काठमाडौं । बैंक तथा वित्तीय संस्थामा प्रमुख कार्यकारी अधिकृत (सीईओ) भएर काम गरेका व्यक्तिहरु नै (अझ सम्बधित संस्थामै) अध्यक्ष/सञ्चालक हुँदा व्यवस्थापकहरुलाई ठूलो दबाब महशुस हुने गरेको छ ।
बैंक तथा वित्तीय संस्थाभित्र हुने हरेक क्रियाकलापका बारेमा पूर्व बैंकरहरु राम्रोसँग जानकार हुने र त्यसले पार्न सक्ने प्रभावका बारेमा थाहा पाउने भएकाले व्यवस्थापनले निर्णय गर्नुअघि धेरै पटक सोच्नुपर्ने अवस्था आएको छ ।
कुनै पनि विषय सञ्चालक समितिमा लैजानु पर्ने भएमा वा आफ्नो अधिकारभित्र रहेर निर्णय गर्दा पनि एक पटक पूर्व बैंकर (अध्यक्ष/सञ्चालक) लाई सोध्ने हो कि भन्ने दुविधा हुने गरेको पाइन्छ ।
कतिपय बैंक तथा वित्तीय संस्थामा समकक्षीहरु नै सञ्चालक समिति र व्यवस्थापक रहँदा झनै अप्ठ्यारो महशुस गरिरहेका हुन्छन् । तर, वित्तीय क्षेत्रमा ज्ञान भएका, संस्थागत सुशासन बारे ख्याल गर्ने र एकले अर्काको अधिकारमा हस्तक्षेप गर्नुहुँदैन भन्ने मान्यता बोकेका बैंकरहरुबीच भने राम्रो ‘ट्युनिङ’ देखिएको बैंकरहरुको अनुभव छ ।
कुनै समय आफैले वाणिज्य बैंक, विकास बैंक तथा फाइनान्स कम्पनी हाकेकाहरु अहिले तिनै संस्थामा अध्यक्ष तथा सञ्चालक भएका छन् । नबिल बैंकका अध्यक्ष उपेन्द्र पौड्याल आफै सफल बैंकर हुन् । उनी नबिल बैंकको अध्यक्ष हुनुपूर्व लामो समय एनएमबी बैंकको सीईओ थिए ।
नेपाल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स स्थापनादेखि सीईओ रहेका पौड्यालले संस्थालाई वाणिज्य बैंकमा स्तरोन्नती गर्दै एनएमबी बैंकको सीईओ भएर कुशलता देखाए । उनको बैंकिङ क्षेत्रको प्रदर्शन एउटा मानकका रुपमै देखिएको छ । उनी अहिले नबिलमा अध्यक्ष हुँदा कुनै बेला उनकै समकक्षी अनिलकेशरी शाह सीईओ छन् ।
ग्ल्यामर सीईओको रुपमा परिचित शाह र पौड्यालबीचको ट्युनिङले नबिल बैंकलाई नयाँ उचाईमा पुर्याउने धेरेको ठम्याइ छ । त्यही समूहमा जोडिएका छन्, पूर्व बैंकर उदयकृष्ण उपाध्याय पनि । नबिलका सञ्चालक उपाध्याय कुमारी बैंकको सीईओ भइसकेका व्यक्ति हुन् ।
त्यसैगरी, दुई बैंकरलाई एकजुट गराएको सिटिजन्स् बैंकले नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट बिदा भएर आएका राजनसिंह भण्डारीलाई सीईओ बनाएको थियो ।
भण्डारी स्थापनादेखि दुई वर्षअघिसम्म सिटिजन्सको सीईओ थिए । त्यसपछि बैंकको सञ्चालक हुँदै अध्यक्ष बनेका भण्डारीलाई साथ दिन अर्का भेट्रान बैंकर अनिल ज्ञवाली पनि जोडिएका छन् ।
विदेशी बैंकमा काम गरेका अनुभवसँगै नेपालको पहिलो पूर्वाधार बैंक नेपाल इन्फास्ट्रक्चर बैंक, ग्लोबल आईएमई बैंक र नबिल बैंक हाकेका ज्ञवाली यतिबेला सिटिजन्सलाई माथि उकास्न सञ्चालकको रुपमा खटिएका छन् ।
पूर्व बैंकरहरुलाई सञ्चालक समितिमा ल्याएर त्यसमार्फत आफ्नो संस्थालाई उचाइमा लैजाने योजनामा सरिक भएको अर्को बैंक हो– ग्लोबल आइएमई ।
सरकारी बैंक हाकिसकेका दुई भेट्रान बैंकर यतिबेला ग्लोबल आइएमईका सञ्चालक छन् । नेपाल बैंकको सीईओ र कृषि विकास बैंकको सीईओ (महाप्रबन्धक) भएर दुबै संस्थालाई तत्कालीन समयमा सफलता चुमाउन सक्रिय देवेन्द्रप्रताप शाह ग्लोबल आइएमईमा जोडिएका छन् । शाहको परिचय त्यति मात्रै छैन् । उनी नियामक बिमा समितिको अध्यक्षसमेत भइसकेका व्यक्ति हुन् ।
त्यस्तै, नेपालको एक मात्रै सरकारी बैंक राष्ट्रिय बाणिज्य बैंकमा खुला प्रतिस्पर्धा मार्फत पहिलो पटक सीईओ बनेका कृष्णप्रसाद शर्मा पनि ग्लोबल आइएमईमा क्रियाशिल छन् । उनी वाणिज्य बैंकमा मात्रै नभएर बिमा क्षेत्रका कम्पनीमा पनि सञ्चालक भएर काम गरिसकेका व्यक्ति हुन् ।
यद्यपि ग्लोबल आइएमईमा अहिले अर्का भेट्रान बैंकर रत्नराज बज्राचार्य सीईओ छन् । हरेक पटक एक कार्यकाल भन्दा बढी सीईओ नबन्ने मानक बनाएका बज्राचार्य दोस्रो पटक ग्लोबल आइएमई छिरेक हुन् । राष्ट्र बैंकको निर्देशकबाट बाहिरिएर उनी नेपाल बैंक, नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) र सनराइज बैंक सीईओ भएर काम गरे ।
त्यसैगरी, वित्तीय क्षेत्रमा चर्चित अर्को नाम हो पृथ्वीबहादुर पाण्डे । राष्ट्र बैंकको निर्देशकबाट बाहिरिएका पाण्डे हिमालयन बैंक हुँदै नेपाल इन्भेष्टमेन्ट बैंकको स्वामित्व नेपालीहरुको हातमा आएपछि लामो समय कार्यकारी अध्यक्षको रुपमा क्रियाशिल रहे ।
डा. युवराज खतिवडा राष्ट्र बैंकको गभर्नर भएका बेला वित्तीय संस्थाहरुमा देखिएको अनुशासनहिनतालाई अन्त्य गर्न एउटै व्यक्ति बैंकको सञ्चालक र सीईओ हुन नपाउने नीति अख्तियार गरेपछि पाण्डेले सीईओको भूमिका छाडेर अध्यक्षमा सीमित भएका थिए ।
अहिले इन्भेष्टमेन्टमा केही समय राष्ट्र बैंक र हिमालयन बैंकमा काम गरेका ज्योति पाण्डे सीईओ छन् । इन्भेष्टमेन्टमा ज्योति सुरुदेखि नै क्रियाशिल थिए । यद्यपि, पछिल्लो समय इन्भेष्टमेन्ट र हिमालयन बैंक गाभ्ने गाभिने प्रक्रियामा छन् ।
दुवै बैंक गाभिएपछि पनि पृथ्वी बैंकको अध्यक्ष कायम नै रहने र हिमालयनका सीईओ अशोकशम्शेर राणा र ज्योति पाण्डे दुवै सीईओको भूमिकामा रहने बताइएको छ ।
नेपालको वाणिज्य बैंकको पहिलो महिला सीईओ हुन शिवा काफ्ले । राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट अवकाश प्राप्त काफ्ले हाल मेगा बैंकको सञ्चालक छिन् ।
बैंक अफ काठमाडू (बीओेके) का सञ्चालक राधेश पन्त सोही बैंकका सीइओ थिए । यस्तै मनबहादुर राई सेञ्चुरी बैंकको सञ्चालक छन् । पाटन फाइनान्स र सगरमाथा मर्चेन्ट एन्ड फाइनान्स एक आपसमा गाभिएर सगरमाथा फाइनान्स बन्यो ।
सगरमाथा पनि सेञ्चुरीमा गाभिएपछि राई सेञ्चुरीमा सञ्चालक भएका हुन् । एनसीसी बैंकका सञ्चालक राजाराम खड्का पनि पूर्व बैंकर हुन् । उनी एनसीसीमा सञ्चालक हुनुपूर्व इन्टरनेसनल डेभलपमेन्ट बैंकको सीईओ थिए ।
किशोरकुमार महर्जन अहिले प्रोग्रेसिप फाइनान्सको अध्यक्ष छन् । उनी त्यसअघि सिभिल बैंकको सीईओ थिए । भरतराज ढकाल मुक्तिनाथ विकास बैंक अध्यक्ष हुन् । त्यसअघि उनी सोही बैंकमा सीईओ थिए ।
लीलाप्रकाश सिटौला अहिले प्रभू बैंकका अध्यक्ष छन् । उनी कृषि विकास बैंकको पूर्व सीईओ हुन । उनले राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट अवकाश पाएका व्यक्ति पनि हुन् ।
अम्बिका श्रेष्ठ अहिले महालक्ष्मी विकास बैंकको सञ्चालक छिन् । यसअघि उनी सुप्रिम डेभलपमेन्ट बैंकको सीईओ थिइन् । उनी वित्तीय क्षेत्रकै पहिलो महिला सीईओ हुन् ।
चिन्तामणी भट्टराई लुम्बिनी विकास बैंकको सञ्चालक हुन् । भिबोर विकास बैंक र लुम्बिनी फाइनान्स एन्ड लिजिङ कम्पनी मर्ज भएर लुम्बिनी विकास बैंक बनेसँगै भट्टराई सीईओसमेत भएका थिए । त्यसअघि उनी लुम्बिनी फाइनान्सका सीईओ थिए ।