काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले भूकम्प अति प्रभावित ८ जिल्लामा विस्तार गरेको ब्रोडब्याण्ड इन्टरनेट सेवाको स्तरोेन्नतीको तयारी गरेको छ ।
प्राधिकरणले आफ्नो ग्रामिण दूरसञ्चार कोष परिचालन गरी ८ जिल्लाका स्थानीय तहका कार्यलय, वडा कार्यलय, सामुदायिक माध्यमिक विद्यालय तथा सामुदायिक स्वास्थ संस्थाहरुमा विस्तार गरेको ब्रोडब्याण्ड इन्टरनेटको स्तरोन्नती गर्न लागेको हो ।
यसअघि भीस्याटमार्फत इन्टरनेट प्रदान गरिरहेको ती स्थानहरुमा अप्टिकल फाइबर नेटवर्क विस्तार गर्ने प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले बताएका छन् । भूकम्पलगत्तै ती स्थानहरुमा मर्कन्टाइल कम्पनीले इन्टरनेट सेवा विस्तार गरेको थियो ।
यसबाहेक ती जिल्लाहरुको सामुदायिक आधारभूत विद्यालयहरुमा समेत प्राधिकरणले इन्टरनेट सेवा जडान तथा सञ्चालनको तयारी गरेको छ ।
यसका लागि प्राधिकरणले स्थानीय तहहरुसँग समझदारीपत्रमा हस्ताक्षर समेत गरिसकेको छ ।
प्राधिकरणले भूकम्पबाट अतिप्रभावित ८ जिल्ला काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, दोलखा, सिन्धुली, रामेछाप र ओखलढुंगामा विस्तारित ब्रोडब्याण्डको स्तरोन्नती गर्न लागेको हो ।
ती स्थानहरुमा पूर्वाधारमा दोहोरो लगानी नपर्ने गरी सहप्रयोग समेत हुने गरी परियोजना अगाडी बढाउन सेवा प्रदायक तथा विशेषज्ञहरुसँग समन्वय गरी हाल विवरण संकलन गरिरहेको बताएको छ ।