए । ‘५ कट्ठा जग्गामा निर्माणाधिन अस्तालमा ३ वटा ब्लक रहनेछ’, उनले भने, ‘एउटा ब्लकमा हेमोडाईलेशिस सेवा रहनेछ भने अर्काेमा प्रशासनिक भवन र ओपीडी सेवा रहनेछ । यस्तै मुख्य अस्पतालको रुपमा अर्को ब्लक रहेनेछ ।’
हालसम्म ८० प्रतिशत भवन निर्माणको काम सकिएको निर्देशक अधिकारीले जानकारी दिए । आउँदो मंसिरसम्मा भवन निर्माणको काम सकिने र अस्पताल पूर्ण रुपमा सञ्चालनमा आउने उनले जानकारी दिए ।
अहिले नयाँ बनेको अस्पताल भवनमा निःशुल्क हेमोडाईलासिस सेवा पनि सञ्चालन हुनेछ । निःशुल्क सेवा सञ्चालन गर्न अस्पताल, लायन्स क्लब अफ विराटनगर मोरङ र हेल्थ प्रोफेशनल तथा अन्तर्राष्ट्रिय लायन्सले संयुक्त रुपमा १ करोड ६५ लाख रुपैयाँका ७ वटा डाइलासिस मेशिन खरिद गरी जडान गरिसकिएको छ ।
डाइलासिस सेवा भदौदेखि नै सञ्चालन हुने अधिकारीले बताए । एक पटकमा ७ जना विरामीको डाइलासिस गर्न सकिने अस्पतालले जनाएको छ ।
१०० शैयाको अस्पतालमा नयाँ भवन निर्माणसँगै नयाँ प्रविधिको प्रयोग गरेर सर्वसाधारणको उपचार गरिने भएको छ । पछिल्लो समय आएका नयाँ उपकरणहरु जडान गरिने र विरामीको उपचार नयाँ प्रविधि मार्फत छिटोछरितो तरिकाले गर्नेतर्फ अस्पताल लागेको निर्देशक अधिकारीले बताए ।
अस्पतालले लिने शुल्क सरकारीको भन्दा केही महंगो हुने भए पनि निजीको भन्दा सस्तो शुल्कमा विरामीको उपचार गर्ने जनाएको छ । मोरङ सहकारी अस्पतालले सरकारको आमा सुरक्षा कार्यक्रम पनि सञ्चालन गरिरहेको छ । अस्पतालले आमासुरक्षा कार्यक्रम मार्फत निःशुल्क प्रसुतिसेवा प्रदान गरिरहेको छ ।
मोरङ सहकारी र नेपाल स्वास्थ्य विकास तथा अनुसन्धान सहकारी संस्थामार्फत सञ्चालित अस्पताल हो । उक्त सहकारीमा ४० जना सेयर सदस्य रहेका छन् ।
सहकारीका सञ्चालक समिति सदस्यसमेत रहेका अस्पतालका निर्देशक अधिकारीले अहिलेसम्म ७ करोड रुपैयाँ सहकारी बैंकको ऋण र बाँकी सेयर सदस्यको लगानीमा अस्पताल भवन निर्माण भएको उनले बताए । भवन निर्माण भईसक्दासम्म अझै बैंकको ऋण थप हुने उनले जानकारी दिए ।
सहकारीले आवश्यक परेमा अस्पताल निर्माण वा स्वास्थ्य सम्वन्धी विभिन्न कार्यक्रम सञ्चालन गर्ने उदेश्यका साथ विभिन्न ठाउँमा गरी १ विगाहा जग्गा पनि खरिद गरिसकेको छ ।
स्वास्थ्य सहकारी मार्फत अस्पताल सञ्चालन गरेको सहकारीले सिटीभिटीको सहकार्यमा शैक्षिक कार्यक्रम पनि सञ्चालन गरिरहेको छ । सामान्य चिकित्सा र फार्मेसी पढाई भईरहेको सहकारीले जनाएको छ ।
शकरपुरमा निर्माण भईरहेको अस्पताल स्वीकृतिका सबै काम सकिएको बताउँदै निर्देशक अधिकारीले पहिला सञ्चालनमा रहेको अस्पताल त्यही राख्न मिल्यो भने सेटलाईट क्लिनिकको रुपमा पुरानै ठाउँमा राख्ने योजना रहेको बताए ।
‘यदि नमिलेमा अस्पताल पुरै सार्नेछौं’, उनले भने ‘अस्पतालको नाम पनि पुरानै राख्ने की अर्को फेनुपर्ने हो ? स्वीकृति प्रक्रिया चलिरहेको भएर यसको यकिन भइसकेको छैन ।’
अहिले अस्पताल सञ्चालनको लागि स्वीकृति दिने अधिकार प्रदेश सरकारले नै पाएको छ । सामाजिक विकास मन्त्रालय मार्फत यो काम हुने गरेको छ । अस्पतालमा उपचारका लागि प्रदेश १ र २ का नागरिकसँगै भारतीय पनि आउने गरेका छन् ।